जीवन ‘पीडित’ दाहालअन्त्य
अकस्मात मेरा छातीको देब्रेतर्फ दुख्यो कसैले मेरो मुटुनै लुछेर बाहिर निकाले जस्तै गरि ।
त्यसपछि के भयो मलाई थाहा भएन तर जति बेर मैले थाहा पाएँ त्यति बेर मेरो शरीर घोप्टे परेर लडिरहेको थियो र मानिसहरूले मलाई पल्टाएर उत्तानो पार्दा असैह्य पीडाले आक्रमित छातीमा मैले दहिने हातले बेस्सरी थिचेरहेको रहेछु ।
मेरो अबस्था देख्नासाथ अनुभवीले भनेको सुनें– ‘गंगालाल अस्पताल–गंगालाल अस्पताल लैजाऔँ । हार्ट अट्याक भएजस्तो छ ।’
मान्छेहरूले मलाई देख्न सकेनन् र मलाई छोडेर मेरो शरीर एउटा बाहनमा हालेर दौडिए । सायद अस्पताल लिएर गए होला ।
अनि म अकस्मात प्रचण्ड गुरुत्वाकर्षणको बलले तानिएँ तर कता तानिएँ भनेर म बताउँन असमर्थ छु किन कि मैले मेरो शरीर छोड्नासाथ म समयरहित र दिशारहित भै सकेको रहेछु ।
तर असमर्थताका बाबजुद पनि म परमपिता परमेश्वरका अघि अपराधीलाई उभ्याइए झैं उभ्याइएको भने मैले थाहा पाएँ जहाँ परमपिता परमेश्वरका दायाँतिर जिसस मुस्कुराउँदै बसिरहनु भएको थियो । अनि मैले केही बोल्नु अगावै परमेश्वरले अनुचरलाई आदेश दिँदं भन्नु भयो– ‘यस फटाहालाई नर्क पठाउँनू, यसले स्वर्गमा हामीसँग बस्ने अधिकार पृथ्वीमै गुमाएर आएको छ ।’
परमेश्वरका बचनले मेरो मगज बेस्सरी हल्लियो अनि मैले नम्र भएर प्रश्न राखेँ– ‘मैले कसरी अधिकार गुमाएँ परमेश्वर ? मैले हिन्दुधर्म ग्रहण गरुन्जेल सांसारिक जीवन व्यतित गरेको भए पनि हिन्दुधर्मको परित्याग गरेर प्रभुका शरणमा आएपछिको मेरो सम्पूर्ण समय अर्थात जीवन हाम्रो धर्मको प्रचार गरेर र तपाईंको गुणगान गाएर व्यतित गरेको हैन र ? अनि मैले के अपराध गरेँ र मैले स्वर्गको अधिकार गुमाउँन पुगेँ ?’
‘अगाडि फर्केर गुणगान गाए पनि पछि फर्केर गाली गरिस् नि त त्यसैले ?’– परमेश्वरले रहस्यात्मक उत्तर दिए ।
‘कसलाई गाली गरेँ र प्रभु ?’– मैले आफूलाई बेहोस हुनबाट बचाउँदै प्रश्न गरेँ ।
‘ईश्वरलार्ई’– परमपिता परमेश्वरको उत्तर थियो ।
जुरोपानी–४, झापा
हाल, काठमाडौँ
Subscribe
Login
0 Comments
Oldest








































