आर.आर. चौलागाईंनेपाल बन्द
भोलिदेखि तीन दिनसम्म नेपाल बन्द । बन्दको विरूद्धमा मन्त्रीहरूको दौडधूप । यस मामलामा मन्त्री हिक्मतबहादुर ‘साहसी’ सबैभन्दा सक्रिय । उद्योगपति, व्यवसायी तथा विभिन्न समुदायका प्रतिनिधिहरूको बृहत् भेलामा उनको विशेष भाषण– “ …नेपाल बन्दको त्रासले तपाईंहरू कोही नआत्तिनोस् । उद्योग हुनेले उद्योग चलाउनोस् । गाडी हुनेले गाडी दौडाउनोस् । पसल हुनेले पसल खोल्नोस् । प्रोफेसरहरू क्याम्पस जानोस् । मास्टरहरू स्कुल पुग्नोस् । कर्मचारीहरू कार्यालय हिँड्नोस् । आजसम्म जजसले जेजे काम गरिआउनु भएको छ, भोलिदेखि पनि सबैले आआफ्नो काममा निरन्तरता दिनोस् । केही परेमा म छु । म हुँदाहुँदै तपाईंहरू नडराउनोस् । यो सब हामी डराएर भएको हो । हामीमा हिम्मत भयो भने बन्द गराउने ती तत्वहरू आफैं पराजित हुनेछन्…।”
दिन बित्छ । मन्त्री हिक्मतबहादुर क्वार्टर पुग्छन् । निजी सचिवलाई अह्राउँछन्– “म भोलिदेखि बिरामी परूँला जस्तो छु । मेरो तीन दिनको कार्यक्रम रद्ध गर्नुहोला ।” गाडीबाट ओर्लिएपछि ड्राइभरलाई भन्छन्– “गाडी यहाँ राख्दा डर हुन्छ । उतै ग्यारेजमा राख्नू । भोलिदेखि तिमीलाई तीन दिन छुट्टी ।”
छोराछोरीलाई सम्झाउँछन्– “भोलिदेखि तीन दिन क्याम्पस नजानू ।” सालोलाई फोन गर्छन्– “थाहा छ कि छैन लाटा ? तीन दिन पसल नखोल्नू नि ! नत्र बित्यास पर्ला !”
दिउँसो उनले गरेको भाषण टिभीमा आइरहेको हुन्छ– “ …बुझ्नु’भो ? नेपाल बन्दको त्रासले तपाईंहरू कोही नआत्तिनोस्… ।”
लघुकथासङ्ग्रह ‘विघटनको तयारीमा’बाट
Subscribe
Login
0 Comments
Oldest







































