साइबर अपराध सम्बन्धी सचेतना सामग्री

महान् कार्य

Nepal Telecom ad

हाम्रा महान् मन्त्रीहरूका महान् कार्यहरूका बारेमा तपैँलाई जानकारी त होला नै ! वाँ हेनुस् त कत्रा ठूला र बहादुरीका काम पो गर्नु भा’छ त हाम्रा वीर, बहादुर मन्त्रीज्यूहरूले ! हुन त वाँहरूको काम कुराको बखान गरिसाध्ये भए पो ! साँच्चै बेलाबेलामा यस्ता उदाहरणीय काम गरेर वाँहरूले सर्वसाधरण मानिसलाई चैँ आश्चर्यचकित नै पारिदिनुहुन्छ बा !

अनि वाँहरूका काम कुराका बारेमा देखेर, सुनेर जनताजनार्दन चैँ कस्ता महान् र सुयोग्य व्यक्तिलाई आफूले भोट दे’र जिता’र देशको हर्ताकर्ता बना’र पठा’छौँ नि बाबा ! भनेर दङदास पर्दै खुसीले गदगद हुन्छन् । अनि यस्ता पुरुषार्थी नेता, मन्त्रीजीहरूको गुणगान गाउँदै आफूलाई साह्रै भाग्यमानी ठान्छन् । था त पाउनै भो होला यस्तै केही सम्माननीयजीहरूले उद्घाट्न, विमोचन जस्ता अरूले गरेर हुँदै नहुने अति महत्वपूर्ण कार्यहरूलाई थाती राख्दै ताँती लागेर हुनुनुनु हेलिकप्टरमा चढी झाडापखालाले महामारीको रूप धरेको दुर्गम गाएँको ठ्याक्कै माथिको आकाशाँ पुगी आप्mनै आँखाले गाउँ र घरको छानाको निरिक्षण गर्ने कृपा गरेर बिरामी र तिनका आफन्तलाई कृतार्थ पारी ठूलो पुन्य कमाउने मौका गुमाउनु भ’न । अब भन्नुस् त हाम्रा नेता, मन्त्रीबाहेक अरू कसैले गर्न सक्छन् यस्तो सर्वहितकारी अति कठिन कार्य ? साँच्चै ती दुगर्म गाउँका गरिब बिरामी कत्ति भाग्यमानी र’छन् हगि ! जसको गाउँको अवलोकन गर्न मन्त्रीजस्ता त्यत्रा ठूला मान्छेले आफैँ हेलिकप्टर चढी उनीहरूकै गाउँको आकाशमा पुग्ने कष्ट गरे ।

महामारी फैलेको चौमास पनि नबित्दै मन्त्रीज्यूहरू आफैँ बिरामीहरूको गाउँको वायुमण्डलाँ वायुयानाँ विराजी विचरण गरेपछि त्यो जाबो औषधि सौसधि र डाक्टर किन पो चाहियो र ? यस्ता महान् व्यक्तिहरूले त टाढैबाट दूरबिनले हेरि’दे मात्र भने पनि रोगी, गरिब, असहायहरूको रोग, भोक, शोक जस्ता मामुली कुरा सबै ‘छु मन्तर’ भै हाल्छ नि !

रोगीलाई हेलिकप्टरको आवाज र मन्त्रीको आगमनको खबरले पो ठीक पार्छ त, डाक्टरले, औषधिले हो र ? बिचरा ! नेता, मन्त्रीज्यूहरूलाई पो ‘हाच्छ्यूँ’ आयो भने पनि वाँहरूको गाथमा ठूलो असर पार्छ । त्यसैले राष्ट्रिय ढुकुटीबाट जाबो लाखौँ, करोडौँ निकासा गरेर विदेशतिर उपचारका लागि दौडाउनुपर्छ त ! वाँहरू भनेको ठूलो मान्छे ! ठूलो मान्छे भनेको मान्छ्यै ठूलो, रोगै ठूलो र यस्ता ठूला महान्, त्यागी, निश्वार्थी, परोपकारी मान्छे नभए त हाम्रो देशको हालत यस्तो राम्रो हुँदै हुँदैनथ्यो अनि वाँहरू नभएपछि नयाँ नेपाल कसरी बन्थ्यो र ?

वाँ देशका सबैभन्दा ठूला मन्त्रीले पनि रोगको महामारीले गाएँ सखाप हुनु अगाडि नै घुम्ने मेचाँ बिराजेर ‘झाडापखाला नियन्त्रण गर्नू’ भनेर सम्बन्धित् निकायलाई आफ्नै मुखारबिन्दबाट ठूलो आदेश दिने कष्ट गरिसक्नु भा’छ । खच्चडलाई बोकाएर औषधि पनि लगिँदै छ रे ! डाक्टरसाक्टर चैँ लुखुरलुखुर हिँड्दै जाँदै होलान् । उनीहरू नपुगुन्जेल खच्चडले पुर्याको औषधि बिरामीहरू आफैँ निकाल्दै जुन हातमा पर्छ त्यही क्वाप्प खाँदै गर्छन् नि ! याँ भन्दा बढी के गर्नु पर्यो त सर्कारले ? बिचरा मन्त्रीजीले त गरिब रोगीका लागि सातौँ पुस्तासम्मलाई पुग्ने गरी कुस्त गरेका छन् है ! ती मरेकाहरू बेलैमा औषधि उपचार नपाएर मरेका त पक्कै हैनन् होला । ती त मन्त्रीज्यूहरूको आगमनको खुसी खप्न नसकी ‘हर्ट अट्याक्’ भएर पो मर्या होलान् । फेरि दुई चार सय गरिब मर्दैमा के नै पो हुन्छ र ! झन यसले त सरकारको गरिबी र गरिब उन्मूलन कार्यमा सहयोगै पुुर्याउँछ नि, हैन त सम्माननीय मन्त्रीज्यू ?

त्यसैले मित्र ! आउनुस्, हामी सबै मिलेर यस्तो उदाहरणीय कार्य गर्ने महान् नेता, मन्त्रीजीहरूको कामको कदर गर्दै कृतज्ञता ज्ञापन गर्न भव्य कार्यक्रमको आयोजना गरौँ जसले गर्दा सबैलाई यस्तै महान् काम गर्ने सद्बुद्धि र प्रेरणा मिलोस् ।
काठमाडौं

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
मोबाइल महिमा

मोबाइल महिमा

सुमी लोहनी
कठैबरा !

कठैबरा !

सुमी लोहनी
बाका बथान

बाका बथान

सुमी लोहनी
0
Would love your thoughts, please comment.x
()
x