विमल निभाहस्तमिलन समारोह
हिन्दुस्तान, पाकिस्तान, श्रीलंका, बंगलादेश, भुटान, मालदिभ्स र अफगानिस्तानका सम्माननीय प्रधानमन्त्रीहरू नियम बमोजिम नेपाल आए, परस्पर दह्रोसँग हातसात मिलाए, त्यसपछि खुरुखुरु आआफ्ना मुलुक फर्किए। भर्खरै सम्पन्न भएको सार्क शिखर सम्मेलन २०१४ को यसरी संक्षिप्त मूल्यांकन गर्नेहरू पनि छन्। जे होस्, यस्तोमा यी हातहरू मिलाउनमा प्रमुख भूमिका निभाउने आयोजक हात अर्थात् नेपाली प्रधानमन्त्रीज्यूको हातले चर्चा पाउनु स्वाभाविकै छ। परन्तु यस्तो केही नभएर सबभन्दा बढ्ता चर्चित रह्यो, पाकिस्तान र हिन्दुस्तानका प्रधानमन्त्रीद्वय मिया नवाज सरिफ र नरेन्द्रभाइ मोदीको हस्तमिलन। अर्थात् हातमिलाइ।
यस सन्दर्भमा मेरो भन्नु के छ भने फगत हात मिलाएर के हुन्छ? अपितु मन मिल्नुपर्छ। यही मन नमिलेकोले सार्क शिखर सम्मेलन समाप्त हुनासाथ हिन्दुस्तान र पाकिस्तानको सिमानामा पुनः गोली चल्न थालेको छ। असलमा भएको के हो भने यता सार्क शिखर सम्मेलनमा हात मिलाएर सरिफ र मोदी फर्किए र उता बाघा नामक बोर्डरमा पुनः गोली हानाहान आरम्भ भइहाल्यो। यस कार्यमा अलिक बेर पनि लागेन। र अहिलेसम्म पनि गोली आदान-प्रदान रोकिएको छैन। हो, यस्तो केही नहुनलाई दुवै प्रधानमन्त्रीहरूका हातको साटो मन मिल्नुपथ्र्याे। किन्तु दुर्भाग्यले सार्क शिखर सम्मेलनको तीनदिने अवधिभरि यो हुन पाएन। केवल हिन्दुस्तान र पाकिस्तानका प्रधानमन्त्रीहरूका दुई थान हातहरू मिले। याने मन जुन छ, त्यो मिल्दै मिलेन। यहींनेर मेरो प्रश्न के छ भने मन मिल्छ कसरी? यो मन बाहिरतिर हँुदैन। त्यसउसले भित्रसम्म रहेको मन मिल्नु-मिलाउनु त्यति सहजै छैन। अर्काे थप प्रश्न मेरो के साँच्चिकै मन भन्ने वस्तु केही हुन्छ र? हाम्राे शरीरमा त मुटु पो हुन्छ। अर्काे शब्दमा हृदय। यसैलाई अन्तरात्मा भन्नेहरू पनि छन्। अब मुटु, हृदय र अन्तरात्मालाई बाहिर निकालेर ल्याएर कसरी मिलाउने? यसमा प्रशस्तै कठिनाइ हुनसक्छ। यो प्राविधिक कठिनाइ हो। त्यसकारण सार्क शिखर सम्मेलनको उपलक्ष्यमा नेपाल आएका प्रधानमन्त्रीहरू नवाज सरिफ र नरेन्द्र मोदीले यो मनसनको झन्झट छाडेर एकअर्कासँग हात मिलाउनु नै उचित ठाने। यही उत्तम विकल्प थियो।
एक पटक हिन्दुस्तानका प्रधानमन्त्री नरेन्द्रभाइ मोदी र पाकिस्तानका प्रधानमन्त्री मिया नवाज सरिफको -एक प्रकारले) हस्तमिलन समारोह -नै भन्नोस्) मा भएको हातसात मिलाइएको समुचित प्रक्रियातर्फ ध्यान दिनोस्। यी प्रधानमन्त्री हातहरू सार्क शिखर सम्मेलन २०१४ भइरहेको स्थान राष्ट्रिय सभागृहको उष्णकक्षमा नमिलेर राजधानी काठमाडौंभन्दा टाढा धुलिखेलमा गएर मिलेका थिए। काभ्रेपलाञ्चोक जिल्लाको कुनै शानदार विश्रामगृह -रिसोर्ट) को खुला छतमा पेयपदार्थ कफीसँगै हिमाल अवलोकन गरेर दुवै सम्माननीय प्रधानमन्त्रीहरूले एकाएक हात मिलाए। त, हिमाच्छादित धवल हिमालय अर्थात हिउँले ढाकिएको सेतो हिमाललाई प्रधान साक्षी राखेर गरिएको हस्तमिलन कसरी तातो हुनसक्छ? त्यसमाथि यो त अति जाडोको चिसो-चिसो मंसिरको मौसम हो। यही सिलसिलामा एउटा थप जिज्ञासा दुवै प्रधानमन्त्री महोदयहरूका हातमा रहेको कफी -अथवा चिया) कतै चिसै त भइसकेको थिएन? वस्तुतः कुरो यस्तो होइन। हिन्दुस्तान र पाकिस्तानमा रहेको चिसो सम्बन्धको कारकतत्त्व अर्थाेक नै हो। यस सम्बन्धमा राम्रो जानकारी राख्नेहरू कास्मिरतिर संकेत
गर्छन्। याद रहोस्, कास्मिर एक चिसो प्रदेश हो। सम्भवतः यसैले दुवै मुलुकका प्रधानमन्त्रीहरूले तातोपन महसुस गर्न नसकेका हुन्। यस्तोमा एकाध पटक हात मिलाएर के फरक पर्छ? स्पष्ट छ, चिसो कास्मिर नै प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री नवाज सरिफ बीचको चिसोको मूलकारण हो। यसमा माथि उल्लेखित सार्क शिखर सम्मेलन २०१४, राष्ट्रिय सभागृहको हल, धुलिखेल रिसोर्टको छत, एकाएकको हातमिलाइ, हिउँले ढाकिएको हिमाल, चिसो भइसकेको कफी आदिको कुनै हात छैन।
अन्त्यमा,
पाकिस्तानी प्रधानमन्त्री मिया नवाज सरिफ र हिन्दुस्तानी प्रधानमन्त्री नरेन्द्रभाइ मोदीको सफलतापूर्वक हस्तमिलन समारोह आयोजना गरी हात मिलाउन लगाउनमा हाम्रो प्रधानमन्त्री सम्माननीय सुशील कोइरालाको ठूलो हात रहेकोमा कुनै शंका छैन। तर रमाइलो के छ भने स्वदेशी हस्तमिलनमा उनको कुनै पनि प्रकारको अभिरुचि छैन। यस्तो भएको भए यो मुलुकमा सहमति कायम भइसकेको हुने थिएन र ?
कान्तिपुर २०७१ मङ्सिर २०
Subscribe
Login
0 Comments
Oldest







































