बद्रीप्रसाद दाहाल ‘भस्मासुर’भानुजयन्ती सन्दर्भ : श्रद्धाहार– आदिकवि
भाषाको महनीय उद्गम थलो, रम्घा महा– धाम हो
नेपाली कविता सुरम्य– सरिता, बग्ने महा– धाम यो ।
रम्घाकै ममता फिजेर समता, नेपालमा एकता
चम्क्यो चम्चम काव्य–कान्ति, सविता अग्ला भए सभ्यता ।।१।।
मर्यादा— रघुवीर जीवन—कथा, नेपालभन्दा पर
हाम्रा भाषिक—चेतना फुलिरहे, बर्मा तथा भारत ।
घन्क्यो भोट–मधेश–शैल तलमा, साझा बनिन् भारती
भाषामाथि विभाश हैकम हट्यो, भानू गर्यौ आरती ।।२।।
सग्ला मौलिक भावना रस नयाँ, झुल्के अलङ्कारमा
ज्ञानी सन्त सुभक्तिधार गरिमा, खोले अहा, छन्दमा ।
तातो व्यङ्ग्य कसेर, बेथिति पिट्यौ, सातो लियौ मूर्खका
आफ्नै ढुक्ढुकी शब्दमा रचिदिई, भानू बन्यौ देशका ।।३।।
हाम्रा भाष्कर काव्य—भार्गव तिमी, नेपालका ‘शान’ हौ
भाषा वाङमय–रत्न उज्ज्वल सफा, हाम्रा ‘महामान’ छौ ।
शैली–शिल्प र कल्पना–शिर तिमी, साझा र ताजा सदा
साक्षात् भाष्करका प्रभात कविजी, नेपालका सभ्यता ।।४।।
धादिङ
Subscribe
Login
0 Comments
Oldest








































