साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आउनुस् तपाइँलाई घुमाइदिन्छु

Nepal Telecom ad

काठमाडौँको भुँडी भनेकै टुँडीखेल क्षेत्र हो । यसैलाई घेरो हालेर वरिपरि सहिदगेट, आर्मी हेडक्वाटर, दशरथ रङ्गशाला, महानगरपालिकाको कार्यालय, धरहरा, व्यस्त बजार न्यूरोड, हनुमानढोका दरवार, वीर अस्पताल, खुल्लामञ्च, रत्नपार्क, रानीपोखरी, घण्टाघर, सिंहदरवार, सर्वोच्च अदालत लगायत अन्य थुप्रै राष्ट्रिय स्तरका चिजबिजहरू भद्रगोल छित्रिएको हुनाले नै मैले टुँडीखेललाई भुँडीक्षेत्र भनेको हुँ । आज म तपाइँलाई काठमाडौँको यही भुँडीक्षेत्र घुमाउने सुरसारमा छु । एकपटक पनि नघुमेकालाई त हुनसम्म काइदै हुने भयो तर घुमिसकेकालाई पनि केही कुरा छुटेको रहेछ भने फाइदै हुने भयो ।

सबभन्दा पहिला तपाइँ टुँडीखेलको ठ्याक्कै दक्षिणपट्टि कलङ्की, कीर्तिपुर लगायतका ठाउँमा हुइँकने गाडीहरूले हल्लाखोर गर्ने स्थानमा उभिनुहोस् । त्यो ठाउँमा कहाँबाट आइपुग्ने भन्ने जिम्मा तपाइँकै । त्यसपछि घुमाउने काममात्र मेरो । अब हल्ला नगरीकन एकचित्त एकभक्त भएर सुन्नुहोस् । यहाँबाट आँखाले छर्लङ्गै हुनेगरी भेउ पाउने दूरीमा सहिदगेट ठिङ्ग उभिएको छ । गेट भनेपछि त्यसमुनिबाट मान्छे ओहोरदोहोर गर्ने भन्ने बुझाइ हुन्छ तर यो गेट त्यस्तो होइन । यो त विशेष गेट, वर्षको एकदिनमात्र काममा आउने गेट अर्थात सहिदहरूलाई सम्झिँदा नेताहरूले फूलमाला चढाउने गेट । मान्छेहरू, मोटरगाडीहरू यसको बाहिरैपट्टिबाट ओहोरदोहोर गर्ने बडो अचम्मको गेट । अन्य ठाउँमा त गेट बनाएको छ भने त्यसकै मुनीबाट छिरेर हिँड्नुपर्दछ होइन भने लाजको मर्नु हुन्छ तर यहाँ ठ्याक्कै उल्टो । यहाँ त अझ गेटबाट छिर्नुभयो भने तपाइँलाई कारवाही हुन बेर लाग्दैन । सहिदहरूलाई बिर्सने दिनमा यसको अवस्था अत्यन्तै नाजुक हुनपुग्छ । तर फेरि जब सहिदहरूलाई सम्झनैपर्ने दिन घुमिफिरी आउँछ, रातारात यसको अनुहार फेरिन्छ । बडो खुसीको कुरो यही हो । यो गेटमा चारजना सहिदहरूलाई एकैठाउँमा भेट गराइएको छ । ऊ जमानाका राजा त्रिभुवनलाई भने किन सहिद भनियो मैले मेसो पाउन सकेको छैन । मलाई त अझ सहिदहरूलाई भेट गराएको हुनाले ‘सहिदभेट’ भन्दिएको भए काइदा हुन्थ्यो जस्तो लाग्छ । किन ‘गेट’ भन्याहोला ? खानै नपर्ने पनि के पेट ! भनेझैँ छिर्नै नपाइने पनि के गेट ! आफू गेट भएर पनि मान्छेहरू बाहिरैपट्टिबाट तर्केर हिँडेको टुलुटुलु हेरिरहने विचरो सहिदगेटलाई तीनसय चौसठ्ठी दिनसम्म कसैले फर्केर नहेर्ने पीडा छ । तर उसको पीडामा साथ दिन तपाइँहामीजस्ता झन् पीडितले सक्ने कुरै भएन ।

