शेषराज भट्टराईशुभलाभको खेल
रुखको जरोलाई टुप्पोले वास्तै गर्दैन । जब जरो हल्लिन्छ वा उखेलिन्छ तब टुप्पो, हाँगाबिँगा, सब सुक्न थाल्छन् । मान्छेले पनि आफ्नो जरो भुल्न सक्छ, आफ्नो हैसियत बिर्सन सक्छ, त्यसैले पछाडि फर्किएर आफ्नो पूर्वावस्थाको जानकारी दिँदै गरे अलिक सुध्रिन्थे कि, द्रव्यपिचास हुनबाट हच्किन्थे कि भन्ने हेतुले यी हरफहरू कोरिएका छन् ।
यायावर मान्छेको विकासक्रममा मान्छे भन्न मिल्ने मानवको पहिलो अवस्थालाई क्रमशः प्राक्चेलियन, चेलियन, अश्योलमानव, त्रिनिलमानव वा जावा मानव, पेकिङ्ग मानव, वेद्या मानव, हाइडेलवर्ग मानव, मुस्तेर मानव, ओरनेक मानव, क्रोमेओ मानवकै उपजातिको रूपमा ग्रिमाल्दी, सोलुत्रे, मदलेन, अजिल नै आज नवपाषाण युगमा प्रवेश गरेर मङ्गल ग्रहसम्म पुगिसकेको र चन्द्रमाबाट पृथ्वीका मानवलाई पढाइसकेको अवस्था छ । निम्न पुरापाषाण युग र मध्यपुरापाषाण युगमा मान्छेले आफूजस्तै प्राणीलाई मारेर आफ्नो क्षुधा साम्य पार्थे । यो किसिमको अनुमान र आरोप अश्योल मानवलाई लगाएको पाइन्छ । त्यसपछि मध्यपाषाण युगका विकसित, विवेकशील, के गर्ने, के नगर्ने छुट्याउने र खुट्याउने असल खोपडीले भरिपूर्ण छन् भन्ने मान्यता रहेको छ । त्यसैले हामी भन्न सक्छौँ शुभलाभको खेल यहीँ युगबाट सुरु भएको हुनु पर्छ ।
चालु नवपाषाण युगमा सचेत मानवमा उच्चस्तरीय विवेकको विकाससँगै मौद्रिक नीतिका साथ शुभलाभ खेलको प्रादूर्भाव भएको ठोकुवा गर्न सकिन्छ । अरू अरू खेल खेल्नुभन्दा टाठा बाठाहरू शुभलाभको खेल खेल्दा समयले डाँडो काटेको पत्तै पाउँदैनन् । उमेरको मध्यान्तर र उत्तरार्धकालमा माऊ मान्छे कमाउको पछि लाग्दा शुभलाभको खेल खेल्ने गर्छन् । समाजमा आफ्नो वित्तीय औकात इज्जत प्रतिष्ठा, घर व्यवहार, परिस्थिति र परिवारको नाक तथा धाक राख्न यो खेल खेल्ने चलन नयाँ होइन । घोडा चढ्ने लड्छ भनेझैं शुभलाभको खेल खेल्दा लड्नेहरू विश्वव्यापी रूपमा धेरै हुन्छन् । छिटपुट रूपमा नेपालमा पनि घोडा चढ्दा लडेकाहरू देख्न पाइन्छ । यसैको सिको गरेर घोडा नपाउनेहरू धुरी चढेर बल्ड्याङ खानेहरू पनि कम छैनन् । चङ्ख चतुरो टपरटुइयाँहरू मध्ये नाकलाई सुरक्षित राख्नेहरू समाजमा कमै हुन्छन् । जब नाक जान्छ तब खेलाडीले आफ्नो लँगौटी मात्र होइन धतुरो नै फुस्किएको ठान्छन् । कुबाटोमा हिँड्नेका हकमा यो स्वभाविकै हो ।
