साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जुनीभरिको प्रेमपत्र

Nepal Telecom ad

मेरी हृदयकी साम्राज्ञी मौलश्री,
अन्तिम पटक प्रेमपूर्ण सम्झना !

आराम छु, तिमी पनि मझैँ छ्यौँ भन्ने आशमा छु । आज म सबथोक हुँ, किनकि अन्तिम पत्र लेखिरहेको छु । म छु यहाँ, तिमी छ्यौ त्यहाँ । सरकार छ उहाँ, भोकमरी छ जहाँतहाँ । खबर छ मकहाँ, महङ्गी छैन र कहाँकहाँ ? तिमीकहाँ पनि त्यही होला, मकहाँ पनि यही छ । अतः महङ्गीले शिखर चुमेपछि, हाम्रो प्रेमले पनि शिखर नचुम्ने कुरै आएन । शिखर छुनुको अर्थ अब अर्को ठाउँ छैन । अब जाने र पुग्ने अर्को ठाउँ छैन । अब प्रेम प्रकट गर्नु छैन । अरू–अरू पत्र लेख्नुको कुनै सार्थकता छैन ।

सदाझैँ यस सरकारले पनि गौरवमय परम्परालाई अक्षुण्ण राख्यो । हामीलाई चाहिँदा/अचाहिँदा सबै वस्तहरूको भाउ बढायो । सरकारसँग पौँठेजोरी खेल्दै निजी संस्थाले पनि अखबारहरूको मूल्य शतप्रतिसत बढाए । बढाबढ गर्दागर्दै अब बढाउने ठाउँ नै रहेन । तिमी पनि बढ्यौ, म पनि बढेँ । बढ्दाबढ्दै हामी शिखरमै पुग्यौँ । र, पो आज अन्तिम प्रेमपत्र लेखिरहेछु । अन्तिम पटक प्रेम प्रकट गरिरहेछु ।

प्यारी मौलश्री ! धन्दा नमान । पछि पनि म पत्र भने लेख्नेछु तर पे्रमपत्र लेख्ने छैन । प्रेम प्रकट गरेर शिखरभन्दा उँभो लाग्नुछैन । अबका पत्र व्यापारिक प्रयोजनका हुनेछन् । खास कामका हुनेछन् । अबका विचार कामका हुनेछन् । फजुल खर्च गरेर प्रेमस्रेम प्रकट गर्ने युग विदा भयो । प्रेम प्रकटको जमाना रहेन । जे चाहना थियो, त्यसलाई पनि विदावारी नगरी भएन । मेरा यसखाले वाध्यताहरूलाई समझदार बनेर सम्झने छ्र्र्यौ भन्ने आशा र भरोसामा छु । साथै, अलिखित रूपमै प्रेम प्रकट भएको महसुस गर्नेछ्यौ । लेखेरभन्दा नलेखेरै, गरेरभन्दा नगरेरै अनि भनेरभन्दा नभनेरै प्रेम प्रकट गर्ने चलनको विकास गर्ने गराउने छ्यौ । यस्तै यस्तै मनोद्गार व्यक्त गर्दै तिमीलाई पठाउने अन्तिम प्रेमपत्र तयारमा कागज रङ्ग्याउन र मसी खर्च गर्न खोज्दै छु । आज अन्तिम प्रेमपत्र कोर्दै छु ।

सरल युग थियो । आम्दानीसँग महङ्गी समायोजन हुन्थ्यो । त्यसैले प्रेम प्रकट गर्न सरल थियो । खर्चले धान्ने खालको थियो । अब आम्दानी चाहिँ जहिँको त्यहीँ छ, खर्च भने कहाँ छ, कहाँ ! आम्दानी फेदमा छ, वस्तुको मूल्य भने टुप्पामा छ । आम्दानी टुप्पामा नपुगी खर्चको समायोजन गर्ने एउटै बाटो छ । त्यो हो– चुपचाप सहिरहनु । चुपचाप हेरिरहनु । चुपचाप भोगिरहनु । यही अचूक अस्त्र अपनाउने निर्णय लिँदा तिमीलाई प्रेमपत्र लेख्न बन्द गर्ने निर्णय लिएको हुँ । तिमीलाई पठाउने पत्रका लागि कागजको मूल्य बढ्यो, मसीको मूल्य बढ्यो । हुलाक खर्च आकासियो । मैले पनि आफ्नो समयको मूल्य बढाएँ । मैले पनि आफ्नो प्रेम प्रकटको आकार घटाएँ । सबै कुरामा बढाएर कहाँ समायोजन गर्न सकिन्छ र ! मिलनबिन्दु भेट्न माग र पूर्तिका बीच अन्तरक्रिया हुनैपर्छ । त्यसबाट नै बाँच्न सकिन्छ, त्यसबाट नै टिक्न सकिन्छ । मैले टिक्नुछ । अतः मैले युगबाट सिक्नुछ । तिमीले पनि बुझ्नुछ । अनि कार्यमा ढाल्नुछ । म अर्को प्रेमपत्र लेख्न चाहन्न ।

