अनिल कोइरालाअभियान नयाँ नेपालको
“जबदेखि उनलाई देखेँ तबदेखि जूनलाई देखेँ” भनेर कसैलाई जूनसँग तुलना गर्न मिल्छ भने मैले पनि ‘नयाँ नेपाल’लाई ‘हरकुरामा प्रगति भएको नेपाल’सँग तुलना गरेर के बिराएँ त ? त्यसै मलाई हकार्न पाइन्छ ? संसदखोर छिरेका माननीय जन्तुहरुले ‘नयाँ नेपाल’ कति डकारे भन्ने लेखाजोखा छ तपाइँसँग ? मैले सोझै हिसाबले गतिलो सपना देख्या त हो नि ! अब मेरो सपना सुल्टो या उल्टो के हुन्छ भन्ने कुरो तपाइँलाई के थाहा ?
लोकतन्त्र आएदेखि ठोकतन्त्रपट्टि खासै प्रगति हुन नसकेपनि अन्य बिविध क्षेत्रमा भुइँचालो आएकै हो भनेर ठोकुवा गर्न डराउनु पर्दैन । सालोको समेत पालो आएपछि भेनाको कालो धन सेतो हुन बेर लाग्ने कुरै भएन । नयाँ नेपालको काइदाको नमुना त हाम्रा अत्यन्तै सहयोगी, मृदुभाषी, हितैषी परममित्र भारत महाराजले दिनुभएको छ । उहाँले भौगोलिक हिसाबैले एकदम नयाँ बनाइदिएर ठूलो गुन लगाउनुभएको छ । हाम्रो जमीनमा खनजोत गरेर आफूलाई हरदम सहयोगी भावनाले ओतप्रोत भएको प्रमाणित गर्नुभएको छ । उहाँले परापूर्वकालदेखिनै हामीलाई गुन लगाउँदै आउनुभएको हो । हामीले पनि उहाँकै नुन खाइदिएर गुन तिर्दै आइरहेका छौँ । कहिले सीमा मिचेर त कहिले बाँध थिचेर, कहिले पेट्रोलियम लुकाएर त कहिले नेता झुकाएर गुन लगाउनुहुन्छ । कहिले हाम्रो निजी मामलामा विष घोलेर प्वाक्क बोलेर गुन लगाउनुहुन्छ । नेपालको नक्शै परिवर्तन हुनेगरी लगाएको हालसालैको गुन हामीले कुन सालमा तिरौँला ? ठिकै छ, तिर्न सके तिरौँला नसके पेट्रोलियमको व्याजमा जोड्दै लगौँला, हुन्न र !
नयाँ नेपालको अभियानमा भारतजस्तो मित्रराष्ट्रदेखि लिएर अमेरिकाजस्तो विचित्रराष्ट्र समेत लागिपरेकाछन् । हामी स्वयम् पनि अघि नसरेका भने होइनौँ । हामीले पनि दुनियाँलाई देखाउनु छ नयाँ नेपाल बनाएर । नयाँ नेपालको अभियानमा अग्रसर हुँदै हामीले पनि ‘लभ म्यारिज’ जस्तै आफ्नै इच्छा र बलबुतामा केही गरेका छौँ । हरकुरामा बा–आमा समान भारत र अमेरिकाकै आदेश पालना गर्नुपर्छ भन्ने छ र ! स्वनिर्णयको अधिकार त छ नि ! त्यसैले हामीले राजतन्त्रलाई वल्लोघाट न पल्लोतिरको बनाइदियौँ । त्यस्ता जाबा गणतन्त्र त अरु देशमा पनि छन् । त्यस्ता काइते लोकतन्त्र त अरुकोमा पनि छन् । त्यसैले हामीकहाँ न त लोकतन्त्र न त गणतन्त्र । विच्चको क्या ! न त पुलिङ्ग न त स्त्रीलिङ्ग भन्याजस्तो । नयाँ भएन त !
