ललिता ‘दोषी’च्याम्पुटीे गीता
कति गर्नु बन्द झ्याल कति गर्नु ढोका
च्याम्पुटीको चर्तिकला देखेर छौँ रोका
कहिले आउँछ गीत गाउँदै झ्याप्ले झ्याप्ले भालु
कहिले आउँछ सिटी लाउँदै डल्लेडल्ले आलु ।
कहिले आउँछ लौकाजस्तो कहिले आउँछ मूला
केही भनौँ भने हजुर च्याम्पुटी छ छुरा
छदै थिए हीराजस्तै दुई प्यारा छोरा
सबै आई भनिरहे यी त हुन्छन् मोरा ।
छोरी बुझ्छे दुःखसुख छोरी हुन्छे साथी
छोरी भएको घरमा हेर हुँदैन है राती
केको बुझ्थी दुःखसुख केको हुन्थी साथी
मूला, लौका क्याक्यासँग हिँड्छे नाचीनाची ।
न त भयो घरको ख्याल न त हेरी समाज
गाजे, ट्यापे क्याक्यासँग छ है उसको जमात
कहिले जान्छे डिस्को नाच्न कहिले जान्छे होटेल
हीरै हुन्छे भन्थे छोरी भई रित्तो बोतल ।
हुस्की र ब्रान्डीसँग साटेकी छे जीवन
हेर्दा पनि लाज लाग्ने लाउँछे कपडा रिबन
दाजुभाइले सम्झाउँदा भन्छे गुन्डा लाउँछु
भएभरको सम्पत्ती म तिनैलाई ख्वाउँछु ।
फोनमै गर्छे लुछाचुँडी भन्छे नानाभाँती
तैँले छोडे के पो हुन्छ ? लाउँछु अरू ताँती
कहिले ल्याउँछे कालेलाई कहिले ल्याउँछे गोरे
च्याम्पुटीको तिनै भतुवा जीवनसाथी हो रे ।
कति फेरी जीवन साथी कति फेरी जुत्ता
जति फेरे पनि हजुर ! छँदै छैन सुर्ता
एउटाको कुबुद्धिले ढल्यो सिङ्गै घर
बूढा भए परमधाम छोरा गए पर ।
च्याम्पुटीझैं सबै हुन्नन् हुन्छन् छोरी सीता
मैले त च्याम्पुटीको गाएकी हुँ गीता ।
बुद्धनगर, काठमाडौँ
Subscribe
Login
0 Comments
Oldest






































