शेषराज भट्टराईगलघण्ट
कर्तव्य पुरा गरेरै छोड्नु पर्ने स्थितिमा मान्छेहरू निरन्तर लागि पर्छन् । जिम्मेवारी बोधको कारण छोड्न, त्याग्न, नमिल्ने स्थितिमा सहज अवतरणको बाटो खोज्न रहर भन्दा पनि कर लाग्छ । कर्तव्य बोधको क्रियाशील स्थितिबाट पछि नहटी थान्को लगाउन चलायमान कर्मबीर, गृहिणी, राष्ट्रसेवक, समाजसेवी, वा स्वयंसेवक नै किन नहोस् जिम्मेवारी बोधले फतक्क गलेको मानव वा चराचुरुङ्गी, पशु चौपाय, जलचर, थलचर, उभयचर, हरेक सजीव प्राणीहरू आफ्नो कर्तव्यपथमा अहोरात्र लागि परेका हुन्छन् । आफ्नो र आफन्तको ज्यान असाध्यै प्यारो लाग्छ । कसैले चर्काे स्वरले नथुरोस् भनिन्छ भने विना गल्ती कान्छी औँलाको टुप्पोले पनि नपिटोस् भनिन्छ । कर्तव्य पालनको सिलसिलामा सिङगो ज्यान, खिनौरो मन, गर्दन, घाँटी, गलेर फत्रक्क भर्ए पनि मन लत्रक्क हुँदैन । अलपत्र छोड्दा खलपत्र हुन्छ कि भन्ने सन्त्रासले त्यो मेरो हो भन्ने पवित्र भावनाका कारण सहनु र खानु पर्ने हजार हण्डरबाट पनि पछि नहट्ने हुती, ह्याउ, भएको माउको झ्याउलाई यहाँ गलघण्टको रूपमा उभ्याइएको छ ।
एउटी गृहिणी जसले विवाहाको लन्ठा सिध्याएपछि छोराछोरीजन्य खेतीपातीमा लागि पर्दापर्दै सन्तानको रहर पुरा त हुन्छ तर कतिपय व्यवहारिक कर्तव्यहरू ज्यूँका त्यूँ रहन्छन् । जस्तो समयमा खुवाउने, सुताउने, चुठाउने, धुने सेकताप, बिरामी पर्दा ओखतीमुलो र भान्सामा खुर्सानीको धुलो ठिक पार्न खुट्टा लुलो गरियो भने बेलुका श्रीमान्बाट फेला फरियो भनेर जाने हुन्छ । जिब्रो पड्काउँछन् र नटेरे गालै पनि चड्काई दिन्छन् । छालै तात्ने गरी गालै पड्काए पनि महादेवले पड्काएको ठान्यो मान्यो । सारै उपद्रो असह्य नै भई हालेछ भने श्रीमती पनि के कम श्रीमान्को रिस सन्तानरुपी गलघण्टमा सेर गर्न बाध्य हुन्छिन् । आफू भन्दा असक्तलाई यहाँ कसले ठोक्दैन र ? चित्त नबुझे पछि राता आँखा पार्दे कसले खोक्दैन र ? खोक्छन् खोक्छन् अति भए पछि ठोक्छन् र पुर्पुरोमा खत बोक्छन् । सकेसम्म सबै सेर हुने र नसके कुनामा बसेर रुने । त्यसैले यस्ता हुन सक्दैनन् चानचुने ।
हे कोमलाङ्गी ! कहिले सन्तानरुपी गलघण्ट नाङ्गो कहिले आफू नाङ्गी । जस्तो आफू उस्तै च्यापू । के हो यस्तो यो भाव भंगी । रिस उठ्यो भन्दैमा नजङ्गी । ठिक हुँदैनन् साथी सङगी तै पनि प्यारासँग प्रीत बस्दै फुस्किँदै गर्छ । तथापि सन्तानरुपी गलघण्ट छोड्न मन लाग्दैन । लगन गाँठो तोड्न मन लाग्दैन । जब सन्तान तितो, पीरो खाने लामो हात गर्ने, बक्रोक्ति र कटाक्षमा पोख्त अनि तिघ्रे पनि हुन्छन्, त्यसपछि गलघण्ट बटारिएर आफ्नै बाटो लाग्छ र कोरलीसँग आफ्नै गलघण्ट कोरलेर बस्छ । तै पनि मातृ मन, मातृ माया रित्तिन जस्तै दुःख भए पनि । गलघण्टले घर छोडेर टाढा टाढा गए पनि ।
गलघण्ट गलाभरी गला लागेर पल पल हिक्क हिक्क भैराख्दा पनि गलघण्टबाट दिक्क लाग्दैन । एकाध सठ सन्तान ले अघाउन्जेल र वाक्क परि बनाउँछन् । अन्यथा आँखै भरी मनै भरी संसारकै सबैभन्दा प्यारो र उत्तम लाग्छ आफ्नो गलघण्ट । त्यसैले भन्ने गर्छन् “खेती अर्काको राम्रो, सन्तान आफ्नै राम्रो” । आफू सरह दाउरी र चाउरी परे पनि छाउरा छाउरी असाध्यै प्यारा लाग्छन् पुस माघको घाम जस्तो । बाबु आमाको काखबाट घुचेडेर लाख कमाउन रमाउन टाढा टाढा नपठाउँ नपठाउँ जस्तो लाग्छ । तर के गर्नु, सोचे जस्तो हुन्न जीवन । सम्झे जस्तो पनि हुन्न यो मन । जस्तो भोगिन्छ जसलाई ढोगिन्छ त्यस्तै हुन्छ जीवन ।
कर्तव्य पुरा गर्दा गर्दा आफ्नै ज्यान आफैलाई गलघण्ट झै लाग्छ । तै पनि थकित जिन्दगी हामीले आफ्नै पाराले थन्क्याउने प्रयास गर्छाै । घाम छायाँ जस्तो । कहिले काही जीवनमा उज्यालोले चियाएछ भने पनि एक दिन मेघ गर्जन सहितको चट्याङ, बादल र वर्षाले ढाक्छ । गलघण्टले थकित मन पाक्छ, थाक्छ र असह्य भए पछि आफूलाई आफ्नै नजर बन्दमा राखिन्छ । किनकि जिन्दगीमा नराम्रोसँग गलघण्टको स्वाद चाखिन्छ, थाकिन्छ, पाकिन्छ त्यसैले ।
फूलबारी–११, पोखरा
फोन : ०६१५३०१२२, ५३४७१३
Subscribe
Login
0 Comments
Oldest








































