साइबर अपराध सम्बन्धी सचेतना सामग्री

रुख र वानरको अवस्था

Nepal Telecom ad

रुख र वानरको सम्बन्ध अनादि कालदेखिकै हनुपर्छ । नभए पनि आदि कालदेखिको चाहिँ पक्कै हो । यसमा गलफति गर्ने कुरै आउँदैन । सृष्टिको शुरुवात प्रकृतिका स्थावर जङ्गमको रूपमा प्रकट भएको थियो रे । तिनकै शाखा सन्तानको रूपमा रुख बृक्ष झारपात, बोटविरुवा र पशु पंक्षीहरूका नानाथरि जाति उपजातिको क्रमिक विकासँगै बबुरो बानरको छाउरो पनि टुप्लुक्क देखा प¥यो यस विशाल धर्तीमा ।

शुरु शुरुमा विचरो वानर औधि सात्विक थियो रे । बन बुट्यान र काँडाघारीमा रेलिँदै र दरफरिँदै गरेर चुत्रो टिपेर फाँको मार्ने गर्दथ्यो । तर तित्राले जति डाँको हालेर जिस्क्याए पनि दबेटेर मारी खाने काम गरेन । पटेर भाmडीभित्र पसेर काँडासित नङ्ग्रा जुधाउँदै पहेँलपुर ऐँसेलु टिपेर उदरपूर्ति गर्ने वानरवृन्दले कालीज कोइली मजुर त के ढुकुर, भँगेरा र बट्टाइको वथानलाई समेत निमोठी मार्ने काम गरेन । जामुन, क्यामुनु, पैंदल, मैंदल, गुएँली, वडहर लगायत जङ्गली फलाहारबाट उदरपूर्ति गर्ने परम्परा कस्दै आएको वानर वंशमा आत्मनिर्भता र साधारण जीवन चर्चाको राम्रो उदाहरण फेला पर्दथ्यो ततिबेलम । ताडी अरख जस्ता मादक द्रवहरूसँगै परिचय समेत नपाएका वानर समुदायहरू कहिले काहिँ आकर्षक काँडादार फल देखेर धतुरोसम्म खाइ हेर्थे होलान । शिवकुबुटीको रमरम नशाले पालिएर आफ्नै जति कलहभित्र थोर कहुत अर्घेलो झिकेर रडाको मच्चाउने गरी हाले पनि अरु उनाउ जति वर्गका दार कलत्रमाथि धावा बोल्ने न कुनै छाडौँ पर्खाल चढ्ने कामसम्म पनि पाराले पराई आफन्त कतै जाई लाग्दैनथे । कहीँ कसैका छाउरा बचराहरू मूल्याहा निस्किई हाले पनि धुल्याहा कीराले काठ चपाए झैँ पुर्खा र दरसन्तानको इतिहास नै ढुटीमाटी पार्ने सुकार्य कहिल्यै भएन ।

