विश्व विनोदबहिराको सल्लाह र राजनीति
बहिराका कुरा गहिरा हुन्छन्, सुन्ने नै हो भने पहिरा लड्न सक्छन्, तर राजनीतिज्ञहरू बहिरा हुने गर्छन् चुनाव अघि र पछि । चुनाव अघि भनेका कुरा चुनावपछि चटक्क बिर्सने र सम्झाउन खोज्दा नसुनेको झैं अभिनय गर्न खोज्ने गहिरो कुरा राजनीतिमा पहिरो ल्याउने बहिराहरूको नै त हो नि । चुनाव अघि विभिन्न नोटको आधाभाग काटेर, यौटा आधाभाग जनतालाई दिएर यिनीहरू जनतालाई यसो भन्दछन्– यदि तिमीले मलाई भोट दियौ भने चुनावपछि म आएर बाँकि नोट दिनेछु । हो उनीहरू उधारो सपना बाँडेर गाउँसमाजमा हिँडिरहन्छन् चुनाव अघि । तर जब चुनाव सकिन्छ, हार्नेलाई राष्ट्र निर्माणको चासो नै भएन । ऊ पाँच वर्षको लागि भूमिगत नै हुन्छ तर जित्ने जिताहा गोरु जस्तै भै गो, गाउँबाट डुक्रिएर सहर पसेपछि गाउँको छाडा साँढे जमानाको कालु पाँडे भन्दा शक्तिशाली बन्छ उधारा सपनाको बीच ।
एउटा गाउँको एक घरमा बहिराहरू बस्ने रहेछन् । हजुरआमा, हजुरबाउ, बाउ, छोरी, श्रीमती सबै कान नसुन्ने बहिरा रहेछन् । एकदिन छोरो चाहिँ जोत्नको लागि मूलबाटो नजिकै खेतमा गएको रहेछ । कुनै बटुवाले अर्को गाउँ जाने बाटो कुन हो दाइ भनेर खेत जोतिरहेको बहिरो छोरालाई सोधेछ– ए दाइ, पल्लो पट्टिको गाउँ जाने बाटो कताबाट हो ? खेत जोतेको बहिरोले के नै बुुभ्थ्यो र, उसले गोरु बेच्ने हो दाइ भनेको पो बुझेछ । अनि बटुवालाई उत्तर फर्कायो– बेच्दिन हो बेच्दिन, जति मूल्य आए पनि बेच्दिन, बरु पल्लो गाउँतिर जाऊ गोरु किन्न । बटुवाले पटक पटक अर्को गाउँ जाने बाटो सोध्दा उसले पनि पटक पटक गोरु नबेच्ने कुरा बताई रह्यो । बटुवाले यो मान्छे बहिरो रहेछ भनेर बाटो लाग्यो । घरमा उसकी आमाले उसैकी बुढीलाई जोतेको ठाउँसम्म खाजा पु¥याउन पठाइन् । बुहारी बाटोमा कुरा सोच्दै गई– कतै बुढा त रिसाएनन् ढिलो भएकोमा ? जब ऊ खेतमा पुगी अनि भनी– तपाईकै आमाले गर्दा खाजा ल्याउन ढिला भयो है । तर उता बुढाले कुरा नै नबुभीm भन्न थाल्यो– अँ त नि बुढी, आज यौटा मान्छे गोरु किन्न आएको थियो, मैले त बेच्दिन भन्दिएँ । तर बुढी पनि बहिरो भएकोले उसले अर्कै कुरा बुझी अनि भन्न थाली– के रे खुट्टा काट्यो रे , अलिक जतन गरेर जोत्नु पर्दैन त ? यति भन्दै ऊ घरतिर लागी । अनि सासुआमालाई छोराले खुट्टा काटेको बताई । उता सासूआमा पनि बहिरो भएकाले अर्कै कुरा बुझी– के रे गोरुले सिङ फुकाल्यो रे ? के सुन्नु प¥यो हे दैव । त्यति नै बेला गाउँमा सभा कचहरीमा गएका घरका मूली अर्थात् ससुराबा आई पुगेपछि स्वास्नीको बहिरो बेलिबिस्तार अर्कै सुनेपछि उसले पनि भन्यो– के रे घर आउन ढिला भयो रे, ढिला त भै हाल्छ नि, सभा, गोष्ठीमा जाँदा कहाँ समयमा आउन पाइन्छ त श्र सधैं कचकच गर्छे यो बुढी त । यसरी भुट्भुटाउँदै गर्दा गाउँमा घाँस काट्न गएकी छोरी घर आइपुग्दा आफ्ना बाउ कराएको अर्कै बुझी र भनी– ह्या यी बाउ पनि सँधै टोकसो मात्र गर्छन् । जसलाई दिन्छौ उसैसँग बिहे गर्छु, पोइला त जाँदै जान्न, यो घरको इज्जत फाल्दिन ।
राजनीति पनि माथि उल्लेख भएको लोककथा जत्तिकै बहिरो छ । यहाँ न जनताले भनेको नेतृत्वले सुन्छ न यौटा पार्टीले भनेको अर्को पार्टीले सुन्छ । राष्ट्रिय महत्वका कुरामा यहाँ साझा भाषा कसैको बनेको छैन, तसर्थ यस्ता कुरामा कसैले पनि साझा आवाज निकालेको पाइँदैन, यौटा नेताले यौटा कुरा भन्छ भने अर्को नेता अकै कुरा भन्छन् । तपाईको जिल्लाको विकासको मोडेल कुन हो भनेर त सबै पार्टीका नेतालाई चोकमा राखेर सोध्नुस् त चौरासी व्यञ्जन जस्ता कुरा निकालेर निष्कर्षमा पुग्दैनन् । अनेक थोक निकालेर दन्त बजान गर्छन् । बादका बात गरेर राष्ट्रलाई घात गर्नेहरू यिनै हुन् । सोच्नुस् त तपाईका वरिपरि नेतृत्व गर्नेहरू यस्तै परिस्थितिबाट गुज्रिइरहेका त छैनन् ? जदौ ।
बेँसीशहर, लमजुङ
Subscribe
Login
0 Comments
Oldest









































