साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हल्लै हल्ला

Nepal Telecom ad

हल्ला आफै चल्छ कि कसैले चलाउँछ ? म दोधारमा परेँ । निधारैमा हात ठोक्काएर घोत्लिए पनि ‘लास्टमा उही’ भन्याजस्तो हारै व्यहोर्नु पर्यो । होइन, हल्ला त चल्छ यार ! कहिले भा’कै कुरोको हल्ला चल्छ भने कहिले नभा’कै कुरोको समेत हल्ला चल्ने गर्छ । हल्ला भन्ने कुरो कसैले सल्लाह गरेर चलाउने पनि होइन र झल्लाहरुले चलाउने पनि होइन तर चल्छ । ड्राइभर नभैकन पनि चल्दोरहेछ । कसरी चल्छ त ? मेरो दिमागमा हल्लाले चल्ला कोरल्न थाल्यो । फेरि दिमाग बटारेँ, सातदलले पो चलाउँछन् कि ! देशै हुइँक्याउन सक्नेले त्यो जाबो नाथे हल्लालाई के नसक्लान् त ! होइन होइन, हल्ला त जसले चलाए पनि चल्छ, हाम्रो देशजस्तै । बस् चलाउन तम्सनु प¥यो । हल्ला चलाउन गाह्रो छैन, कान समातेर बटार्दिए हुन्छ । अब कान कहाँ खोज्ने त ? अरुले बटारेर छोडेको कान रहेछ भने सजिलै भो, त्यही बटार्दिए पनि भयो, हैन भने आफैँबाट सुरु गर्नलाई आफ्नै कान बटारे पनि भो ।

हल्ला पनि हेरीहेरी हुँदोरहेछ । कुनै सानो हल्ला, कुनै मझौला हल्ला त कुनै ठूलो हल्ला । कुनै हल्लाले पात पनि हल्लाउन सक्दोरहेनछ भने कुनै हल्लाले रुखै समेत हल्लाउँदोरहेछ । हल्ला नगरीकन हल्लाकै कुरो गर्ने हो भने सबैभन्दा ठूलो हल्ला त गणतन्त्रको चल्यो । हल्लैहल्लाले राजतन्त्र झ्याप्पै ढल्ला जस्तो भयो । तर बिस्तारै प्रतिशतमा ढल्दै जाने राजतन्त्र के को ढल्थ्यो झ्याप्पै ! गणतन्त्रको हल्लाले पल्ला देशमा समेत अपर्झट मिटिङ चल्लाजस्तो भयो । हल्ला पनि चानचुने हो र ! नयाँ नेपाल बनाउने ठेक्का लिएका आदरणीय ठगदारहरुले सिंहदरवारको संसदखोरमा गर्ने गरेका हल्लाहरुमध्ये सबैभन्दा भयङ्कर । देशै हल्लिने किसिमको । तर राजतन्त्र भने त्यत्रो हल्लालाई टेरपुच्छर नलाएर कुखुरीले चल्ला कोरल्न बस्याजस्तो थुपुक्क बसेको बस्यै गर्यो । यता हल्ला गर्ने सातदलले भने हल्लैहल्लाले सातो जाओस् भन्ठाने ।

अर्को ठूलो हल्ला भनेको नयाँ नेपालको हल्ला । बिहे गरेको पाँच महिनामै भुटुके जेठाले जुम्ल्याहा छोरा पाएको हल्ला भन्दा पनि ठूलो । यति धेरै हल्ला भयो कि त्यही हल्लाले डिस्टर्ब गरेर हामीले नयाँ नेपाल बनाउने कामै गर्न सकेनौँ । उता हाम्रा परममित्र भारतजीलाई बडो चिन्ता लागेछ र नयाँ नेपाल बनाउने अभियानमा सुस्तरी हात बढाइदिनुभयो सुस्तातिरबाट । उहाँको इच्छा नेपाललाई भौगोलिक हिसाबले पनि एकदम नयाँ बनाइदिने । यसरी नयाँ नेपाल बनाउने हल्लाले विदेशीहरुको समेत मन तानेको छ । हामी आफूले हल्ला बाहेक अरुथोक गर्न नजाने पनि विदेशीले समेत सहयोग गर्दिने भएपछि अझ ठूलो हल्ला गरौँ न हुँदैन ? हाम्रो के जान्छ र ! गर्दिऊँ मजाले, हल्लै गर्ने त हो ।
अर्को हल्ला चल्यो संविधानसभाको । नेपाली जनताहरु संविधानसभाको हल्लाले वाक्क–दिक्क–प्याक्क भएर डकार्ने बेला भैसक्दा पनि हल्ला चल्न छाडेन ।
संविधानसभाको हल्ला गर्न संसदखोरमा जम्मा भएका हल्लाखोरेहरुले पटक–पटक नयाँ मिति तोकेपनि जनताले त्यसलाई ढाँटेपाटे नमानेको भए त मरिजाऊँ ! हल्ला बढी भएपछि तल्ला कोठामा बस्नेले समेत ‘कम्प्लेन’ गर्छन् भनेझैँ ‘कम्प्लेन’ बोक्नलाई बोरै बोकेर हिँड्नुपर्ने भयो ।

