बूँद रानातीजको गीत
खाउँ भने त कसरी खाउँ बासी खाजा तीजको
साजी दर छैन बरै आज तीजको ।
गाउँ भने त कसरी गाउँ जम्मै गीत बिगारे
कैलाशका शिवजीलाई रोदी घिसारे ।
लाउँ भने त कसरी लाउँ सारी चोली टालेको
गरीबीले हियारमा आगो बालेको ।
जाउँ भने त कसरी जाउँ माइती टाढा भएको
बाटैभरि बाढी सँगै पैह्रो गएको ।
धाउँ भने त कसरी धाउँ छैन निम्तो पाएको
सम्झी सम्झी कुटुकुटु मुटु खाएको ।
दाजुभाइ दुबईमा मामा पनि कतार
यो तीजमा माइती जान छैन हतार ।
चौपारीमा बसौं भने जम्मै बूटा मासिए
पातालमा बस्न हुन्थ्यो धर्ती भासिए ।
ख्यालख्यालमै ज्यान काहाँ फालिन्थ्यो र उसरी
जिन्दावाद हुन्छ भरे हाम्रै झुपडी !!
Subscribe
Login
0 Comments
Oldest








