त्यसपछि तपाइँ लाग्नुस् पश्चिमतिर । सबै शहरिया सभ्य मान्छेहरू सडकैबाट बाटो काटिरहेको देखेपछि तपाइँलाई आकाशेपुलबाट बाटो काट्न लाज लाग्नेछ । पाँच–दश रुपैयाँ जाने खत्राकखुत्रुक सामान किन्नु छ भने लाजै पचाएर भएपनि आकाशेपुलतिर लाग्नुहोला, होइन भने किन बेकारमा इज्जत घटाउने ? सडक पार गरिसकेपछि सुरु हुन्छ काठमाडौँको अत्यन्त व्यस्त मार्केट “सुन्धारा फुटपाथ वल्र्ड ट्रेड सेन्टर” । बा–आमा लगायत छोराछोरीका सामानदेखि लिएर चोरीका सामान समेत अत्यन्तै सस्तो दाममा किन्न पाइने यो ठाममा बेलुकीतिर जानुभयो भने हराउन बेर लाउनुहुन्न । अतः घुम्ने मात्रै मनसाय हो भने दिउँसै जानुहोला । सुन्धारा भन्ने बित्तिकै तपाइँलाई सुनको धारोबाट पानी खान मन लाग्नु स्वाभाविकै हो । हराभरा पार्क सहितको धरहरा हेर्दै मक्ख पर्दै दायाँतिर लाग्नुभयो भने खाल्टो परेको ठाउँ देखापर्नेछ । भुइँभरि ढुङ्गा टाँसिएको त्यही हो सुन्धारो । पित्तलकै भएपनि धारोको ठुँड देख्दा तपाइँको मन प्रफुल्ल होला तर पानी थन्किएको देख्दा भने तपाइँको कान रन्किएर आउनसक्छ । धन्न धारो भएकै ठाउँमा घर बनिसकेको छैन । तपाइँको भाग्यले धारो सम्म देख्न पाएपनि भावी पुस्ताले त त्यै पनि गाह्रो छ । धरहरा चढ्ने मन भए पचासवटा रुपैयाँलाई माया मार्नुपर्छ । त्यो तपाइँकै खल्तीको कुरो ।

त्यसपछि फर्केर आउनुहोस् र सोझिनुहोस् उत्तरपट्टि नेपाल वायुसेवा निगमको भवनतिर । कहाँ पु¥याएर फाल्ने हो भन्नेजस्ता थोत्रा न थोत्रा सफा टेम्पोहरूको रमिता हेर्ने भए एकछिन त्यहीँ उभिएर मजाले हेर्नुस् । बालमजदुरहरू ढोकामा झुन्डिएर चिच्याएको देख्दा तपाइँलाई अचम्म लाग्ला । यस्तै हो, कानुनको कुरो बनाउनेले पनि नजानून् । टेलिफोन र मोबाइलले गर्दा आफ्नो धाक देखाउन नपाएको केन्द्रीय हुलाक कार्यालयलाई पनि यसो पछाडि फर्केर हेर्दिए केही बिग्रिएन । अब तपाइँले पूर्वपट्टि फलामको बारले घेरेको टुँडिखेललाई चुपचाप हेर्दै आफ्नो पदचाप बढाउँदै जानुभयो भने सञ्चयकोषको भवन आइपुग्ने छ । ‘काठमाडौँ मल’ नामको सपिङ् सेन्टर रहेको यो भवनमा हुनेखानेहरूमात्र जाने गर्दछन् । नेपाली शिक्षक कर्मचारीहरूको बुढेसकालका लागि सञ्चित रकम सम्हालिनसक्नु भएको कुरा छर्लङ्ग पार्ने यो भवनको बाहिरैपट्टि एउटो भ¥याङ् सुलुलुलु बगेको देख्नुहुनेछ । खुट्टाको कसरत गर्ने सामान किन्न जाँदा शहरिया ठालुहरूको खुट्टा नदुखोस् भनेर यो आफै चल्ने भ¥याङ् बनाइएको हो । त्यसैको ठ्याक्कै पछाडिपट्टि निरन्तर पानी झरिरहने झरना जस्तो देख्न सक्नुहुनेछ । सुन्धारोबाट एकथोपो पानी नझरेको देख्ने तपाइँलाई यहाँ प्रयोगहीन पानी झरिरहेको देख्दा अचम्म लाग्ला । पिउन नपाएपनि हेर्न त पाउनु भो नि ! हेरेरै तिर्खा मेटाउनुहोस् । सामान किन्ने नियतले नभएपनि घुम्ने हैसियतले भित्र जान सक्नुहुनेछ । धरहरामा जस्तो पचास रुपैयाँ तिर्नुपर्दैन ।