यी त भए ठूला हल्ला । अन्य सानातिना हल्ला त “कति आए कति गए हाम्रा नजरमा” भन्याजस्तो गनिसाध्य छैन, भनिसाध्य छैन । कहिले सगरमाथाको चुचुरोमा विदेशीले हेलिकोप्टर थेचारेको हल्ला चल्छ । सत्य कुरोको पनि हल्ला चल्छ क्या कहिलेकाहीँ ! सार्वजनिक गर्न नमिल्ने भएको हुनाले पो त अलिअलि मात्रै हल्ला चलेको नत्र त ‘ऋतिक रोशन काण्ड’ जस्तै भयङ्करै हुन्थ्यो नि ! ठूलाबडासँगको हस्तमिलान् र दामकाम मिलान्बाट सम्भव भएको कार्यको हल्ला पनि ठूलाबडाकै सेरोफेरोमा सेलाएर गयो । हल्ला पनि सुहागरातको ओछ्यानजस्तो तात्तातो हुँदोरहेछ क्या ! नत्र कसरी सेलाउँथ्यो त ? सेलायो बस् । बिहान भएपछि सेलायो । उता परममित्रले सीमा मिचेको कुराको हल्ला पनि बडो गजबले चल्यो । “अपानवायुमा खा’कै कुराको गन्ध आउँछ” भनेझैँ सुस्ता अतिक्रमणको हल्लामा पनि भा’कै कुराको गन्ध आयो । तर नाक थुन्नु र मुख बिगार्नु बाहेक कुनै उपाय फुरेन । पक्का छ सुस्ताको हल्ला पनि आफै सुस्ताएर जानेछ ।

कहिले माओवादीले वजेट मागेको हल्ला चल्छ त कहिले छापामार भागेको हल्ला चल्छ । कहिले रक्तचन्दनको हल्ला चल्छ त कहिले संसदखोरभित्र भएको भनाभनको हल्ला चल्छ । कहिले माझी आयोगका दोषीलाई कारवाहि गर्ने हल्ला चल्छ त कहिले भ्रष्टाचारीलाई सर्वोच्चले ससम्मान रिहा गरेको हल्ला चल्छ । कहिले माकुने प्रम बन्ने हल्ला चल्छ त कहिले पुष्पजी राष्ट्रपति बन्ने हल्ला चल्छ । कहिले बेपत्ता नागरिकलाई सार्वजनिक गर्ने हल्ला चल्छ त कहिले शिवपुरी जङ्गलमा मान्छे पुरिएको हल्ला चल्छ । कहिले मधेश जलेको हल्ला चल्छ त कहिले प्रधानमन्त्री गलेको हल्ला चल्छ । यसरी कहिले भा’को कुराको हल्ला चल्छ त कहिले नभा’को कुराको हल्ला चल्छ । हल्ला चलाउनु हाम्रो शान, मान र पहिचान हो भन्ने कुरालाई मध्यनजर गर्दै, आउनुस् तपाइँ पनि हल्ला नगरीकन यो अभियानमा सक्रिय रुपमा लागिपर्नुस् ।

‘फुलौरा’ सङ्ग्रहबाट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
लुटको खेती

लुटको खेती

अनिल कोइराला
बेकारको टन्टो

बेकारको टन्टो

अनिल कोइराला
0
Would love your thoughts, please comment.x
()
x