ललिता ‘दोषी’मुसुक्क मुस्कुराउँछिन्
उनलाई चाहिन्छ लिपिस्टिक पेटमा सारङ्गी बजे पनि
लाउँछिन् पेन्ट, टिसर्ट दाँत दुइटा झरे पनि
उनलाई भन्नुहुन्न बूढी भन्नुपर्छ च्वाँक
कम्मर मर्काई–मर्काई हिँड्छिन् त्यो हिँडाइ हो रे क्याटवाक ।
घरमा पीठो छैन धाक लगाँछिन् स्यान्डबिचको
भुटुन नखाए पनि ल्याउँछिन् बोत्तल सेन्टको
कसैले दिदी भनिदिए आँखा तरेर रिसाउँछिन्
कसैले बहिनी भनिदिए मख्ख हुँदै मुस्कुराउँछिन ।
फुलेका आँखीभौँमा घरिघरि आइब्रो लगाउँछिन्
चाउरिएको अनुहार सिँगार्न ब्युटीपार्लर धाउँछिन्
लोग्नेको कमाइजति मोजमस्ती मै उडाउँछिन्
लोग्ने घर कुर्दै बस्छन् उनी डिस्को धाउँछिन् ।
पार्टी, भोजमा पहिले उनी नै रक्सी समाउँछिन्
चेयर्स भन्दै आधुनिकतामा पनि दर्शाउँछिन्
कसैले केही भन्न खोजे स्वतन्त्रताको परी लाउँछिन्
छिटो ढोका खोल बूढा भन्दै उनी हप्काउँछिन् ।
कहिले चुरोटको धुँवासँगै पप गीत गुन्गुनाउँछिन्
कहिले समाजसेवी भन्दै नाक फुलाउँछिन्
जो अग्र स्थानमा छ उसैको जयजयकार गाउँछिन्
नारी स्वतन्त्रता चाहिन्छ भन्दै औँला ठडाउँछिन्
न कहिले छोरा–छोरीको भविष्य सोच्ने फुर्सद पाउँछिन्
बिहानदेखि बेलुकासम्म पद प्रतिष्ठाको लागि धाउँछिन्
घरिघरि राम्रो योगदानको पुरस्कार पनि पाउँछिन्
वाह ! वाह ! गरी प्रशंसा गर्छन् अरू उनी मुसुक्क मुस्कुराउँछिन् ।
जनमत कविता : खण्ड, २
बुद्धनगर काठमाडौँ
Subscribe
Login
0 Comments
Oldest






































