शेषराज भट्टराईरिस
क्रोधी स्वभावका एक ऋषिको नाम दुर्वासा थियो । पुराणप्रसिद्ध कथा अनि हिन्दू धर्म ग्रन्थहरूमा दुर्वासा ऋषिलाई ज्यादै रिसाहा मानवको रूपमा लिने गरिन्छ । नेपाली उखान झैँ फैलिएको यस भनाइलाई सार्थकता दिन हो क्यार रिसाहा मानवलाई मान्छेहरू भन्ने गर्छन् ‘कस्तो दुर्वासा रहेछ’ ।
रिस स्वार्जित अदृश्य शक्ति हो । एक अर्कामा थप्न, झिक्न, लिन, दिन, मिल्दैन तर रिसले भरिएकाहरूको जम्काभेट भयो भने एकले अर्काको छाला तर्न या मर्न पनि सक्छन् । मानसिक सन्तुलनमा गडबढी आयो भने रिसको ज्वाला दन्किन सक्छ । रिस उठेको मान्छेका लक्षणहरू जानियो भने मर्न मार्नबाट बच्न र बुद्धिमानीमा जच्न सकिन्छ । हान्ने राँगाका जस्ता आँखा, बाघको जस्तो गर्जन र विषालु सर्पको जस्तो फँडा फूलाएर एक तमासले आफूतिर आयो भने त्यहाँ लामा लामा फट्का गरेर कुलेलम ठोके हुन्छ । अन्यथा ज्यानलाई एकै घान पार्न या मार्न सक्छ ।
आगोको तातो या शक्ति नजिक गएर वा छोएर मात्र थाहा लाग्छ । भूकम्पले पृथ्वी तथा घरहरू हल्लाउने मात्र होइन ध्वस्त पनि पार्छ । हावा चल्दा बोट वृक्षहरू दायाँ बायाँ तल माथि हल्लिन्छन् । बाढी आएको खोलाले सारा बस्ती बगाउन सक्छ । ओरालो लागेको ढुङ्गो जे माथि बज्रिन्छ त्यो र आफू पनि ध्वस्त हुन सक्छ । अहिले ब्राजिलमा भएको २० औँ विश्व कप फुटबल खेलको दौरानमा एक देशको खेलाडीले अर्काे देशको खेलाडीलाई टोकेर थला पार्नुको मुख्य कारण नै रिस हो । त्यस्तै रिसको पनि केही ठेगान हुँदैन यो जसरी पनि प्रस्तुत हुन सक्छ । रिसाएको मान्छे पूर्व सामान्य स्थितिमा नरहेर अनौठो आंगिक स्वाङ, हाउ भाउ, चाल चलनमा विचलन ल्याइ राखेको हुन्छ । के गरौँ कसो गरौँ, मारौँ, अप्ठ्यारो पारौँ या मारौँको स्थितिमा दारा किटी राखेको हुन्छ । रिसले आगो हुनु, दारा किट्नु, फँडा फूलाउनु, आँखा तर्नु, रिसाहा राँगाले, गोरुले या हिंस्रक जनावारले झै आक्रामक स्वभावमा हेर्नु मानव अधिकारको कुरा हो तर छुन, रामधुलाई गर्न भने विश्वव्यापी रूपमा निशेध गरिएको छ । निशेध गरिएको कुरालाई अवज्ञा गर्दै जाइलागे प्रशासनले डल्लो पारेर जेलभित्र छिराइदिन्छन् । त्यसैले त मान्छेहरू सुशासन र राहतको महसुस गर्ने गर्छन् । नत्र त कति मर्छन्, कति मार्छन्, कति मारिन्छन् । लेखा जोखै हुँदैन । वेथितिलाई आंंकुशे लगाउने भएर नै रिसाहाहरू रित पूर्वक निहुरी परेर चल्ने गर्छन् ।
रिस अहोरात्र बारैमास जतिखेर, जोसँग जहिले पनि उठ्न सक्छ । विवेकमा विचलन या व्यवहारमा अपचलन भयो भने पनि रिसको छहरा छुट्न सक्छ । अधिक रिसमा पहरा फुट्न सक्छ । शिर छेदन होस् या ज्यानको भेदन रिसबाटै फत्ते हुने कुरा सत्य हो । सप्रिएकाहरू रिसलाई अघि सार्दा बिग्रिएर हत्तु हैरान भएर प्रायश्चित गर्ने सज्जनहरू पनि रिससँग आजित मात्र होइन पराजित नै भएका छन् ।