प्रकृतिको काखमा खेलिरहेका वानर समुदायहरू भौतिक साधनमा पनि एक किसिमले सम्पन्न थिए । घामपानी छल्ने विशाल वटवृक्ष थियो कल्पवृक्ष भन्न सुहाउने । चर्को घाममा त्यसैको सियालमा शीतल हावा खाएर खेलवाड गर्दथे । दर्के झरीमा झम्म परेको त्यसै वटवृक्षको फेदमा जम्मा भएर ओत लाग्दथे । भोक र निद्राको आश्रयस्थल समेत त्यही बटवृक्ष थियो । आहारको लागि मौसम अनुसार नै कुनै छहारीमा वडरका फलहरू फ¥याक फुत्रुक झारी रहन्थे । कुनैमा वर र वडरका गेडा बटुली ओइरिएर भुइँमा थुप्रो लाग्दा विचरो वानरवृन्द टिप्नै नभ्याएर विलखबन्द पर्दथ्यो । कतै डुम्रीका दाना डाँडैभरी लटरम्म देखिन्थे त कतै लिची, आँप कटहर र मेवाका दानाहरूले खाना खजानाको खण्डार भरिएको हुन्थ्यो वानर वृत्तहरूका लागि । फलाहारको निरन्तरको सेवनबाट वानर वंशमा सत्व गुण र सत्य निष्ठाको अचम्म लाग्दो समिश्रण देखिन्थ्यो । यसरी निरन्तर सात्विक दाना पानी र सफा हावापानीमा हुर्किदै बढ्दै गएको वानर वंशमा एक्कासी कुन खाले आततायी विजाणुले प्रवेश गरेछ कुन्नि ? केही समयपछि ढेडुहरू अनायास पात्तिएर फलफूलका बोट विरुवाहरूमाथि राइँदाइँ गरेर उफ्रिन थाले । काँचै मेवा कोपरेर सत्यानाश पार्न थाले । भर्खर गेडा लागेका अम्बा बडरको चिचिलैमा उछितो काडिने भयो । कोयै नपसेका आँप लिची कटहर र हलुवावेतका कलिला पत्रहरू वानर नेतृत्वको टुप्पा टुप्पा विचरण गर्ने प्रशिक्षण कार्यक्रमको प्रतिफल बनेर धर्तीभरी धराशायी बने । फूलफूलैका जुनार सुन्तला र फल लाग्दैका कटर मेवा गुएँलीले चिचिलैमा चिहान पुगेर विश्राम लिने अवस्था आयो । फलस्वरूप काँचा कचिला फलाहारले कतिपय वानर–बालकहरूको पेट पखालामा पग्लियो । दाँत फुक्लिएका कतिपय वृद्ध बृद्धाहरू काँचो कचिलो चपाउन नसकेर भोकले ठहरै हुने अवस्थामा पुगे । कतिपय वलिया बाङ्गा ढेडु युगलहरूले ऊ भन्दा उच्च बढी हसुर्नै हतारमा हाँपझाप गर्दै आपसी लुछाचुँडी र मल्ल युद्धको सूत्रपात गरे । फलस्वरूप सवै बोट विरुवाहरू वानर वृन्दको बेकाइदाको प्रताडनाबाट फूल चिचिला र पालुवा विहीन उजाड बन्न पुगे, वानर बथानले आफै खाद्य भण्डार बेमाख पारेर अलि दिनमै वानरवृन्द फेरि भोक प्यासले रन्थनिन थाल्यो ।

साँच्चिकै वानर वृन्दको लागि बन जङ्गल, वाग बगैँचा सबै खाले वस्तीहरू बसिनसक्ना भए । आहराको कमी, जनसङ्ख्या बृद्धि दुवैको एकासाथको प्रगतिको वानर वंश अधोगतिको शिकार बन्दै गयो । अनि बाध्यतावस आफ्नो वस्ती छोडेर गाउँ शहरतिर पस्न थाल्यो ।

यता बस्नै नहुने बनाएर वानरले छोडेको बन बुट्यान उजाड र कुरूप थियो । उता वानर वृृन्दहरू हूलका हूल वनेर सतिदेवीको वियोग व्यथा पीडित शिवजीको ताण्डव नृत्यको सिको गर्दैै गाउँ शहर पसेर ताण्डव लीला देखाउन थाले । गाउँ पसेका वानरहरू लाजै नमानी पाँसुला पसारेर आँगनमा सुकाएको विस्कुन बेस्करी हसुर्न थाले । कतिले गैरी खेतमा झुलेका धानका बाला सुर्कदै र हत्केलामा माड्दै चपाउन थाले त कति चाहिँ लर्किएका कात्तिके बोडी र मास र मस्याङका कोसा छोडाएर फाँको मार्न उद्यत भए, कति त गाउँले विरालोको सिको गर्दै घरघरै जस्केला र सिकुवाबाट छिरेर दहीका ठेकी र दूधका कराही स्वाट्टै पारेर सुकाउन थाले । अनि कौशी धुरी र चोटा कोठा चाहारेर सोझा साझा गाउँले जन समुदायलाई हर्काउन थाले । साँच्चै यतिबेर गाउँ पसेका वानर सेनाहरू परम्परादेखि बसोवास गर्दै आएका सरल र सज्जन गाउले समुदायलाई बनीवास गराउन उद्यत देखिए ।

