साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ढाँटको खेती

Nepal Telecom ad

फाँटको खेती भन्दा ढाँटको भेटी गतिलो भएपछि मेरा एकजना प्रधानाध्यापक मित्रले हलोकोदालो नै छोडिदिए । बारीमा वनमासा घारी झाङ्गिएको छ । उनको डिहीडाबर नाङ्गिएको छ । ढाँटको खेती मौलाएपछि उनको छालामा कास्मिरी स्याउको रङ्ग चढेको छ । गालामा भोगटे झुण्डिएको छ छातीमा सुन्ताला फलेको छ । कसरी मौलायो उनको ढाँटको खेती ? आउनुहोस् केही बेर उनको विषयमा चर्चा गरौं ।

विद्यार्थी गनेर स्कुलमा छात्रवृत्ति, किताब र मसलन्द आउन थालेपछि उनले विद्यार्थी संख्यामा कम्तीमा पनि दुईवटा शुन्य बढाउन थाले कार्यालयबाट हेर्न आउनेहरूमा बन्द खाम चढाउन थाले । ढाँटको खेती गर्न थालेपछि उनी यसका ज्ञातामात्र भएनन् परिवर्तन गर्ने विधाता नै भए । उनी शर्मालाई बर्मा बनाइदिन्छन्, बराललाई बराइली लेखिदिन्छन् र नेपाललाई नेपाली लेखिदिन्छन् र छात्रवृत्तिको भल सोझ्याउँछन् । रूपैंयाँ पैसाको भल बगेपछि स्वभाविक रूपमा बल बढ्ने रहेछ । उनी अचेल असली कर्मचारीको दाहिना भएका छन्, थाराहरूकाबीचमा लैना भएका छन् ।

साइकल थिएन घरमा अचेल मोटरसाइकलमा हावा खान्छन् उनी । कच्ची घर भत्काएर मार्वलचिप्स घसेको घर बनाएका छन् । विद्यालयलाई शुक्रबारे बनाएका छन् याने कि स“धैजसो आधा दिनमै बिदा दिने । यसो गर्दा शिक्षक पनि खुस, विद्यार्थी पनि खुस ।

विद्यालयको व्यवस्थापन पनि अजब गजबको छ । भित्री खोक्रो भएपनि बाहिर बोक्रो भएपछि त्यो सुन्दर हुन्छ भन्ने दृष्टान्त उनैले दिएका छन् । लगातार दुई वर्षसम्म व्यवस्थापनमा उत्कृष्ट भएर पुरस्कार उनैले जितेका छन् । सबैसँग हेलमेल छ उनको । पेशागत समूहको उनी ठूलै पदमा छन् । मन्तरीहरूसँग त उनको साप्ताहिक भेट हुन्छ । शिक्षाका कर्मचारीहरू सरुवाको मनुसुनमा उनीसँग भनसुनका लागि भेला हुन्छन् । जिल्लामा आउने सुविधाको बाँडफाँडकर्ता उनी स्वम् भएकाले अरू विद्यालयका प्रधानाध्यापक र शिक्षकहरू निगाह बक्सको सिफारिस गराउन उनैकहाँधाउँछन् । शिक्षाका माथिल्ला निकायहरूमा उनको जोर र स्वर दुबै चल्छ । घरिघरि अनुगमनको लागि उनलाई बोलावट हुन्छ । उनको भ्रमण आदेश घरमै आइपुग्छ, भ्रमणबिल कर्मचारीले आपैंm भरिदिन्छन् । उनी हस्ताक्षरमात्र गर्छन् । शिक्षाको समितिमा उनको नाम छ, जिल्लाका राजनीतिमा उनकै काम छ । असाध्यै व्यस्त छन् मेरा साथी ।

विद्यालय शुक्रबारे भएपनि उनको विद्यालयको एस.एल.सी परिणाम खराब थिएन । त्यसो त केन्द्र उनी आपैंm तोक्दथे र आफ्ना विद्यार्थी भएका ठाउँमा आफूले चाहेका केन्द्राध्यक्ष तोक्दथे । आफ्ना शिक्षक साथीहरूको योग्यतामा शङ्का लागेकाले उनी जहिलेसुकै अर्को विद्यालयको विषयवस्तुमा प्रखर शिक्षक साथीहरूलाई गार्ड बनाउँथे । यस वर्ष उनी प्रवेशिका परीक्षाको केही अघि विदेश भ्रमणमा गएका थिए । परिणामस्वरूप उनको कुशल व्यवस्थापन खट्कियो । न त केन्द्र उनले भनेजस्तो गरी तोकियो न त केन्द्राध्याक्ष र निरीक्षक नैं । परिक्षाफल निराशाजनक आयो । अर्थात उनले गर्ने खेती झैं शुन्य । उनी त भला अङ्कको पछि न शुन्य खेती गर्दथे, परीक्षाफल त शुन्यमात्र भयो ।

परीक्षाफल शुन्य भएपनि उनीमा कुनै खेदचाहिँ छैन । त्यसो त यसपाला उनी आधा दोष शिक्षा कार्यालयलाई दिन्छन् । पहिलो कुरा हाम्रा विद्यार्थीहरूलाई डिस्टर्ब हुने ठाउँमा पारिदिएछन् । दोस्रो कुरा, म नभएपछि उनीहरूको मनोबल यसै घट्यो । तेस्रो कुरा, यसपाला हाम्रा सबैभन्दा कमजोर र लफङ्गा विद्यार्थी थिए । अर्को वर्ष त फेरि टप गरिहाल्छन् । उनको बोलीमा कर्मचारीहरू पनि लोली मिलाउँछन् । यसअघि तीन पटकमात्र पुरस्कार पाएका उनलाई अर्को राम्रै पुरस्कार दिने सल्लाह भइरहेको सुनेको छु । म त उनलाई बधाइ ज्ञापन गर्न पो हिंडेको । यस्ता व्यक्तित्वलाई साथी भन्न पाउनु मेरो लागि अहोभाग्यको कुरा होइन त मित्र हो ?

‘भोकासुर’ सङ्ग्रहबाट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x