हरेक खेलाडीहरूले ख्याल गर्नुपर्ने हुन्छ । इज्जत भन्ने तत्व धतुरोको दानुमा मात्र होइन सानु भन्दा सानु तिलको दानुमा पनि हुन्छ । इज्जतको आहुती गरिसकेपछि देख्ने सुन्नेले छिछी दुरदुरको रटान लगाएकै हुन्छन् । इमान जमान या स्वर्ग र नर्कको दोभान या दोबाटो यही हुन्छ । छिछी दुरदुरको रछान पचाउने कि मान, सान, सम्मानको कठघरामा उभिने शुभलाभका खेलाडीहरूले गम खानु पर्ने कुरा हो र नर्क, स्वर्ग छुट्याउने गौँडो पनि यही हो । मौकामा विवेकले उचित निर्णय लिन नसक्दा धनमा ज्यादा मन दिने असल मान्छेहरू पनि जुनी भरी पछुताई पछुताई हाई काडी राखेका हुन्छन् । शायद तालुमा फलेको आलु भनेको यही होला ।
यस खेलमा खास गरी चरम चापलुसीको लेपन र जालझेलको सम्मिश्रण हुन्छ । सोझा सिदा देशभक्त नागरिकहरूले कपट, धुत्र्याइँ, बद्मासी, नरुचाउने हुनाले धुर्त खेलाडी देख्यो कि स्फूर्त रूपमा बाइ बाई गरिहाल्छन् । साँच्चै असल मानवले पातकी, सठको सङ्गत र संसर्ग समेत गर्नु नपरोस् भन्छन् तर भने जस्तो नहुँदा अर्थात् चन्द्रमा दाइँना नहुँदा सङ्गतले गर्दा असल मान्छे खराबसँग र खराब मान्छे असलसँग सती जान बाध्य हुन्छन् । यो सौभाग्य आफैंमा नमीठो दुर्घटना र दुर्भाग्य ठान्नु पर्छ ।
जस्तो पायो त्यस्तो, जहाँ पायो त्यहाँ, जहिले पायो त्यहिले, जोसँग पायो त्यहीसँग, शुभलाभको खेल खेल्नेहरूलाई उच्च स्तरीय देशद्रोहीको सम्मान दिँदै सचेत नागरिकले बोराको दोसल्ला ओढाउन सक्नु पर्छ । तर शिक्षाको गुणस्तर खस्किएको, मुर्कुटा शिक्षाको बिगबिगी भएको यो देशमा असल चेत कसैमा पलाउन नसक्दा देशभक्तिलाई दुःख लाग्नु स्वभाविकै हो । सिएमए, एचए, जस्ता टाउको विनाका शिक्षामा मान्छेलाई अल्मल्याउँदै काल पर्खन विवश पार्नु पनि शुभलाभको खेल हो । ठूला ठूला योजनाहरू टुङ्गोमा पुग्न नसक्नु, थालेको काम बिट मार्न नसक्नु झोलुङ्गे पुल, पक्की पुल, जस्ता ठूला ठूला लगानीका पुलहरूलाई अल्पायुमै खोलामा आत्महत्या गर्न विवश पारिन्छन् । यो पनि शुभ लाभ खेलकै कारणले हो । विचरा “करोडौँ लगानी यो पुलले खायो” भनेर जघन्य आरोप लगाउँदा “मैले बालुवा बाहेक केही खाएको छैन” भनेर पुलले खोलामा हाम फालेर आत्महत्या गर्नु स्वभाविकै मानिन्छ । फलतः बदलिँदो जलवायु परिवर्तनको कारण अधिकांशले यो खेल रुचाई सकेका छन् । सबैको मन, मस्तिष्क र दिलमा घुसिसकेको छ, त्यसैले तैं चूप, मै चूप गरेर खेल सिध्याउँछन् । अतः पुनः अर्काे शुभलाभ खेलको आयोजक, प्रायोजक, ढुँड्ने गर्छन् । “ध्यावन्ती खेती घोकन्ती विद्या” भनेझैं यिनको खेती सधैँ हराभरा र उर्बर नै हुन्छ । अखण्डित हराभरा शुभलाभ खेल जारी रहन्छ । खडेरी कहिल्यै पर्दैन । शायद यसै सुखद पक्षको रसास्वादन गरेका बुज्रुकहरू शुभलाभ खेल भने पछि हुरुक्कै हुन्छन् । पाएपछि खाएपछि फुरुक्कै हुन्छन् तर पक्राउ परेपछि चाहिँ धुरुक्कै रुन्छन् । त्यसैले गितामा भनिएको छ “कर्म गर फलको आशा नगर ।” यसरी मान्छेले मान्छेलाई गहकिला शिक्षा र अर्ती उपदेश दिएका छन् तर मान्छे उस्ताको उस्तै ।
