इन्द्रकुमार श्रेष्ठछिटो हुने खेती
कोदो खेती मकै खेती फस्टाएन त्यति
सबैभन्दा छिटो पाक्ने भ्रष्टाचारको खेती ।
फलाउन मकैलाई बाँझो जोत्नुपर्छ
त्योभन्दा नि अझ पहिला बीउ खोज्नुपर्छ
गोड्नुपर्छ जोत्नुपर्छ काम कति कति
सधैं धाउनुपर्छ फुर्सद छैन अलिकति ।
दुःख गर्यो तर पनि फस्टाउँदैन त्यति
यहाँ छिटो फाइदा हुने जाल र झूटको खेती ।
कोदो रोप्न पनि कहाँ सजिलो छ हेर
जोत्ने खन्ने मान्छेहरू लाग्ने भए धेर
हली लाठे जुटाउन कस्तो साह्रो हुन्छ
रोपे पनि खडेरीमा बाँच्नै गाह्रो हुन्छ ।
थोरै फल्छ कहिले ढल्छ पीर कति कति
हाताहाती फाइदा हुने चम्चावालको खेती ।
जेको खेती गर्दा पनि बलकै हुन्छ खति
जेलाई पनि दुःखै हुन्छ ढिलै हुन्छ गति
हामीलाई चाहिएको छ थोरै लगानीमा
साँझमा लाए फलिहाल्ने भोलि बिहानीमा ।
त्यस्तो खेती खोजि हेरेँ पाइएन त्यति
भेटेँ मैले यौटा रै’छ चाकरीको खेती ।
ओखलढुङ्गा
Subscribe
Login
0 Comments
Oldest









































