माणिकरत्न शाक्यउठ बस उठ बस
एकदिन मेरो नाममा रहेको फोन ठाउँसारी गर्नुप¥यो भनेर टेलिकमको कार्यालय चावहिलमा पुगेँ । घरकी जहान पनि त्यहीँ काम गर्ने भएकोले म उनकै कोठामा पसेँ र उनले देखाएको मेचमा बसेँ । उनी लागिन् नामसारीको काममा । त्यही कोठाभित्र उनका सहकर्मी भट्टजी पनि हुनुहुन्थ्यो । बरु ढुङ्गो बोल्ला म नबोलिकन बसिरहेँ । यसो बिचार गरेँ, आफ्नी जहानलाई जागीर दिने संस्था भएपछि ससुराली जस्तो भयो । ससुरालीमा धेर बोल्ने कुरा पनि भएन । ज्वाईंको पारामा बसिरहे । त्यहीबेला एकजना बौद्धतिरको मङ्गोल अनुहारको व्यक्ति आइपुग्यो । उसले मलाई यति काम गरिदिनुप¥यो भनेर एउटा कागज मतिर तेस्र्यायो ।
मैले भनेँ– म यहाँको होइन (भट्टजीतिर देखाएर) उहाँलाई दिनुस् ।
भट्टजी आफ्नै काममा व्यस्त हुनुहुन्थ्यो । ससुराली आएको मलाई तिनले आक्रोशित मुद्रामा भने– तपाईं यति काम पनि गर्नुहुन्न भने त्यो कुर्सीमा किन बस्नुहुन्छ (ठूलो ठूलो स्वरमा रिसाउँदै) उठ्नुस् ।
मैले पनि ठट्टा ग¥या होला भनेर उठिदिएँ । फेरि तिनले रिसाउँदै बस्नुस् भने बसिदिएँ । तिनको दिमागमा फेरि के भूत चढ्यो कुन्नि तपाईं बाहिर जानुस् भने, मैले एक शब्द केही पनि नबोलेर ठट्टा ग¥या होला भन्ने सम्झेर बाहिर गइदिएँ । त्यस कोठाभित्र ग्राहकहरूको आउने जाने क्रम जारी नै थियो । मलाई त्यो मान्छेले त्यति भनुन्जेल र गरुन्जेल भट्टजीले एक शब्द पनि बोलेनन् । आधा पाउको कानमा एकमाना तेल हालेर बसिरहे । त्यहीबेला घरकी आएर तपाईं किन बाहिर भनेर सोधिन् । मैले एकछिन अगाडि भएको घटना सविस्तार भनिसकेपछि उनी र म फेरि त्यही कोठाभित्र छि¥यौँ । त्यो मान्छे मलाई देख्ने बित्तिकै फेरि उफ्रियो– तपाईं बाहिर जानुस् भन्या सुन्नु भएन कि क्या हो !
एक त मेरी बूढीको कार्यालय, त्यसमाथि म उसको साख्खे पोइ, त्यस कार्यालयको सबैले मलाई राम्ररी चिन्ने भएकोले मैले मुखमा या’मानको भोटे ताल्चा लगाएर चुप्प लागिरहेको थिएँ । मेरो मौनब्रतले उसलाई झन् हौसला बढ्यो कि क्या हो झन् मच्ची मच्ची उफ्रन थाल्यो । तपाई चुप लाग्नुस् भन्दै बूढीले बेला बेलामा सम्झाइन् तर त्यसले माने पो । म पनि आखिर एक ग्राहककै रुपमा त्यहाँ पुगेको थिएँ । जहानले बस्नू भनिन् र म त्यहाँ बसेको थिएँ । हे भगवान् के आपत आइलाग्यो ।
म चुपचाप बसिरहँदा पनि त्यो मान्छे कराएको कराएकै गर्न थालेपछि मेरो पनि धैर्यको बाँध फुट्यो । मैले भनेँ–तपाईले मलाई चिन्नु भा’छ ? धेरै बकबक नगर्नुस्, एक फोन गरेर थुन्दिउँ ? भनेपछि बल्ल त्यसको मनमा पनि यो त केही हो कि क्या हो जस्तो लाग्यो होला अनि बल्ल चुप लाग्यो । मैले त्यसपछि पनि निकै फुर्तिफार्ती झिकेर तर्साए । अझ पनि त्यो मान्छेले मलाई ठूला ठूला आँखा पारेर खाउँला जस्तै गर्दैथ्यो । मैले पनि त्यहीबेला उसैलाई सुनाउँदै मलाई लरतरो सम्झ्या होला कस्ता कस्तालाई ठीक पारेको मान्छे पो त ! यसलाई पनि ठीक पार्न सकिन भने मलाई पनि मेरो बाउले जन्माएको होइन ल ! भन्दै रिसाउँदै भटभट्याएँ । त्यसपछि ऊ चुइँक्क पनि बोलेन ।
अचेल पनि चाबहिल टेलिकममा जाँदा त्यो मान्छे कतै फेरि भेटिने हो र मलाई उठबस् गराउने पो हो कि भनेर सतर्क भएर मात्रै कुर्सीमा बस्ने गर्छु ।
चावेल, काठमाडौं
Subscribe
Login
0 Comments
Oldest






































