लेख निरौलासङ्केत !
मन लागेर के गर्नु चन्द्रमा दाहिने नहोस्
तिर्खा लागेर झम्टेमा पानीमा कमिलो परोस् ।
सताओस् भिडमा फेरि लुताले भित्रभित्र नै
सम्झिए हुन्छ है चाँडो प्रगति लम्किएछ नै ।।
कागले कोटमा पिच्च सभामा अतिथि हुँदा
धरर्र उध्रियोस् यौटै महँगो गतिलो लुगा ।
प्रतिष्ठा नै गुमाएर नामको चाहिने कुरा
छुटेर लाज मर्दो होस् सोचियोस् नजिकै छुरा ।।
पुराना इष्टमित्रैका बिस्तारै मुख बन्द हुन्
नयाँ खरानी घस्नेले चिल्लो चाप्लो घसिरहून् ।
मक्ख पारेर घेरामा जहिलै चाकडी गरून्
कुरा बुझे भयो आफै पछिल्ला दिन कोरियून् ।।
अरूका लागि खाल्डामा आफू नै झुक्कियोस् अनि
कुरा काट्न नथाल्दैमा उही होस् अतिथि पनि ।
जुत्ता फाटेर अर्काले गिज्याओस् पार्टीमा कतै
शङ्कालु दृष्टिमा आफैं परे सम्झनु व्यर्थ नै ।।
पत्यायो स्यालले जस्तै भन्दै गर्व बढिरहोस्
न्यानो केको नबुझ्दैमा फुर्किंदै काल अन्त्य होस् ।
निर्विकल्प म नै भन्ने भ्रममा परियोस् सधैं
बुझे हुन्छ उही दृष्टि दोषले बिग्रियो सबै ।।
Subscribe
Login
0 Comments
Oldest







































