प्रेम ओली ढकलपुरेदसैँ
पोहर पनि आयौ
परार पनि आयौ
यस पाली त
कुनै हालत पनि नआउन भनेकोथेँ
फेरी पनि गर्वसाथ,
गडगडाहट गर्दै आयौ ।
आउने नै हो भने पनि
जनकपुरको रेल झै विस्तारै आउनु नि
तिमी त अल्लारे ठिटाठिटी झैं
ढकढकाहट नै आयौ
यदि आउने नै हो भने
पोहरको जस्तै बोइलर कुखुरा
र लोकल ठर्रा होइन
राँगो बोको र झक्कले खसी
ह्वीस्की बियर ल्याउनू ।
गत वर्षको जस्तो
रिण लगाउने होइन
टन्न रेमिट्यान्स लिएर आउनू
परारको जस्तो
फाटेको टोपी
टालेको सुरुवाल होइन
सर्वहाराका नेताको जस्तो
टाइसुट र विदेशी बुट ल्याउनू ।
पार्टी टुटे पनि
नेता फुटे पनि
जनतामा एकजुट ल्याउनू
भोको पेटलाई संविधानको के गर्ने ?
सक्छौ भने यस पाली आउँदा,
संविधानभन्दा पनि
शुद्ध मन्सुली धान ल्याउनू ।
अघिपछि जति महँगी बढाए पनि
कम्तीमा दशैंलाई
सस्तो भएर बजार भाउ छाउनु
तर आउँदा
काठमाडौंको सडक टाले जस्तो
टालटुले भएर नआउनू
लाउरेको झैं
तामझाम लिएर आउनू ।
तिमीलाई सक्थेँ भने त
फलामे बार लगाएर छेक्थेँ
जाली तार लगाएर रोक्थेँ
पैसा हुनेलाई तिमी खर्च गर्ने बहाना
पैसा नहुनेलाई त तिमी
दइतको घरमा बाबुराम पाहुना ।
त्यसैले
अझ सक्थेँ भने तिमीलाई
थुन्न चिडियाखाना नै लग्थेँ
धनीले नभए पनि
कमसेकम गरिबले ताली त ठोक्थेँ ।
अब आइ हाल्यौ, आउनू
सके खसी बोका
नसके ठूलै खसी भए पनि ल्याउनू ।
धेरै सन्तान पाल्न नै गाह्रो
धेरै जिउँदा चल्न नै साह्रो
त्यसैले
त्यो हजुरबाले दिने जस्तो
सन्तानले डाँडाकाँडा ढाक्ने
दाह्री जुँगा र घुँडाका रौँ पाक्ने
आशिरवाद पनि नल्याउनू ।
ससुराल जाँदा
बस भाडा उठ्ने गरी मात्र होइन
खल्ती दरो हुने गरी छाउनू
खसी बोका नसके पनि, ब्रोइलर होइन
कमसेकम लोकल कुखरा त खुवाउनू ।
दाङ, हाल– काठमाडौं
Subscribe
Login
0 Comments
Oldest






































