मुकुन्द आचार्यनेता बन्नुभन्दा किन्नुमै शुभलाभ
एकजना दुई नम्बरी सेठजीलाई नेता बन्ने रहर पलाएछ । राजनीतिमा योग्यता क्यै नचाहिने र पावर, पैसा, पद सबै पाइने भन्ने परम सत्यको बोध उनलाई अनायास भयो । बुद्धलाई पिपलको बोटमुनि परम सत्यको बोध भएको थियो । सेठलाई गमलाको मनिप्लान्ट मुनि बस्दा बोध भएछ ।
उनले आफ्ना परम विश्वसनीय मुनिमजीसँग यसबारेमा सरसल्लाह गरे । मुनिमलाई भने यो कुरा पटक्कै मन परेन । राजनीतिमा लागेर सेठजी नेताजी भए भने क्या हो क्या हो । म जस्तो लुम्रेझुम्रेलाई के राख्थे । सुटमा टाई बाँध्ने निजी सचिव पो राख्ने हुन् कि ।
अनि मुनिमजीले सेठलाई सम्झाए– सेठजी, नेता बन्नुभन्दा त नेता किन्नमा फाइदै फाइदा छ । चुनाउ लड्नु भन्दा चुनाउ जित्ने उम्मेदवारलाई १०, २० लाख चुनाव खर्च दिए त काम फत्ते भै हाल्यो । विद्वान्हरूले भनेका छन्– चुनाउ फोहोरी खेल हो ।
सेठलाई शङ्का लाग्यो– ‘अनि चुनाउको रेसमा जित्ने घोडा यही हो भनेर कसरी चिन्ने नि ?’
त्यति जावो कुरा त पत्रपत्रिकाले गरेको भविष्यवाणीबाट पनि थाहा पाउन सकिन्छ ।’ अकवरलाई वीरवलले तात्तातै जवाफ दिए जस्तै मुनिमले पनि हाजिर जवाफी देखाए ।
सेठजीले पनि जोड घटाउ गर्दा नेता बन्नुभन्दा त नेता किन्नुमै शुभलाभ, रिद्धि सिद्धि सबै देखे । अनि भ्याटलाई नदेखाउने खातामा “बीस लाख चुनाउ खाते” भनी लेखे अनि सन्तोषपूर्ण लामो सास लिए ।
बारा– हाल, थानकोट काठमाडौं
Subscribe
Login
0 Comments
Oldest








