हेर मौलश्री ! जमाना बदलियो तर चाहना बदलिएको छैन । जमानाअनुसार चल्न नसक्ने मान्छे काम नलाग्ने भएको छ । म पनि त्यसकै अनुयायी भएको छु । अब म चिठ्ठीको सट्टा पोष्टकार्डमा लेख्ने भएको छु । फेरि तिमी नै भन त ! प्रेम, प्यार, सम्झना, चुम्बन ! यी अनावश्यक शब्द चिठ्ठीमा उल्लेख गर्नुको अर्थ ठाउँ ओगट्नु मात्रै हो । मसँग धेरै ठाउँ हुन्न, धेरै मसी हुन्न र धेरै समय पनि रहन्न । यी अनाश्यक शब्दलाई आवश्यक बनाएर म तिम्रो अन्तःस्करणमा धक्का पुर्याउन चाहन्न । म अर्को प्रेमपत्र लेख्न चाहन्न ।

‘म कुसल छु र तिमी पनि कुसलै छ्यौ भन्ने आसमा छु ।’ भनेर लेख्दा केके वित्छ, त्यो तिमीलाई पनि थाहा छ । हेर मौलश्री ! म र तिमीमा धेरै अन्तर छ । निक्कै मात्रामा भौगोलिक दूरी छ । हरेकका आ–आफ्ना शारीरिक व्यथाहरू छन् । कुनै भित्र दबिरहेका छन् । कुनै बाहिर प्रकट अवस्थामा छन् । फेरि, महङ्गीको महासागरमा पौडिरहनु पर्दा को पो कुसल रहन सक्ला र । यता फर्कंदा पनि पोल्छ, उता ढल्कँदा पनि पोल्छ । यस्तो पीडादायी क्षणमा कुसल रहेको ढोंग रच्ने मन छैन । र, व्यक्त गरेर सबैका सामु बुझक्कड हुने मन पनि छैन । भो म फेरि प्रेमपत्र लेख्न चाहन्न ।

मौलश्री ! ‘तिम्रो पत्र पाएँ, अघोरै खुशी भएँ ।’ जस्ता आकासकुसुम कुरा लेखेर म सत्यको खिल्ली उडाउन चाहन्न । सत्यको रङ्ग बेग्लै हुन्छ, उज्यालो हुन्छ । असत्यको रङ्ग कालो हुन्छ, अँध्यारो हुन्छ । म सूर्यलाई बादलले छोपोस् भन्ने चाहन्न । बादललाई सूर्यले छिन्नभिन्न पारोस् भन्ठान्छु । म मनको बेखुशीलाई उदाङ्गो पारेर संसार हँसाउन चाहन्न । असत्यको सिँढी चढेर भूलको महाजालमा फँसाउन पनि रुचाउँदिनँ । तिम्रो पत्र पाएँ पनि, पाएँ भन्दिनँ । नपाए पनि गुनासो पोख्दिनँ । म बर्बादीमा फँस्न चाहन्न । महङ्गीको युगबाट अछूतो रहन सक्दिन । म अर्को प्रेम पत्र लेख्न चाहन्न ।

‘तिम्रो यादमा बाँचिरहेको छु ।’ भन्ने जस्ता कपोकल्पित कुरा लेख्ने भूल मबाट हुने छैन । फेरि श्रीमान् त मेरो धेरै याद गर्दो रहेछ, भेट गर्न जानुपर्यो भनी यहाँ आइपुग्यौ भने अर्को आपत पर्छ । मैले आफूलाई जुन व्यवस्था गरेको छु, त्यसमा दखल पर्न नजाओस् । एक जनाको व्यवस्थापनमा अरू थपिँदा कस्तो आपत पर्छ, त्यो त मलाई मात्र थाहा छ । म बाहेक अरूलाई थाहा हुन ती मझैँ किचिएका, थिचिएका र पिल्सिएका हुनुपर्छ । संसारको रीत नबुझी हुन्न । म अर्को प्रेमपत्र लेख्न चाहन्न ।

