साइबर अपराध सम्बन्धी सचेतना सामग्री

व्यङ्ग्य लेख्नु बेकार छ

Nepal Telecom ad

हुन त म पनि उही ड्याङको मूला हुँ । त्यसैले मलाई अरु मूलाहरूले गन्नुपर्छ भन्ने त छँदैछैन तरपनि कमसेकम मैले व्यङ्ग्य गरिसकेपछि विकृति–विसङ्गतिको एउटो छेउ त झस्किनुपर्ने हो नि ! अँ हँ, मरिकाटे हल्लिन्न बा ! जिऊँ का त्यूँ छ ल ! जबरसाँडा भएपछि काँडाले पनि घोँच्दैन भन्थे हो रहेछ । कति लेखेँ कति लेखेँ ‘आर का पार’ हुनेगरी लेखेँ, नाङ्गेझार हुनेगरी लेखेँ जस्ताको तस्तै । मेरा व्यङ्ग्यहरूले धेरैलाई छक्क पा¥यो तर कसैलाई पनि चसक्क पार्न सकेन । थुक्क मेरो व्यङ्ग्य ! डाडुमा पानी तताएर डुबे हुन्छ ।

सबैभन्दा धेरै त देशलाई हुइँक्याउने अनि कुनदिन कताको भीरबाट सुइँक्याउने नेताहरूकै बारेमा लेखेँ हुँला । अनैतिक, अनुशासनहीन, ढँटुवा, लोभी, चरित्रहीन, डरछेरुवा, लाज पचेका, भ्रष्टाचारी, बेइज्जती, लाछी, बेइमान, गद्दार, घुसखोर, अत्याचारी, कपटी, दुराचारी, सिल्ली, व्यभिचारी, नीच, साइँदुवा, सिलपट आदि आदि बाहेक अरु जम्मैकुरो लादी नै निस्कनेगरी भन्दिएपनि केही लछारपाटो लागेन । मलाई त के थाहा र ! नेताहरू अनि बाह्रवर्ष ढुङ्ग्रामा राखेपनि उस्तै हुने चीज एउटै हुन् भन्ने कुरो !

‘चड्कनच्युरा’ सङ्ग्रह नै निकाल्दिएँ । एकछिन त मख्ख परेँ तर पछि त्यहाँ भित्र जगल्टिएका ऐरे–गैरे, काले–खैरेहरूले मलाई नै झण्डै चड्कनच्युरा चखाइदिएका । ‘चड्कनच्युरा’ निकालेपछि एकछिन त आफ्नै धड्कन बन्द होला कि भन्ने पीर । शिक्षा क्षेत्रको विकृति र शिक्षक÷शिक्षिकाको ठगठाग नीतिको पर्दाफास गर्दै छुस्की लगाइदिँदा धन्नै आफ्नै शिक्षकको जागिर फुस्किएको । कवि÷लेखकहरू नै छक पर्नेगरी धक फुकाएर उनीहरूको चोरीपैठारी प्रवृत्तिको विरोध गर्दा झण्डै आफ्नै टाउकोमा दुई किलोको ढक बज्रेन । अठहत्तर प्रतिशत लेखकहरूले सर्लक्कै जस्ताको तस्तै अरुको अनुशरण गर्छन् भन्ने कुरो म स्वयम् त्यस्तै खालको लेखक नबनुञ्जेल कसरी थाहा पाऊँ त ! गायक÷गायिकाहरू लगायत साँगीतिक क्षेत्रमा मौलाएको विकृतिको खेदो खन्दा झण्डै मलाई नै निचोरेर लेदो बनाइदिए । पत्रकारहरूलाई पनि नाङ्गेझार पार्दिएको त झण्डै आफ्नै निधारमा चुलेसीको धार परेको । पत्रकारहरूले जे गरेपनि हुन्छ, उनीहरूमा अनुशासन र नैतिकता भन्नेकुरो थोप्पै हुनुपर्दैन भन्नेकुरो त्यो बेलामा मलाई के थाहा त ! मन्द बुद्धिका दुर्गन्धहरूले गर्ने चक्काजाम र बन्दको बिरोध गरेर लेख्यो, आफ्नै ढुकढुकी बन्द हुने छेकछन्द देखापर्ने । परम्पराबिरोधी, संस्कृतिबिरोधी जस्ता तक्माहरू आफ्नै घाँटीमा झुण्डिने । सरकारी कार्यालय र कर्मचारीहरूको उछितो काढ्दा आफैँले पछुतो मान्नुपर्ने ।

आफ्नै शाखा–सन्तान सरकारी कर्मचारी भएपछि लेख्यो लेख्यो अन्तिममा बेकार लेखेँछु माफ गर्नुहोला अब आइन्दा यति साह्रै बिजोगै हुनेगरी लेख्नेछैन भन्नुपर्ने स्थिति आउने । एफ.एम. विकृतिलाई हरण गर्ने उद्देश्यले व्यङ्ग्य लेखेँ, झन् त्यसैलाई अनुशरण गर्दिएर थप्पडको बदलामा झापड खानुपर्ने । एनजीओ÷आइएनजीओको खेदो खन्यो, गरीब नेपालीका नाममा महिनाको लाख रुपैयाँ ज्यालामा त्यहाँ मजदुरी गर्ने बिचरा गरीब नेपाली सञ्चालक/कर्मचारीहरूको रिसउठ्दो माफ गर्नुहोला टिठलाग्दो अनुहार देख्दा आफैँलाई पश्चाताप हुने । नाप–तौल ठ्याक्क ठ्याक्क कथाले मागेजति मिल्नुपर्ने सुन्दरी प्रतियोगिताको नराम्रो पक्ष उठायो, आफ्नै दिदी–बहिनी÷अर्धाङ्गिनीले समेत ठूलो–ठूलो आँखा पार्दै आँखी भौँ उठाइदिने । काठमाडौँको फोहोर अनि पानीको समस्याको बारेमा व्यङ्ग्य गर्यो, झन् समस्या दोब्बरिएर मलाई नै कुम पड्काइदिने । पश्चिमा संस्कृतिको विकृतिलाई औँलो उठायो, झन् आफैपट्टि ‘पाखे’ को औँलो तेर्सिने । घुसखोरी, अपराधीहरूका बारेमा लेख्यो, सर्वोच्चले तिनैलाई फूलमाला लगाइदिने ।

दिमाग खराब ! कामै छैन । लेख्नु भन्दा जे–जे हुन्छ देख्नु जाती । लाजै नमान्नेले कट्टु लगाउने कुरै भएन । अब त सबभन्दा राम्रो देख्नेले मुख छोपेर हिँडे हुन्छ । यो व्यङ्ग्य–स्यङ्ग्य लेख्नु बेकार छ ।
‘फुरौला’ हास्यव्यङ्ग्य सङ्ग्रह

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
लुटको खेती

लुटको खेती

अनिल कोइराला
बेकारको टन्टो

बेकारको टन्टो

अनिल कोइराला
0
Would love your thoughts, please comment.x
()
x