कुनै पनि काम वा खेललाई कर्तव्यनिष्ठ भावी सन्ततिले निरन्तरता दिन रुचाउँछन् । विश्वभरि विशेष गरी यस किसिमको खेलले निरन्तरता पाइराखेकै हुन्छ । हुनेवाला पुस्ताहरूमा वंशानुगत या अङ्गीकृत रूपमा समेत उत्तरोत्तर प्रगतिले जरा गाडिराखेकै हुन्छ । शायद हामी सरल स्वभावकाले हर्षाश्रु झार्ने खेल पनि यही रहेछ क्यार ।
राष्ट्रपति, प्राध्यापक, डाक्टर, इन्जिनियर, सचिव, प्रधानमन्त्री, मन्त्री, पिउन, चौकिदार, हल्दार, जम्दार, सबै दम्दार (तागत भएका) हरू शुभलाभ खेलमा लिप्त मात्र होइन निर्लिप्त हुँदै आएको इतिहास, इतिहास लेखिनुभन्दा अगाडिको कुरो हो । न्यायपालिका, कार्यपालिका, व्यवस्थापिका, अख्तियार, अदालत, समस्त न्यायिक निकायहरू मान्छेले नै चलाएको हुनाले यी सबै दुधका साक्षी बिरालो मात्र हुन् । पाइलै पिच्छे हात चाट्नेहरू बसेका हुन्छन् । शुभलाभ खेल्नेको हात जहिले पनि माथि हुन्छ । दुधको साक्षी बिरालोको हात निरन्तर तल हुन्छ । त्यसो गर्दा माथिकाले दिने तलकाले लिने गर्दा देश खोक्र्याउन र बोक्र्याउन सजिलो पर्छ । मुठी पार्दा औंला बङ्ग्याउनै पर्छ । सोझो औंलामा नौनी न हिजो आयो न आज । त्यसैले अमुक खेलाडीहरूको औकात, औजार र योग्यता भनेकै बक्र दृष्टि, अस्टबक्र व्यवहार र बाङ्गो औंला यसै अविच्छिन्न स्वभावको कारण यिनको जीवनगङ्गा सजिलै बगेको हुन्छ ।
नवपाषाण युगका मान्छेहरू शुभलाभ खेल सुरु भयो भन्ने सुइँको पाउनासाथ दलिय, निर्दलीय, नेता कार्यकर्ता, हर्ताकर्ता बल्छी लिएर शिकार खेल्न ढुक्न थालिहाल्छन् । फूर्ति फार्ती र बेछन्द आङ्गिक स्वाङ्का साथ आकाश पाताल धाउँछन् । एकले अर्कालाई लडाउँछन् । यहाँ पहिलो पक्ष, दोस्रो पक्ष मालामाल र तेस्रो पक्ष सरल सीधा फालाफालको स्थिति आउँछ । कुन लट्ठु हरिलट्ठक, पुङमाङ, गोबरगणेश, बुद्धु, विब्ल्याँटो आउला र आफ्नो आर्थिक उजाड मरुभूमि हराभरा र सब्ल्याँटो तुल्याइ देला भन्ने ध्याउन्नमै पेन्सन, दारी, कपाल, पकाइ सकेका हुन्छन् आधुनिक मानवहरूले, तथापि धित मर्दैन यसको पछि लाग्दै पुच्छर समाती राख्छन् भनेपछि अनुमान लगाउनुहोस् शुभलाभको खेल कस्तो होला ? कस्तो होला मानव चोला ? हरे शिव भोला !
फूलबारी–११, पोखरा
Subscribe
Login
0 Comments
Oldest








































