हरिकला उप्रेतीजातकै जैजात
हरिकला उप्रेती
धर्तीमा अवतरण भएको एघाराँै दिनमै आफू त हरिशङ्कर शर्मा भइयो । “धन्य रा’न् हजुरबा हजुरआमा बुढेसकालमै भए पनि शर्माको घरमा वंश धान्ने छोरो जन्म्यो ।” गाउँघरमै एक प्रकारको चर्चासहितको हर्ष छायो । हजुरबा हजुरआमाको मुजा परेको मुहार मुस्कुरायो । उबेला शर्मा थरको निकै थर्को थियो । म एक्लो छोरो वंश धान्ने बुझ्ने भएरै पनि हजुरबा हजुरआमाका बुई चढेर बुरुक्कबुरुक्क उफ्रन्थँे । मेरो उपद्रोले उहाँहरूलाई औधि आनन्द दिन्थ्यो ।
बिस्तारै बुद्धिमा बेकामे बिरुवा बढ्दै गयो र शर्माको श्रद्धा–शक्ति घट्दै गयो । लाग्यो यो नामका पछाडि झुन्डिएको शर्माले ननिकै ग¥यो । “गरिएन पैले धर्ममा बल, खाइयो अहिले कर्मको फल” भनेझँै भएर शर्माको श्राप खानुप¥यो । भनाँै भने बिचरा नालै नझ¥या नाबालकले के कर्म गर्नु र शर्माको श्राप खानु ? हैन । यो शर्मा भन्ने शब्द नै अपसगुन परेजस्तो छ । नत्र जतिपटक चक्कर चल्छ त्यति नै पटक ठक्कर त्यै एक्लो शर्माले खान्छ ।
उहिले सानै छँदा, टाठाबाठाले काठा भन्दै लाठा चलाए । कति साथीले भाग्दा भड्खालो भरे भने, कतिले जङ्गार तरे । आफू त भागिबाँच्ने बहादुर पनि परिएन र त्यस्तो आँट पनि गरिएन । त्यसैले होला साथीहरूले समातरे हात हालेनन् लात्तीचार्ज गरे । जब लात्तीको पावरलेस भयो तब घोचाघाराको सहारा लिए । “ख्यालख्यालमै चार इन्च” हान्नेमा चर्चा कमाएकै साथीभाइ भए पनि धन्न ! खुकुरीले कलमीचाहिँ काटेनन् ।
आठै बर्खमा आठाने बाहुन बोलाएर, आठ बित्ताको जनै भिराइदिए । बिउँझनेबित्तिकै तुलसाका मोठमा ओठ कमाउँदै सन्जे जप्न लाए । कसैले छोएको केही खानुहुँदैन है बाबु ! पाप लाग्छ भने । हैन ए हजुरबा हजुरआमा कस्तो हुन्छ पाप ? कहाँ लाग्छ पाप ? भनौँ भने धर्म बिग्रने डरले त्यस्तो कर्म पनि गरिएन । नाइँनास्ती नगरी निरमायाको भट्टीमा जलपान गरेर व्यासासन जमाउने जङ्गे पण्डितजस्तो पनि परिएन । अपवित्र भए पनि महिषमिटलाई पवित्र गहुँको पिठोले मोरेर पोको पारेको फलाहार ग्रहण गर्ने खन्चुवा काकाजस्तो पनि परिएन । जीवात्माको वध गरी आहार गर्नु पापै हो भन्ने पक्का भएकाले त्यो बाटै हिँडिएन । त्यसैले होला उमेरसँगै साथीभाइका पौँजा तुम्बे बाँसका ताँबाजस्तै भए भने आफ्ना रुखा ठाउँका निगालोका सिटाजस्ता ।
त्यसपछि साँच्चिकै बिहे भो । उस्तै घरानाकी कन्या जुरिछन् । सुरुसुरुमा निक्कै चुरीफुरी थियो । बिस्तारै चुरीफुरी चोइटिँदै गएर बिचरीको लुरीखुरी मात्र बाँकी रह्यो । सन्तानले डाडाकाँडा ढाकुन् भन्ने पुर्खाको आशीर्वादलाई आत्मसात् गरियो । नियोजन गर्नु पाप हो, भगवान्ले दिएका जति हात थाप्नुपर्छ भनियो । एकदुईचोटि त हातै थापियो । त्यसपछि काख, पेट, छाती, काँध, पिठ्युँ केहीले नपुगेर तन्ना, सिरक, कम्बल, मझेरी, सिकुवा हुँदै पूरै आँगनै थापियो । भर्खरै खुलेको र सिस्टम बस्दै गरेको बोडिङ्ग स्कुलजस्तै भो हाम्रो घर । खन्तरी फुपू आइन् र खुसी हुँदै भनिन्– बाबै ! यति औधि सन्तान हुन त पुर्खाको ठूलो धर्म चाहिन्छ । मैले पुर्खाप्रति पुलकित हुँदै प्रार्थना गरेँ । धर्मात्मा हाम्रा पुर्खा, पुर्खाका धर्मको फल यसै गरी युगयुगान्तर दरसन्तानले पाइरहूँ । आजकल कसैले जुलुससुलुस निकाल्नुपरे, बन्द र धर्ना गर्नुपरे सबैले हाम्रै शान्ति निवासमा सम्पर्क राख्छन् । हामी दम्पती यसमै दम देखेर दङ्ग छौँ ।
तर लोकतन्त्रले लोकको भलो गर्छ । हाम्रा साखासन्तानको पेट भर्छ । छुवाछुत र जातपातैको अन्त्य गर्दै एकछत्र पार्छ भन्दै परापूर्वकालदेखि विरोध गर्दै आएका दलित, उत्पीडित, मधेसी आदिवासी र जनजातिहरूको भने कहिल्यै नमेटिने जातजातिकै लाहाछाप लाग्यो । हामी शर्माहरू भने आफ्नो जात र धर्मको सधैँ संरक्षण गर्नुपर्छ भन्थ्यौँ तर हाम्रो भने अस्तित्व नै अलपत्र पर्यो र अन्तैतिर सर्यो । हाम्रो त जातकै जैजात भो लौ न के गर्ने ?
हाल– काठमाडौं
Subscribe
Login
0 Comments
Oldest










