अब आउनुहोस नेपाल वायुसेवा निगमपट्टि । विचरो आफैँ उड्न मिल्ने भए उडिसक्थ्यो । झोँक्राइरहेको वायुसेवा निगमको भवनलाई हेरेर समय बर्बाद गर्नु बेकार छ । अब लाग्नुहोस् न्यूरोड गेटपट्टि । खल्तीमा खुद्रा पैसा छ भने आठ–दशवटा हातमा लिइराख्दा हुन्छ । पहिलोपल्ट सबै ‘माग्ने’ नेपाली प्रतिनिधिहरूलाई सहयोग गर्न पक्कै मन लाग्नेछ । कोही अस्पतालको ओछ्यानमा आफन्ती सुतिरहेको तस्विर टाँगेर बसिरहेका हुनेछन् । कोही हातखुट्टा नभएको बच्चालाई अगाडि राखेर बसिरहेका हुनेछन् । कोही टाउकामा रातो रङ्ग दली पट्टी बाँधेर बसिरहेका हुनेछन् । कोही नेत्रहीन मादल ठोकेर बसिरहेका हुनेछन् । एउटो कुरो के पनि विचार गर्नुहोस् भने सबैलाई दिँदै जाँदा फेरि आफ्नै हालत उनीहरूको जस्तै नहोस् । हनुमान ढोकातिर हाते व्यापारीले विदेशी पर्यटकहरूलाई हैरान पारेको हेर्ने हो भने नाक थुन्दै सीधै अगाडि लागे हुन्छ । हैन भने सडक पार गर्ने प्रयास गर्नुहोस् । जेब्राव्रmस त एफएमबाट आउने ट्राफिक कार्यव्रmममा मात्रै सुन्ने हो, यहाँ त तपाइँले खोजेपनि भेट्टाउनुहुने छैन, नपत्याए बाजी ठोकौँ । धेरै संघर्ष पछि गाडीले ठक्कर देलादेला जस्तो गरी तपाइँ सडक पार गर्न सफल हुनुहुनेछ । त्यसपछि अगाडि बढ्नुहोस् वीर अस्पतालतिर । तपाइँसँग माग्नेहरूलाई दिने पैसा सकिइसकेको हुनाले मात्र पारिपट्टिको महाँकाल मन्दिरतिरबाट जाने सल्लाह नदिएको हुँ । यहीँनेर एउटा सुझाव के पनि दिन चाहन्छु भने, वीर अस्पतालको अवस्था र वरिपरिको वातावरण देखेर कृपया दिक्क नमान्नुहोला ।