मौलश्री ! अर्को कुरा ‘आफ्नो स्वास्थ्यको ख्याल गर ।’ भनेर भन्ने जोखिम उठाउन समेत म चाहन्न । त्यसले एक किसिमको उल्झन ल्याउँछ । म आफ्नो पत्रलाई स्वास्थ्य शिक्षाको ग्रन्थ बनाउन चाहन्न । साराका सारा स्वास्थ्यकर्मीहरू र औषधी पसलेहरूको मन खल्लो हुने अवस्था दिलाउँदिन । कसलाई पो अस्वस्थ हुने मन हुन्छ र ! कसलाई पो धन सञ्चय नगरूँ भन्ने हुन्छ र ! म अरूको मन कुड्याउन चाहन्न । म अर्को प्रेमपत्र लेख्न चाहन्न ।

प्रेमस्रेमको चर्चापरिचर्चामा दिमाख गिजोल्न चाहन्न । पोष्टकार्डमा लेखिएका मेरा प्रेमोद्गार ऐरेगैरेले पढेर, बुझेर खिल्ली नउडाऊन् भन्ने कुरामा म सचेत छु । तिम्रा माइती खलकले पढेर हल्कारूपमा मूल्याङ्कन नगरून् भन्ने चाहन्छु । अतीतलाई सम्झेर वर्तमानको पीडालाई भुल्न खोज्दिन । वर्तमान जस्तो छ, त्यसलाई त्यहीरूपमा भोग्न चाहन्छु । नदुखेको कपाल दुखाउन चाहन्न । म अर्को प्रेमपत्र लेख्न चाहन्न ।

मौलश्री ! ‘शेष कुराका लागि तिमी नै जानिफकार छ्यौ ।’ भन्ने कुरा अवगत गर्ने मेरो विचार ठ्याम्मै हुन्न । आजसम्म मैले भनेका एउटै कुरा पनि तिम्रा लागि पच्य भएका छैनन् । मान्य ठहरिएका छैनन् । मेरो सोच तिम्रो सोच हुन सकेको छैन । मेरो कुरा तिम्रो हुन पाएको छैन । म गर्छु आग्राको कुरा तिमी गर्छेयौ गाग्राको कुरा । मेरो सत्यलाई असत्य देख्छ्यौ । मेरो कर्तव्यलाई बन्धन सम्झन्छ्यौ । मेरो कामलाई बदनाम ठान्छ्यौ । मेरो व्यक्तित्वलाई मगन्तेको जीवन बुझ्छ्यौ । मेरो बचत प्रवृत्तिलाई मख्खिचुसको लीला ठहर्याउँछ्यौ । म पूर्व फर्के तिमी पश्चिम हेर्छेयौ । म आनन्दित भए बेचैनमा पर्छेयौ । भो अब भो अरू भूल गर्ने छैन । कसैको मनको तीतो बन्न चाहन्न । म फेरि अर्को प्रेमपत्र लेख्न चाहन्न ।

यस्तै भइरहे, यस्तै सहिरहे अवश्य केके पर्ला पर्ला ! सरकार नै पतिपत्नीको प्रेममा तगारो हाल्ला । नबल्ने आगो पनि हुरहुरी बल्ला । बादलविना नै घनघोर पानी बर्सला । हेर तिमी नामकी मात्र श्री हौ, कामले त पिचिरी नै हौ । त्यसैले सुदामाको झैँ आत्मियता त तिमीमा छैन, मात्र दरिद्रता छ । हो, तिम्रो मनझैँ सरकारको मन भो । दिनानुदिन मूल्य बढाएर केके पार्ने भो, भो । भोकै राख्ने भो । नाङ्गै पार्ने भो । हुने नहुने सबै एकै पटक ल्याउने भो । भो अब भो, कलमलाई दुःख दिन चाहन्न । अरू कुनै प्रेमपत्र लेख्न चाहन्न । धन्यवाद !

तपेश्वरी–१, गल्फडिया, उदयपुर
हाल : महावीर मावि, विषहरिया–४, सप्तरी ।

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
बाजी

बाजी

नन्दलाल आचार्य
छलकपट

छलकपट

नन्दलाल आचार्य
आधुनिक नेता चालिसा

आधुनिक नेता चालिसा

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x