किम्बदन्ती अनुसार एक पटक कृष्ण, बलराम र सात्यकि जङ्गल भ्रमण गर्ने मनसायले बनतिर लागेछन् । जङ्गलमा बाघ भालुको आक्रमणमा परिन्छ कि भनेर धनुषकाँण पनि बोकेछन् । जाँदा जाँदा मध्य जङ्गलमा बास परेछ । बास बसेछन् । सुत्दाखेरी आलो पालो दुई जना सुत्ने एक जनाले धनुषकाँण लिएर पहरा गर्ने नियम बनाएछन् । पहिला कृष्ण र बलराम सुतेछन् । सात्यकिले पहरा गरेछन् । कृष्ण र बलराम निदाए । सात्यकि वरिपरि घुम्दै पहरा गर्न थालेछन् । रात छिप्पिँदै गयो अलि पर एउटा कीरो देखेछन् । त्यसलाई मरिहाल्छ कि भनेर हल्का घुच्याइ दिएछन् । कीराले रिसले चुर भएर सात्यकिलाई हेरेछ । यस्तो जाबो कीरो पनि अटेरी भन्दै अलि बढी बल लगाएर हिर्काइदिएछन् । कीरो रिसले फुलेर झन् ठुलो भएछ । जति पिट्यो कीरो उति नै ठूलो हुँदै गएछ । धनुषकाँणले पनि हाने तर कीरो मर्नको सट्टा केही विगार गर्ला जस्तो ठुलो हुँदै गएछ । वरिपरि घुम्दै पहरा दिनु पर्नेमा कीरासँग लड्दालड्दै आफ्नो डिउटीको पालो सिद्धिएछ तर कीरो मरेन । सात्यकि हार खाएर सुत्न गएछन् । अबको पालो बलरामको र उनले पनि रिसले फूलेर बसेको बडेमानको कीरा देखे । उनले लात्तीले हाने, हलोले हाने, ढुङ्गा मुढा गरे तर कीरो मर्नको सट्टा अजङ्गको हुँदै गएछ । कृष्णलाई खतरा हुन्छ कि भनेर कृष्णलाई उठाएछन् र भनेछन् यस कीरालाई मार्न नसकेर सात्यकि थाकेर सुतेछन् । म पनि उठेदेखि एक तमासले लडाइँ गरिराखेको छु तर यो मर्दैन र जति पिट्यो उति बढ्दै, ठूलो हुँदै जान्छ भनेपछि कृष्णले अन्तरज्ञानले विचार गरेछन् । कीरालाई हेरे तर कीरो रिसले अजङ्गको भइसकेछ । के गरी यसलाई मार्ने, हिर्काएर, पिटेर, किचेर यो मर्देन यो त मूर्तिमान क्रोध हो भन्ने थाहा पाएपछि यसलाई के गर्ने ? बलराम र केतकीलाई सुत्न पठाएर कृष्णले कीराको मनसाय बुझेछन् । हात हतियार लाठोमुङग्रो सबै थन्क्याएर कृष्ण कीराको अगाडि गएर मुसुक्क हाँसेछन् कीरो अलि सानो भएछ । अगि साथीहरूले लाठी मुङ्ग्री गरेको ज्यानमा सुम्सुम्याइदिएछन् । हाँस्दै, खुसी हुँदै कीरालाई चरम माया गरेपछि सात्यकिको कीरो पूर्वावस्थामा आएर सानो भएछ र आफ्नो बाटो लागेछ । त्यसैले रिसले सबैलाई थन्क्याउन, ठिक पार्न सकिन्छ भन्नु गलत सोचाइ हो । पृथ्वीमा कीराको आशय नबुझेर सात्यकिको कीरो भएर दुःख दिने मान्छेहरू धेरै छन् र तिनलाई कृष्णले झै चरम माया ग¥यो भने सजिलै थन्क्याउन वा थान्को लाग्न सक्छन् । त्यसैले माया बिर्सिएर रिस नगर्दा पनि समस्यालाई पाखा लगाउन सकिन्छ ।
रिसको स्रोत या ग्रन्थि के हो पत्ता लाग्थ्यो भने त्यो तत्त्वलाई हु¥र्याएर रिस रहित मान्छेको युग सुरु हुन्थ्यो होला । टाउकाको टुप्पी आसपास दुईवटा भूमरी मौजुदा छ भने त्यस्तो मानव लोकमा अत्यन्त क्रोधी कहलाइन्छ । त्यस्ताले अर्काको प्राण सिध्याए पछि मात्र आँखा खोल्छन् भन्ने भनाइ ज्योतिष शास्त्रमा पाइन्छ । कतिपय बाहुनहरूले पनि रिसले ओतप्रोत भएको बेलामा वेद नपढ्ने जनाउ दिएबाट रिससँग सदा सावधान रहनु पर्ने तथ्य छर्लङ्गिन्छ ।
