साइबर अपराध सम्बन्धी सचेतना सामग्री

झ्यापकवि

Nepal Telecom ad

सबै कुरा छोडी पुच्छरमा हात भनेझैँ म हिजोआज आधुनिक कवि हुन मरिमेटेर लागेको छु । आधुनिक कवि हुन निकै सजिलो पनि रहेछ । शब्दको अर्थ खुलोस् कि नखुलोस्, मनपर्दीस“ग प्रयोग गरिएको लापर्वाह वाक्यले भन्न खोजेको कुरा बुझियोस् या नबुझियोस् भनी टाउको दुखाउने काम मेरो होइन । टाउको दुखाउनुपर्छ पाठकले । मेरा आधुनिक कविताले प्रकट गरेको भावभूमि र अर्थ–सङ्गति केलाउने काम हो समालोचक महोदयको । मेरो ब्रम्हमा जे जस्ता उट्पट्याङ् विचारका बीउहरू उम्रिन्छन्, जे–जस्ता ताल–बेतालका भावहरू चरचराउ“छन् तिनीहरूलाई जस्ताको तस्तै म कविताको रूपमा प्रकट र प्रस्तुत गरिदिन्छु । मेरा आधुनिक कविता प्रशवको प्रक्रिया यही हो । कविता कुनै फाङफुस कुरा होइन भन्ने कुरा मलाई राम्रोस“ग थाह छ । अलिकति दिमाग खर्च गर्नु नपरी बुझिने रचना रचना नै होइन भन्ने कुरोमा पनि म ढुक्क छु । देखासिकी गरिखा आहारिसे मरिजा भन्ने लोकोक्तिलाई आत्मसात गरेरै म आधुनिक कवि बन्ने ध्याउन्नातिर लागेको हुँ । एक–डेढ दर्जन कविता लेखिसक्दा नसक्दै र प्रकाशित हुँदानहुँदै म प्रकाण्ड कविमा दरिइसकेको छु । सबैतिरबाट वाह–वाह ओइरिइरहेको छ, म त्यो वाह–वाह बटुल्न भ्याइरहेको छैन ।

बडेबडे समालोचकहरूलाई मेरा कविताको अर्थ अनर्थ, भावभङ्गिमा, सन्देश र सौन्दर्यको फेद र टुप्पो पहिल्याउन हम्मेहम्मे परिरहेको छ । बबुराहरू आफ्नो अहिलेसम्मको अनुभव, विद्वता एवम् वौद्धिकतालाई अनाहकमै च्या“खे थापेर यो कठिन कार्यमा पलेँटी कसेर लागेका लाग्यै छन् । कस्तो फजिती ? केही छैन भनौँ कविता नै नबुझेको आरोप आइलाग्न सक्छ, धेरैकुरा छ भनौँ के के छ भनेर परिलाउनु परिहाल्छ । भएका कुराको कुनै छेउटुप्पो पर्गेल्न सकेको होइन । त्यसो त यस्तै किसिमको असजिलोपन विचरा मेरा पाठक र स्रोताहरूलाई पनि नपरेको कहा“ हो र ? यस्तै स्रोतामध्येका एक जनाले हिजो फोन गरेका थिए । उनी भन्दैथिए– “क्या गजबको प्रतिभा मडारिइरहेको छ तपाईंमा, क्या लेख्नुभयो, कविता भनेको त त्यस्तो पो हुनुपर्छ । धेरै समयपछि त्यस्तो स्वादिष्ट कविता पढ्न पाएर म गद्गद् भएको छु । तपाईंलाई र तपाईंको प्रतिभालाई हृदयदेखिकै बधाइ छ बधाइ ….” आदि आदि । यो मेरो आधुनिक कविताको कमाल हो ।