सानातिना नयाँ कुराहरु त भ«ष्टाचारी झैँ छ्याप्छ्याप्ती कति छन् छन् । लेखाजोखा भए पो ! आफ्नै वनजङ्गलका दाउरा प्रयोग गरेर आत्मनिर्भर बन्दै जाने बानी पार्न भनेर ग्यास मट्टीतेलको भाउलाई बाऊको तलब जति बनाइएको छ । बिना लाज, बिना घिन बिभागहीन मन्त्री समेत बनाइएको छ । मौसुफवादीहरुको समेत प्रतिनिधित्व हुने किसिमको बडो गजवले सरकारलाई आकार दिइएको छ । सप्पै सालाहरुलाई सेना बनाउने भेना निक्लिएका छन् । तपाइँ पनि नेपाली सेनामा जाने हो ? पाकेटमारको पनि चान्स हुनसक्छ । पछाडी ‘मार’ आउनेको निकै चान्स छ ! अझ संसदखोर छिर्ने मन छ ? दलित हो भने त सोझै हिसाबले भयो, महिला हो भने पनि बाङ्गोटिङ्गो हिसाबले भैहाल्छ । यदि दलित हैन भने पनि नआत्तिनुस् । यही गति लिने हो भने कुनैदिन दलित हुने पालो तपाइँकै आउनेछ । सबैले दल्न थालेपछि दलित । त्यसपछि फेरि तपाइँकै दिन खुल्नेछ । अहिले पनि दलितको नाउँमा टुप्पामा पुगेर फलित भएकाहरुको मात्रै हित हुने कुरामा विश्वस्त हुनुहोस र त्यहीअनुसार आफ्नो रोलनम्बर पत्तालगाउँदै जानुहोस् । पछि तपाइँको रोलनम्बर आउँदा “यस् सर… !” भन्नुहोला । हेर्नुस् त नयाँ नेपालमा कति सजिलो छ । सप्पैलाई मौका छ । चौका हान्ने नहान्ने इच्छा तपाइँकै । केही सीप नलागे दुईचारजना मिलेर सशस्त्र आन्दोलन गर्दिनुस् । गुण्डागर्दी गर्दिए पनि भो । उस्तै त हो नि ! एकदुईजना मान्छेलाई क्याक्क पारेर ठ्याक्क वार्तामा बसेपछि समानुपातिकको हिसाबले पक्कै तपाइँले सिट पाउनुहुन्छ । नपत्याए बाजी ठोकौँ । यो नयाँ नेपालको नयाँ संरचना र संस्कृतिले दिएको नयाँ तरिका हो ।
नयाँ नेपालको अर्को काइदा भनेको ज्योतिसशास्त्रको अचाक्ली प्रयोग । आफूखुसी भावी नेपालको राष्ट्रपति, राष्ट्रपत्नी, राष्ट्रछोरा, राष्ट्रछोरी उमेर सुहाउँदो मिलाएर जे भविष्यवाणी गर्दिए पनि भो । आफैले गराउने चुनावको भविष्यवाणी गर्न नसकेपनि अरुले गराउने चीजको भविष्यवाणी ठ्याक्कै गर्दिने । अर्कोतिर जातीय स्वशासन भन्दै विभिन्न जातजातिमा काटाकाट र मारामार । जसले जसलाई काट्न पनि पाइने भएपछि छुवाछुत प्रथा ठ्याक्कै हट्ने । जातीय हिसाबमा सङ्घीय बनाइदिएपछि बहुसङ्ख्यकले बहुमतको आधारमा जसरी लोकतन्त्र हाँके पनि भो । अल्पसङ्ख्यकलाई चपाएपनि भो, धपाएपनि भो । यी त भए मुख्य बुँदाहरु । अरु घस्यौटा बुँदाहरु त एक्काईसवटा भन्दा पनि धेरै छन् । रातारात हामी नयाँ नेपालमा प्रवेश गर्दैछौँ । खुसी पनि लाग्छ तर कहिलेकाहीँ कता कता भोलि बिहान उठ्दा हाम्रो प्यारो नेपाल चिन्नै नसकिने गरी एकाएक नयाँ हुने हो कि भन्ने चिन्ता पनि लाग्छ । आफ्नै देशलाई चिन्न सकिएन भने बित्याँस परेन ! तर जेसुकै भएपनि तपाइँ पनि आफ्नै ठाउँबाट र म पनि आफ्नै गाउँबाट देशको नाउँमा यो अभियानमा जुट्नुपर्छ बुझ्नुभो !
Subscribe
Login
0 Comments
Oldest






































