गोविन्दराज विनोदीभाषाको वर्तमान बेथिति र भानुभक्त
भाषामा अहिले विकीर्ण मनका छन् बोझिला चिन्तन
हिज्जेमा बहुरूपता छ यसमा छैनन् कुनै बन्धन
गर्छन् नित्य अहम् प्रदर्शन यहाँ जान्ने र बुझ्नेहरू
धेरै छन् तर त्यै अहम्मय झरी वर्षेर रुझ्नेहरू ।
तीखा छन् कतिका प्रहार ननिका यो राष्ट्रभाषाप्रति
साह्रै आहत छन ? कठै मुलुकका साहित्यसेवाव्रती
बाँचेको छ अझै तथापि जनको सम्पर्क भाषा हुँदा
हाम्रो चित्त छियाछिया छ अति नै यो प्रेय भाष रुँदा ।
नेपाली सबको थियो प्रिय, हुँदा साझा यही माध्यम
हामी जातिहरू अनेक सबको यै बन्दथ्यो सङ्गम
यो बेला मन व्यग्र छन्, सकलका छन् भावना कुण्ठित
यी भाषा जननी भइन् दिनदिनै झन् झन् कठै खण्डित ।
छन् भाषा जति राष्ट्रका सकल हुन् हाम्रै महान् सम्पदा
रक्षा आखिर गर्नुपर्छ सबको, हामीहरूले सदा
भाषा राष्ट्रिय यी समुन्नत बनून् अस्तित्वशाली बनी
‘नेपाली’ सबमा समादृत बनोस् सम्पर्क भाषा बनी ।
देऊ आसिक भानु ! राष्ट्रघरको छानो बनोस् एउटै
लेख्ने राष्ट्रियता सबै हृदयको पानो बनोस् एउटै
भाषा मानक, शुद्ध होस् प्रगतिको साझा बनोस् यो पथ
तानौं यै पथमा स्वराष्ट्र गरिमा उत्थानको यो रथ ।
गैंडाकोट– ८, नवलपरासी
‘वागेश्वरी’ पूर्णाङ्क २१, २०७० माघ १६
Subscribe
Login
0 Comments
Oldest








