वीर अस्पतालको ठ्याक्कै अगाडि एउटा आकाशे शौचालय छ । पहिले पहिले यसैलाई आकाशे पुल भन्ने गरिन्थ्यो । पारि जानको लागि सोही शौचालय प्रयोग गर्नुहोस् । यहीँनेर ग्राहक र व्यापारीको मोलमोलाई तपाइँको कानमा ठोक्किन सक्छ । “एकरातको पाँचसय ! पचासमा एकघण्टा हुँदैन ?” मन र धन भए जे पनि किन्न पाइने अहिलेको कमर्सियल युगमा यो सब मान्छे अपहरण ग¥याजस्तो सामान्य कुरो हो भन्दै तपाइँ जनताको खुलामञ्च र आर्मीको बन्दमञ्चको बिच्चबाट सट्कट् पल्लोछेउ पुगिने बाटोतिर सोझिनुहोस् । गडी, छोडा, काजु, किसमिस, कुराउनी, पानीपुरी, भुँइकटहर, काँव्रmो जे खान इच्छा भएपनि बाटैभरि पाउन सक्नुहुनेछ । त्यसमा पनि धुलो र धुवाँ सित्तैमा । सुसु गर्ने इच्छा भएपनि समस्या छैन, प्रवेशद्वारको दायाँपट्टि साइड लागे भैहाल्छ । दुई रुपैयाँ तिरेर पनि कसैले नदेख्ने केको सार्वजनिक ट्वाइलेट ! सबैले देख्नेगरी सुसु गर्न पाइने ठाउँ पो त सार्वजनिक ट्वाइलेट । सुसु गर्न मन छैन भने नाक टालेर अगाडि बढ्नुभए हुन्छ । “स्वच्छ, सफा, हराभरा काठमाडौँ” भन्ने झुक्किएर बनाइएको भनाईलाई उल्टोपट्टिबाट पुष्टि गर्ने खुलामञ्चलाई हेर्दै वल्लोछेउ आइपुग्नुहोस् । यहाँपनि कृपया जेब्राव्रmसिङ् नखोज्नुहोला । जसरी भएपनि सडक पार गर्नुभयो भने तपाइँ ठ्याक्कै पुरानो बसपार्क आइपुग्नुहुनेछ । बसपार्कको स्थिति हेर्दा तपाइँलाई पुरानो मात्र होइन प्राचीन जस्तो लाग्न सक्छ, त्यसमा मैले ठोकेरै बोल्नसक्ने स्थिति छैन ।

ए हे ! तपाइँलाई रानीपोखरी र घण्टाघरतिर त लैजानै बिर्सिएँछु । ठिकै छ, केही फरक परेन । रानीपोखरी र घण्टाघर नहेरी त कहाँ मान्छु र ! भन्नुहुन्छ भने लाग्नुस् फेरि उत्तरतिर सीधै माथि । पुनः एकपटक आकाशेपुल प्रयोग गर्ने÷नगर्ने इच्छा तपाइँकै । अलिकति माथि पुगेपछि घण्टाघरले आफ्नो अन्तिम समयको पर्खाइमा सुई घुमाइरहेको देख्नुहुनेछ । भित्र नजानुहोला । भत्किएर चाँपिनुभयो भने म पर्छु बेकारमा ! घण्टाघरकै ठ्याक्कै पश्चिमपट्टि रानीपोखरी देख्नसक्नुहुनेछ । राम्रोसँग देखिएन भनेर मसँग रिसाउनु बेकार छ । त्रिचन्द्र कलेजले छेक्दिएपछि मैले के गर्ने त ! त्यसको ठ्याक्कै पारिपट्टि बचाऊ ! बचाऊ !! भन्दै लम्पसार परेको चाहिँ दरबार हाइस्कुल हो । उहीँ जानुपर्छ भन्ने छैन । टाढैबाट हेरे पुगिहाल्छ ।

अब कहाँ जाने ? थाक्नुभएन ? सडक पेटीमै बसेर सानसँग आइँको मासु र च्युरा खाने हो भने कन्तबिजोग रत्नपार्कतिर लाग्नुहोस् होइन भने जहाँ जान मन लाग्छ जानुहोस् । तपाइँको मर्जी । मेरो ड्युटी सकियो । बाईबाई ।

‘फुलौरा’ हास्यव्यङ्ग्य सङ्ग्रहबाट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
लुटको खेती

लुटको खेती

अनिल कोइराला
बेकारको टन्टो

बेकारको टन्टो

अनिल कोइराला
0
Would love your thoughts, please comment.x
()
x