साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हराएको कविता

Nepal Telecom ad

अचानक हरायो मेरो एउटा लुम्रे कविता
हराएकैमा खुसी लाग्ने एउटा झुम्रे कविता

हराएको त्यो कुकवितामा मैले
वीर गोर्खालीका सन्तानहरूले
कम्प्युटरले हिर्काएर जमिन चर्काएको कथा
एक हरफमा पनि गाएकै थिइन
लाभा ओकल्ने ज्वालामुखी युवाहरूले
मस्जिद मर्काएको कथा
कतै पनि चर्चा गरेकै थिइन
हराएको त्यो डरछेरुवा कवितामा
रगतको खोलामाथि
मान्छेका हाड करङको पुल हाल्ने
क्रान्तिका सपना पनि थिएनन्
रत्नपार्कमा रिले अनशनको ओथारो बसेर
गणतन्त्रको फूल पार्ने
भ्रान्तिका जपना पनि थिएनन्
त्यस्तो,
वीर नेपाली जातिको अदम्य वीरता झल्किने
कुनै झलकसम्म नभएको झल्लु कविता हरायो
राम्रै भयो,
आफ्नो हातले डढेलो लाउन नसकेको
एउटा जडौरी कविता हरायो ।

धरोधर्म
हराएको त्यो नामर्द कवितामा मैले
तस्करसँग इनाम लिएर इमान बेच्न सक्ने
महान्यायालयका कुनै न्यायमूूर्तिको
व्यापारका बारेमा लेखेकै थिइन
टाउकामा सत्य सेवा सुरक्षाको छाता
र छातीभरि राजाले दिएका तक्मा ओडेर
ढल निकासको नालीमा
वारपार पौडी खेल्न सक्ने
कुनै महानिरीक्षकहरूका योगदानलाई
मैले कवितामा देखैकै थिइन
त्यस्तो,
देशको शिर झन् माथि उठाउने
महामानवहरूको नामै नलेखेको नपुङ्सक कविता हरायो
राम्रै भयो,
पुतला बनाएर चौबाटोमा
आगो सल्काउनु नपर्दै
एउटा हुतिहारा कविता हरायो ।

त्यो काँतर कविता लेखिरहँदा मैले
कालो धनले गुप्ताङ्ग छोपेर
सार्वजनिक सभाहरूमा
निर्लज्ज भाषण गरिरहन सक्ने महापुरूषहरूलाई
चिरञ्जीवी हुने आशिष दिनसकेकै थिइन
दसैंका बोकाजस्तै
बेरोजगार नेपालीलाई
खाडीमा बलि दिएर
बाली भित्र्याउन सफल
सम्बन्धित सबै युगपुरूषहरूलाई
अलिकति पनि ठाउँ दिनसकेकै थिइन
नेपालीले नेपालीलाई
कीला ठोकेर छाला काड्ने
मौलिक नेपाली क्रान्तिकारी काइदालाई
मैले एक अनुच्छेद स्वागत मन्तव्य पनि
व्यक्त गर्ने सकेको थिइन
त्यस्तो,
नेपाललाई विश्वको हाराहारीमा पु¥याउने विषयमा
चुँ पनि नबोलेको अराष्ट्रिय कविता हरायो
राम्रै भयो,
शब्दहरूको सत्यनाश भएको
एउटा मुर्कुट्टो कविता हरायो ।

हराएको त्यो लाछी कवितामा मैले
देश विकासमा युवाहरूको बलिदानको
कदर गरेकै थिइन
कागले कान लग्यो भन्ने सुन्नासाथ
काँधमा टायर भिरेर
आफैंलाई आगो सल्काउन सक्ने
बहादुर तन्नेरीहरूको उत्साहमा
थप हौसला भरेकै थिइन
देशमा दनदनी डढेलो दन्कीरहँदा
बासुरी बजाएर सुतिरहेका
वा सुरालमा मुतिरहेका
कुनै मन्त्री पुलिस वा सेनाको
कहालीलाग्दो निन्द्रालाई
अभिनन्दन गरेकै थिइन
सहर खरानी भइसकेपछि
सुराल पनि नफेरी
भक्कानो परेको छाती र आँसु भरिएका आँखाले
क्षतिको निरीक्षण गरिरहँदा
मैलै, ती पुतलाहरूको स्वागत गर्न
कलममा एक थोपो मसी पनि भरेकै थिइन
त्यस्तो,
जिउँदै मरिसकेको एउटा पानीआन्द्रे कविता हरायो
राम्रै भयो,
सार्वजनिक गर्नु नपर्दै
त्यस्तो एउटा लोमूते कविता हरायो ।

‘नेपाल’ साप्ताहिक, अङ्क ११४

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आफ्नो देश आफैं बनाऊँ

आफ्नो देश आफैं बनाऊँ

लक्ष्मण गाम्नागे
जनै, जुत्ता, लँगौटी, कोट

जनै, जुत्ता, लँगौटी, कोट

लक्ष्मण गाम्नागे
बाबा र नेता उस्तैउस्तै

बाबा र नेता उस्तैउस्तै

लक्ष्मण गाम्नागे
अगस्ती आराधना

अगस्ती आराधना

लक्ष्मण गाम्नागे
आफ्नो देश आफैं बनाऊँ

आफ्नो देश आफैं बनाऊँ

लक्ष्मण गाम्नागे
0
Would love your thoughts, please comment.x
()
x