कविताका नाममा शास्त्रीय छन्द र लयमा, भाव तथा सन्देशको सङ्गति मिलाउँदै लेखिएका कविता पनि कुनै कविता हुन् र ? त्यसरी लेख्नलाई त धेरै ठूलो त्याग तपस्या, साधना र मेहनतको आवश्यकता पर्दछ । त्यति विघ्न कुरा लगानी गरेर आजका आधुनिक कविहरूलाई कविता लेख्ने फुर्सद नै कहा“ छ र ? बाथरूमबाट निस्किएपछि चिया नआइपुगुञ्जेलको समयमा एउटा आधुनिक कविता सिर्जनाको महान् कार्य सुसम्पन्न भइसकेको हुन्छ । समय यति छिटो कुदिरहेका बेला कताको छन्द, कताको लय र ताल, कताको अर्थ, कताको अनर्थ इत्यादि छ्यानविचार गरी लेख्न कहा“ भ्याइन्छ र ? जुनबेला जे फुर्छ र जसरी फुर्छ, ती फुरेका शब्दहरूको फा“की खुरूखुरू कागजमा ओरालिदियो– गजबको आधुनिक कविता बनिहाल्छ । अर्थ लगाउने, विषयको गहिराई खोतल्ने र कविताले भन्न खोजेको कुरा कोरल्ने काम मेरो होइन ।
“फर्सी– खस्याक्क कुकुल्ढुक जिन्दगी
जुइनो तेब्र्याएर चुकुल
वारेस खडा छ पात्तेलघारी
सपना तगडा खाएर अघाइस्”

गत हप्ता राष्ट्रिय साहित्यिक मासिकमा प्रकाशित भएको यो मेरो चर्चित कविताको सबैभन्दा महत्वपूर्ण अंश हो । मेरो यस्तो बेजोडको कवितात्मक प्रस्तुतिदेखि अत्यन्त प्रभावित हु“दै प्रख्यात प्रकाशकहरू समेत मेरो कृति प्रकाशनका लागि पाण्डुलिपि माग्न आइपुगेका छन् । ती मध्यैकै एकजना आजै बिहान मकहा“ हाजिर भएका थिए । उनलाई बैठककोठामा राखेर कफी प्युन दिएँ र म अर्को कोठामा छिरेँ अनि थालेँ आधुनिक कविता सिर्जना गर्न । आधा घण्टामै एकदर्जन कविताको पाण्डुलिपि तयार भयो । त्यो उनलाई हस्तान्तरण गर्दै आग्रह गरेँ– “अरू एक दर्जन कविता म भोलि बिहानको बसाइमा तयार गरिदिने छु, कसैलाई लिन पठाए पनि हुन्छ । हेर्नोस्न, अर्काे आधा घण्टाको समय मसँग भएको भए अहिले नै त्यो सबै तयार हुन्थो । ….अहिले नै मलाई त बाहिर निस्कन ढिला भइसक्यो ।” यति भनेर मैले प्रकाशकलाई विदा गरेँ । भोलिपल्ट उसको कारिन्दा आएर त्यो बाँकी पाण्डुलिपि लिएर गयो । अहिले मेरो दोस्रो आधुनिक कविता सङ्ग्रह प्रेसमा छ ।

दैनिक, साप्ताहिक, पाक्षिक र साहित्यिक मासिक÷द्वैमासिक पत्रपत्रिकाका साहित्यिक स्तम्भकारहरूले आधुनिक कविताबारे विचार, टिप्पणी र अन्तर्वार्ताका निम्ति मलाई हैरान–हैरान पार्ने गर्दछन् । बुझ्ने कुरा कविता होइन भन्ने मेरो अभिव्यक्तिले साहित्यिक जगतमा ठूलो खैलाबैला उत्पन्न गरिदिएको छ । मेरा कविता बुझिएन भन्ने पाठक, समालोचक एवम् वौद्धिक भेडाबाख्राहरूप्रति मेरो भन्नु केही पनि छैन । बुझ्भ्रनेले बकाइदा बुझिरहेकै छन् । समीक्षा, टिप्पणी र समालोचना गरिरहेकै छन् । म वर्तमानको चर्चित आधुनिक कवि । मेरा कविताले आधुनिक युगको प्रतिनिधित्व गरिरहेका छन् । अन्तमा यहाँहरूको वौद्धिकता मापन गर्ने एउटा अर्को कवितांश दिएर विदा हुन्छु :

“आहा ! उहु ! हिही !! हिलहिलाहट
गोजेब्रो तानेर फिस्सफिस्स
चर्याप्प घाँसको घोडा
घोडाको ढाडमा बकुल्लो !
टिङ्ग्रिङ्ग ट्वाँ ।”

यस्ता खाले कविताहरू म बिजुली बेगमा लेख्न सक्छु, लेखिरहेको छु । घण्टा पौने घण्टामा सानोतिनो चाङ नै लगाई दिन सक्छु । लौ अब भन्नोस् त, मेरा यस्ता कविता पढेर तपाइँ मलाई नेपाली साहित्यको अत्याधुनिककालीन रयापकवि भन्नुहुन्छ कि झ्यापकवि ?
कलङ्की, काठमाडौँ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x