उता सहर बसेका वानर समुदायले अर्कै उधुम उत्पात मच्चाएका छन्, धेरै दिन देखिको भोक एकै छिनमा मार्ने झोकमा कतिपयले सिमेन्टका बोरै निल्न थालेछन्, तिर्खाएको झोँकमा सौचालयको ढल मात्र होइन पेट्रोल डिजेलका ट्याङ्करै पिउन थाले कि त । कतिले आकाश बाँधेर विद्युत तरङ्ग र हावाका छालहरूलाई ठाडै निलेर ढाडिदै तेर्सो पखाला गर्न थाले । कतिले नदी नाला थुन्ने कुटुनी बृद्धि झिकेर उत्पात मच्चाए भने कतिले हिमाल पहाड उधिनेर समतल मैदान बनाउने ब्वाँसो बुद्धि झिकेर भ्यागुता गँगटा मात्र होइन बिच्छी सर्प नै चपाउन बाँकी राखेनन् । अस्तिसम्म सात्विक प्राणीको उदाहरण बनेको वानर वृन्दले खानु नखानु सवै खाएर गाउँ सहर बेमाख पारीदियो, पिउनु न पिउनु सवै धोकेर नाला पोखरी सुकाइ दियो । नदी खोलाहरूको मूलै दबाइदियो । गर्नु न गर्नु सवै गरी छाड्यो तर यतिञ्जेल अरु जहाँ जहाँ जे जे गरे पनि बसोबासको लागि भने आफ्नै परापूर्वकाल देखिको आश्रय स्थलरूपी रुखलाई छाडिहालेको थिएन ।

अपच्तो खानु पिउनु गरेर मात्तिएका वानर वृन्दहरू एकदिन उन्मादले भरिएर आफ्नै आश्रयस्थल बन्दै आएको विशाल वटवृक्षमाथि साङ्घातिक तरिकाले हमला गर्न थाले । सवै मदोन्मत्त थिए । सवै हिंस्रक र पाखण्डको प्रतिमूर्ति जस्ता लाग्दथे । रुखमाथि उन्मादपूर्ण हमला शुरु भयो । छाउरा वचेराहरूले टुप्पा चाहारेर रुखका मुना पालुवाहरू निमोठिदिए । बृद्ध वनिताहरूले सेउला पात टिपेर वटवृक्षको चीर हरण गरी दिए । पात सेउला विहीन रुख नाङ्गो कुरूप देखियो । बलिया बाङ्गा भनौ युवा युवतीहरूले बोक्रा खुइल्याउने र भुइँ खोस्रिएर जरा उधिन्ने कार्य सम्पन्न गरेर र कल्पवृक्षको स्थावर शक्तिलाई अत्यन्त कमजोर पारी दिए । फलस्वरूप रुख सिक्रो भयो र खङ्गुङ्ग सुकेर उराठ लाग्दो देखियो । तपस्वीमाथि पापात्माहरूको स्पर्श प्रहारले भएको आघातले थरथर काम्दै वृद्ध वटवृक्ष लम्पसार बन्ने अवस्थामा पुगी सकेछ ।

आफ्नै आश्रयदाता वटवृक्षको यस्तो दारूण अवस्था देखेर पनि चित्त नबुझेका नेतृत्व पङ्क्तिका वानर वृन्दहरू अझै सशक्त प्रहार गर्ने इरादाले बुढो वटवृक्षमाथि आइलागे । कसैले टोड्का ठूटामाथि बसिला चलाए । कसैले बञ्चरो प्रहार गरेर हाँगा गिँडे । अझै उपल्लो तहका ढेडुहरूको चित्त बुझेन छ क्यार, उन्मादले भरिएर बरबराउँदै फेदैसँग बर्मे आरो चलाउन थाले । फलस्वरूप अधिसम्म आश्रयदाता बनेको विशाल कल्पवृक्ष ठुटामूढामा टुक्रिँदै गल्र्याम्म दलेर धराशायी बन्यो । त्यही वटवृक्षका हाँगा ठूटाहरूमा आगो झोसेर वानर वृन्दहरू न्यानो तापेर अपानवायु त्याग गर्दै थिए । सवै वानरहरू कल्पवृक्षको अवसान महोत्सव मनाइरहेका थिए ।

नयाँ वानेश्रवर, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
यमयात्रा

यमयात्रा

नरेन्द्रराज पौडेल
आन्दोलनका फुरौला !

आन्दोलनका फुरौला !

नरेन्द्रराज पौडेल
मालाको कमाल

मालाको कमाल

नरेन्द्रराज पौडेल
बिर्ता बजार

बिर्ता बजार

नरेन्द्रराज पौडेल
काले र भाले

काले र भाले

नरेन्द्रराज पौडेल
जादूको मिटर !

जादूको मिटर !

नरेन्द्रराज पौडेल
0
Would love your thoughts, please comment.x
()
x