मुकुन्द आचार्यबोल्ने त पालो
सूर्य अस्त भैसकेकोले नेपाल पनि मस्त भैसकेको थियो । एउटा सस्तो मदिरालयका प्रत्येक टेबिलमा मस्त भएका समूहहरू आ–आफ्नै पारामा रमाउँदै थिए ।
एउटा टेविलमा केही नेपालीहरूका साथमा एकजना भारतीय पनि थिए । नेपालीहरू आगामी निर्वाचनको बारेमा मनको लड्डु घिउसँग खाँदै थिए । तर सोही टेबिलका भारतीय भने केही नबोली कछुवाको गतिले खानपिन गर्दै थिए । उनलाई आफ्ना नेपाली मित्रहरूका चुनावी कुरामा तातो छारो क्यै देखिएको थिएन ।
नेपालीहरू जब मस्तबाट मस्तमस्त भए अनि एउटाले सोध्यो– भारतमा पनि चुनावी मौसम आएको छ । के छ त्यताको स्थिति ? कुन पार्टी जित्ला जस्तो छ यार ? क्यै त बोल ! कुपुकुपु खान्छौ मात्रै !
चुनाव मौसममा हामी भारतीयहरू क्यै बोल्दैनौं । हाम्रो साटो बन्दुक, पेस्तोल, मेसिनगन, छुरा, भाला र फर्सा आदिले बाल्ने गर्छन् । तिनले नभ्याएपछि मात्र नेताहरू बोल्छन् । हामीले बोल्ने त पालो नै आउँदैन । तिम्रो नेपालमा प्रजातन्त्र भर्खर आएको छ र निकै चुरीफुरी छ । खुब उत्साहित पनि छौ । पछि प्रजातान्त्रिक देशको प्रजातन्त्रवादी भएर तिमीहरू पनि हामीजस्तै लाटो हुनेछौ । त्यो स्थिति नआउन्जेल जति बोल्नु छ बोलिहाल ! बली चढाउनु अघि बोकालाई पनि एक छिन फुक्का छाड्दिन्छन् ।– विश्वको सबभन्दा ठूलो प्रजातान्त्रिक देशका स्वतन्त्र नागरिकले नेपालका ठेट्ना राजनैतिक कार्यकर्ताहरूलाई जिल्ल पारे ।
भारतीय मित्रको कुरा सुनेर नेपालीहरूको नशा हरायो । उनीहरू खङ्ग्रङ्ग सुके । सबै सामूहिक रुपमा बोर हुन थाले । उनीहरूले भारतीय मित्रहरूलाई भने– तिम्रो कुरा सुनेर हाम्रो नशा खत्तम भयो । त्यसैले आजको बिल तिमीले नै तिर्नुपर्छ ।
भारतीय मित्रले भने– हाम्रा गान्धीजीले सत्यका लागि ज्यान त दिए भने म सत्यका लागि एकदिनको टेबिल खर्च दिन्न र ?
बारा, हाल– थानकोट, काठमाडौं
Subscribe
Login
0 Comments
Oldest








































