आर.आर. चौलागाईंअगुवाको चर्तिकला
शिक्षक कक्षामा पढाउँदै थिए ।
“चुरोट, रक्सी खानु हुन्न । स्वास्थ्यलाई हानि गर्छ । यसले अनुशासनमा राख्दैन । तिमीहरूले कहिले पनि यस्ता कुराको सङगत नगर्नू ।”
यति भनेर उनले खल्तीबाट चुरोट झिकेर सल्काए । चुरोटको कुइरीमण्डल धुवासँग उनको मुखबाट रक्सीको गन्ध पनि ह्वास्स आइरहेको थियो ।
००
डाक्टर बिरामी जाँच्दै थिए ।
“तपाईंलाई ठूलो दशा लागेको रहेछ । यो रोग मेरो प्रयासले मात्रै निको नहुन सक्छ । एकपल्ट झाँक्रीलाई देखाएर भूतप्रेत पन्छाउनु होला ।”
००
पण्डितबाजे सप्ताहमा प्रवचन फलाक्दै थिए ।
“चरित्रभन्दा ठूलो चिज केही हुँदैन । कसैलाई पनि कुदृष्टिले हेर्नु हुँदैन । संसारमा त्यही मान्छे महान् हुन्छ, जो बाहिरमात्र हैन भित्र पनि शुद्ध हुन्छ ।”
तल्लो गाउँ नजिकैको बाँसघारीमा एउटा बच्चा च्याहाँ च्याहाँ रोइरहेको थियो ।
आइते दमाईकी स्वास्नीले अर्काको पेट बोकेर मिल्काएकी भन्ने हल्ला चल्यो । केही आइमाईहरू आश्चर्य प्रकट गर्दै थिए– “आम्मै नि ! यसको अनुहार त काटीकुटी पण्डित बाजेको जस्तै गाँठे !”
००
नेताजी भाषण छाँट्दै थिए ।
“हेर्नोस्, भ्रष्टाचारले यो राष्ट्रलाई बरबाद पारिसक्यो । तपाईं हामी सबै मिलेर यसलाई निर्मूल गर्नुपर्छ । भ्रष्टाचार गर्ने र गराउने यी दुवै देशका शत्रु हुन् । यिनीहरूलाई ठेगान नलगाई हुन्न ।”
रात पर्नासाथ गह्रुङगो सब्रफकेस बोकेर एउटा नामुद तस्कर नेताजीको महलभित्र लुसुक्क पसेको देखियो ।
रचनाकालः २०५८ वैशाख ४
‘विघटनको तयारीमा’ (२०६५)बाट
Subscribe
Login
0 Comments
Oldest








































