बद्रीप्रसाद दाहाल ‘भस्मासुर’जय संस्थापन !
नेपालमा सत्ता र शक्तिको भजन कीर्तन र नमन गर्ने सामन्ती सोचमा नयाँ क्रान्तिको खोज गरियो भनेर ओज भर्ने बतुराहरू जतिसुकै बकबास मच्चाइरहे पनि अर्वाचीन चिन्तनको झोजबाट डेग चल्नै सकेको छैन । नेपालका हरेक पार्टीहरू गुटहरूको महासंघ वा मोर्चाको रुप धारणा गरेर राजनीतिमा असाधारण समस्या बल्झाएको बल्झाएकै छन् गाँठे ! एउटै दलभित्र संस्थापन पक्ष र प्रतिपक्ष स्थापना गरेर द्वन्द्वात्मक भौतिकवादलाई गम्लङ्ग अँगालो हाल्ने एकाथरी छन् भने अर्का थरी आन्तरिक लोकतन्त्रको अभ्यास भनेर सुकिलो कभर हाली बाहुबली युद्धलाई समेत क्रान्तिकारी र जुझारुपन भनी कुतर्कमा रमाएको भान गर्ने राजनीतिक अभिकर्ता छन् । पाखुरा सुकिर्ने प्रतियोगितादेखि भौतिक आक्रमण गर्ने भिल्ल रमिता सम्मका दन्त्तबझान र हातहालाहाललाई ‘अन्तक्रिया’ नामको टीका लगाइदिएर लोकतान्त्रिक मूल्य मान्यताका सभ्यता तथा भव्यतामाथि बलात्कार गर्ने साँढेवादकै हावी मच्चाउँदै छन् पाँडेहरूले । एकता, सङ्घर्ष, रुपान्तरणको त्रिभुज खडा गरेर वाद विवाद गर्न खप्पिस बूढो बोकाझैं गनाएका भोकाएका नाथेहरू नाथ बन्ने सपनामा आफ्नै माथ काटिरहेका छन् । रचनात्मक, सिर्जनात्मक र सकारात्मक वाद विवाद वा संवादलाई खेल्न दिने हाम्रो पार्टी मैदानको विशेषता हो भनेर पैरवी छेड्नेहरू भैरवी भएर आफ्ना सहयोद्धामा महाकाली बनेको महारौद्र रुप देख्दा दिक्कै लागेर आउँछ बा !
आज भोलि कुनै पनि पार्टीको संस्थापन पक्ष भनेर बुझ्नु पर्दा प्राविधिक रुपले दलको झण्डा र डण्डा हात पारेका नेता जससित आफ्ना नातागोता, अनुचर, दासानुदास अनि चैते कात्तिके जस्ता आयातीतमा आततायीहरूको लामै लर्को प्लस भएको हुन्छ । आदर्श र सिद्धान्तको रक्तरञ्जित इतिहासको झण्डा बोकेर सीमित झुण्ड पार्टीको बक्रतुण्डलाई आफ्नै स्वार्थको कुण्डतिर डुबाउन औधी जन्ड भएका छन् । हिजोदेखिका योद्धा, लडाकु र बलिदानी आत्माका जीवात्मालाई दलको परिसर वा कार्यालय टेक्नसम्म पनि दिंदैन बा ! विगतका चारचक्षु र वर्तमानका काला बनियाले पार्टी नेतृत्वलाई मोहनी अवतारले झैं लठ्याएर सहयोद्धाहरूलाई निकाल्बास गर्ने तुच्छ परिवेश खडा, तगडासँग भैरेहछ पार्टी पार्टीमा । यहाँ संस्थापन पक्षमा रहेका कारण रुझेका बिराला र स्यालहरू पनि घोर्ले हिंस्रक बाघ बनेका छन् । प्रतिपक्षका कित्तामा पुर्याइएका हिजोदेखिका लडाकुहरूलाई तोर्मे स्याल बनाउँछन् बा ! बा ! विगतको तानाशाही व्यवस्थाहरूमा त्यसका पृष्ठपोषक एवं उद्घोषक बनी हिंड्ने निशाचर तथा भुइँफुट्टा आज पार्टीभित्र पसेर धमिरावाद थोपरी रहेका छन् । यी आततायी कुकृत्य बिरुद्ध न्यायिक लडाइँ गर्नेहरू निरीह भएर टुलुटुलू हेर्ने स्थिति खडा भएको छ ।
त्यसैले अहिले संस्थापन पक्षमा अवसर छोपुवा शुद्धिहीन बुद्धिजीवी, अशान्ति, भ्रान्ति र स्वार्थ बोकेका कथित क्रान्तिकारी आयातीत वर्ग, नाता चाकडी र दासानुदास प्रकृतिका भेडाका बथान, कालो बजरिया तस्कर र बाहुबलीहरूको हुल टन्न छ । मात्रा नमिलेको जात्रामा यी विभिन्न खाले नशालु नश्ल लिएर लामो कालखण्डदेखिका सहयोद्धालाई वाइवाई गरी हाइफाइ गर्ने लचकदार नेतृत्वकै बोलबाला छ । यसैले संस्थापन पक्षलाई आँखा चिम्लेर जिन्दावाद नभन्ने मान्छे मुर्दावाद नै बन्छ । कुनै पार्टीको संस्थापन पक्षमा रहन नसके वरको सिन्को पर पनि सर्दैन, नागरिकता प्रमाणपत्र, पारपत्र, सिफारिस वा रोजगारीका विविध पक्ष भक्ष गर्छ प्रतिपक्ष हुँदा । त्यसैले बुद्धि भएका, स्वाभिमानले अग्लिएका, लडाकुपनले पग्लिएका सबैलाई संस्थापन पक्ष जिन्दावाद भनेर रौरब, अन्धतामिश्र जस्ता ठाउँमा बस्ने मौका नगुमाउन न्वारदेखिको बल झिकेर म पनि भन्छु– संस्थापन पक्ष जिन्दावाद ! प्रतिपक्ष मुर्दावाद ! जय संस्थापन !!
धादिङ
Subscribe
Login
0 Comments
Oldest








