कस्तो स्थितिमा रिसाउने, कस्तो कारण र काण्डमा ब्रह्माण्ड हल्लाउने भन्ने कुनै सीमा छैन । जतिखेर मन लाग्छ त्यतिखेर फ्याट्ट रिसाएर प्याट्ट हिर्काउन पनि मिल्छ । गाला चड्काउने कि पाता फर्काउने, जगल्ट्याउने कि कुँइयाउने, नङ्ग्रयाउने, चिथोर्ने, या कोपर्ने, घुच्याउने, घचेट्ने या चिमोट्ने कि चोर औँलोमात्र ठड्याएर चित्त बुझाउने रिसको घनत्वमा भर पर्छ । कार्यालय, घर, आँगन, बाटो, बस, रेल, खेल मैदान, या करेसाबारी, वन जङ्गल, ताल तलाउ, भोज भतेर, भान्सा, चियापान, सोफा, ओछ्यान जता पनि रिसार्जन गरेर उद्दण्डता ठूलो लाग्छ भने तमासा देखाउन सकिन्छ ।
रिसाउन सजिलो छ । नुन चर्काे होस् या स्वर चर्काे, बाङ्गे नजर लाओस् या ठाडो हेराइ, हिँडोस या बसोस्, उठोस् या सुतोस्, रोओस् या हाँसोस् हरेक कुराको तन्तु पक्रिएर जन्तु रिसाउन मिल्छ । गाडी चलाउने गुरुजीलाई देखेर होस् या पढाउने शिक्षकलाई देखेर पनि रिसाउन सकिन्छ । अघाउन्जेल निदाएर आफ्नै स्वास्नीले छोरो नजन्माएको विषय वस्तुलाई आधार मानेर रिसले चूर हुँदै झूर व्यवहार गर्न सकिन्छ । दारी नकाट्ने ब्लेड, तरकारी नकाट्ने चक्कु, मकै नमर्काउने दाँत देखेर रिसाउन सकिन्छ । बजारभाउ आकाशिएको स्थितिमा रिसले मुर्मुरिन सकिन्छ । छोरा छोरीले डिस्टिङ्सन ल्याएनन् भने पनि रिसाउँदा फरक पर्दैन । अर्धाङ्गिनीले वर्साैटे घ्यालघ्याल्ती जन्माउँदै सुत्केरीले मीठो मसिनु चापिन भने पनि नाकै अगाडि मुड्की उज्याउँदै पाखुरा सुर्किन मिल्छ । शिर नढाक्ने बुहारीलाई देखेर जेठाजु चिडचिडाउन मिल्छ । भनेको कुरा पटक्कै नखाने ज्वाइँ देखेर सासू ससुरा रिसाउन मिल्छ । सराध्देमा आउने सालो देखेर रिसाउन मिल्छ भने गोराले कालो देखेर पनि रिसाउन मिल्छ । लभ गर्नेलाई देखेर पनि रिसाउन पाइन्छ भने लभ नगर्नेलाई देखेर मुक्याउँ मुक्याउँ लाग्छ भने पनि त्यसलाई रिस नै भन्नु पर्छ भने पछि मान्नु होस्, जान्नु होस् रिसको घनत्व र दायरा कति फराकिलो होला ? कति व्यापक र विस्तारित होला ?
रिस खान पनि मिल्छ त्यसैले भन्ने गरिन्छ “रिस खा आफू बुद्धि खा अर्काे” । रिस एकातिर खपत भइराखेको बेलामा ख्याल गर्नु होला बुद्धिचाहिँ अर्कोले ग्रहण गरिराखेको हुन्छ । बुद्धि र रिस सिक्काका दुई पाटा हुन् । जसको नङ र मासुको झैँ सम्बन्ध हुन्छ । रिसले डुबाउन लाग्यो भने बुद्धिले निकाल्छ । रिसले घर न घाट भएकाहरूलाई बुद्धिले घर र भर दिन सक्छ । हरेक कुरामा प्राणीले बुद्धि पु¥याउन सकिएन भने आफै विरुद्ध रिस उठ्न सक्छ । रिस धेरै भयो भने बुद्धि पछुताउँछ । बुद्धिको भाँडोमा विर्काे लाग्न सक्छ । रौद्ररसले बनिबास बनाउन सक्छ । पाण्डव र कौरवको लडाइँ रिसबाटै सुरु भयो रिसले नै सिध्यायो । यस्तो स्थितिबाट मुक्ति पाउने जुत्तिका लागि रिसलाई अग्रपङ्क्तिमा राख्नु हुँदैन । रिसलाई जति पछाडि राख्यो उति आफू अगाडि आइन्छ भने पछि रिस खेती गर्ने कि नगर्ने ? तपाईको ऊर्जाशील विवेक, धर्म, ब्रह्म र कर्ममा भर पर्छ । रिस खेती मौलाउनु भनेको मानसिक रोगी बनेर स्वयम् बौलाउनु हो । त्यसैले सावधान ! रिस अरूका लागि होइन, आफ्नै लागि हानिकारक छ ।
फूलबारी– ११, पोखरा
फोन : ०६१५३०१२२, ५३४७१३
Subscribe
Login
0 Comments
Oldest








































