बद्रीप्रसाद दाहाल ‘भस्मासुर’‘पैसा’ महाकाव्य हो !
मात्रै ‘ढाल’ बनाई देश–जनता, लुट्छौं भकुर्छौं धन
चर्का धूर्त–चलाख चाकर हुँदा, हल्लिन्न सिंहासन ।
पैसा नै बल–बुद्धि–शुद्धि सुखको, सोपान हो आखिर
पैसा नै पद वंश–गौरव हुने, सम्मान हो आखिर ।।१।।
पैसाले जन–भावना मत कयौँ, मोडिन्छ तोडिन्छ रे
पैसामै नव–सिर्जना र रचना, जोडिन्छ–जोडिन्छ रे ।
द्रोही रुष्ट अगस्ति ‘शिष्ट रसिला, सन्तुष्ट’ झैं देखिने
दम्भी कंश–प्रवृत्ति घातक यहाँ, श्रीकृष्ण झैं लेखिने ।।२।।
कस्तो शक्ति ? अचम्म जादु धनको, संसारकै तेज हो
मक्किन्छन् कति ‘वाद–दर्शन’ यहाँ, पैसा ठुलो क्रेज हो ।
लत्रन्छन् धनवादमै जगतका, सिद्धान्त– आन्दोलन
अग्ला–स्वप्न सुदूर– चिन्तन मरे, पैसाविना हर्दम ।।३।।
जे–जे मिश्रणवाद छन् अझ नयॉ, चक्लेटी संश्लेषण
हाँस्छन् ती धनवाद टोनिक पिई, स्वार्थी– अँध्यारा गण ।
ऊर्जा हो धनवाद ‘ढाल’ दलको, सत्ता लिने यन्त्र हो
पुर्जा नम्बरी हुन्छ यो मुलुकनै, पैसा महा–मन्त्र हो ।।४।।
व्याख्याकार महान चिन्तक कयौं, घुक्छन् धनै पाउँदा
हिंसाचार अपार बाहु–बलिया, झुक्छन् धनै पाउँदा ।
रम्भा मोहक उर्वशी बस परी, पैसा भए आउँछन्
के वैज्ञानिक ? वैद्य–डक्टर सबै, पैसा भए धाउँछन् ।।५।।
गद्धी स्वागत गर्छ– भर्छ जनता चर्का प्रशंसा अति
जिन्दावाद ! चिरायुमा जुलुसका, गुन्जन्छ नारा कति ?
आऊ ए धनवादका पछि सबै, यै हव्य वा कव्य हो ।
गाऊ गीत–कथा र मुक्तक कवि ! पैसा ‘महाकाव्य’ हो ।।६।।
धादिङबेँसी
Subscribe
Login
0 Comments
Oldest








































