शेषराज भट्टराईहाँसोमा चासो
सके र मिलेसम्म मान्छे सधैँ सुखी र खुसी रहन रुचाउने प्राणी हो । हाँस्नु, एक अर्कामा नाता गाँस्नु र बास्नु मै मानव आनन्दित हुन्छन् । आनन्दै आनन्दमा नै मान्छे स्वस्थ र दीर्घायू रहन सक्छ र अधिकांशको अपेक्षा पनि यसैमा केन्द्रित हुन्छ । तर सोचे जस्तो हुन्न जीवन । चाहे जस्तो पनि हुन्न जीवन । जस्तो भोग्यो त्यस्तै हुन्छ भने जस्तो हुन्न जीवन । भने जस्तो, सोचे जस्तो, चाहे जस्तो कुनै पाटा र बाटाबाट पनि साथ नपाउँदा मान्छेहरू चिडिन पुग्छन् । एक तमासले रिसाउँछन्, रुन्छन्, कराउँछन् र २०७१ माघ ५ गते राती साढे एक बजे नेपालको संविधान सभामा झैं मारपिट गरेर पनि संविधान पर्व मनाउँछन् । यस विपरीत आफ्नो स्वार्थको थैलो भरिएपछि मान्छे आफैलाई बिर्सिएर बुर्कुसी मार्छ र अर्कालाई अप्ठ्यारोमा पार्छ ।
सन् २०१५ जनवरी ७ मा पेरिसमा प्रकाशित हुँदै आएको हास्यव्यङ्ग्य पत्रिका चार्ली हेब्डो कट्टरपन्थीहरूको आक्रमणबाट ध्वस्त भयो । प्रधान सम्पादक र आठ जना कार्टुनिष्ट सहित बाह्र जनाको हत्या गरेर भाग्ने, टाप कस्ने आतङ्ककारीको स्वार्थ के थियो ? इस्लाम धर्मका प्रवर्तक पैगम्बर मोहम्मदको उत्तेजित कार्टुन त्यस पत्रिकाले छाप्यो भनेर नरसंहार गर्न रुचाउने आतङ्ककारीमा पनि हाँसो, खुसी त कुनै कुनामा थियो होला तर यथास्थितिमा होस गुमाएर जोस देखाउँदा सुरक्षा कारवाहीमा आफै पनि सिद्धिए । यसरी सिद्धिने र सिध्याउने बर्बरतापूर्ण खेलमा हास्य व्यङ्ग्यका कुनै पनि तौर, तरिका, साधन स्रोत मौलाउन फैलिएर जान सक्दैन । विध्वंश, विनासमा हाँसो पासोमा पर्छ र नासोमा बदलिन्छ । दानवी र राक्षसी प्रवृतिले मान्छेहरूमा उदासिनता र निराशा छाउँछ । अत कसरी हाँसो आउँछ ? आउँदैन । झन् टाढा भाग्छ ।
चार्ली हेब्डो हास्यव्यङ्ग्य पत्रिका माथिको आक्रमण लगत्तै तिन जना बन्दुकधारीले त्यहीको यहुदी सुपरमार्केटमा आक्रमण गरेर सत्र जनाको हत्या गरेका थिए । कट्टरपन्थी जत्था बोको हराम, आइएस आइएस जस्ता आतङ्ककारीका कारण खुसीका पक्षपाती तर धर्मका घोरघाती मानवहरूको हाँसो पासोमा परेकामा चिन्ताग्रस्त छन् । तै पनि हिम्मत हुनेहरू हाँसोको खेतीमै रमाउँछन् र अहिलेको विश्व बजारमा हिंसा भन्दा हाँसोकै हाली मुहाली बढी छ । त्यसैले त पचास साठी हजार प्रति छापिने चार्ली हेब्डो व्यङ्ग्य पत्रिका अतङ्कको सामना पछिको नयाँ अङ्क साठी लाखप्रति छापियो र कत्तिको त भागै पुगेन र किन्न नपाएर खिन्न हुनेहरू पनि लाखौँ थिए भने पछि अनुमान लगाउँ तागत केमा बढी ? त्यसैले त भन्ने चलन छ “तरबार भन्दा कलम बलियो ।”
मान्छेको शरीरलाई हाँसो रमाइलो अनिवार्य नै मान्नु पर्छ । वैज्ञानिकहरूले हाँसोलाई दुई प्रकारमा बाँडेका छन् । वासनापरक हाँसो र सम्यक हाँसो । प्रकृति प्रेम, दया, माया, सेवाभाव, उदारभाव, सामाजिक सेवाबाट प्राप्त हुने हाँसोलाई सम्यक हाँसो भन्छन् भने बासनापरक हाँसो विलासिताजन्य तत्त्वबाट प्राप्त हुन्छ । जस्तो इच्छाएको खानु, राम्रो कपडा लगाएर खुसी हुनु, पैसा कमाउँदाको आनन्द, घर बनाउँदाको आनन्द आदिलाई लिन सकिन्छ ।
साँच्चैको असली (ओरिजिनल) हाँसो हाँस्न पाइयो भने मान्छेहरूले धेरै किसिमको तनाव वा रोगबाटै छुटकारा पाउन सकिन्छ । अल्जाइमर्स, क्यान्सर, डिप्रेसन, हृदयघात जस्ता रोगबाट बच्न सकिन्छ । आपसी माया, प्रेम, शान्ति, सद्भावले सिङ्गो समाज, परिवार मात्र नभएर सकल राष्ट्र नै दुनियाँलाई मोहित बनाउन सफल हुन्छ । व्यक्ति व्यक्तिमा हिंसा, अपराध, चोरी, डकैतीको भावना हराउँदै हितका हातहरू सल्बलाउन थाल्छन् । केही समय अगाडि एउटा अखबारमा पढेको थिएँ “मान्छेहरू कुन देशमा बढी हाँसी खुसी छन् भनेर एक सय एकतिस देशको अध्ययन, अनुसन्धान गर्दा डेनमार्कबासीहरू अधिक हाँसोखुसी रहने मानवमा पर्छन् । बेलायतको बारविक विश्वविद्यालयका अनुसन्धान कर्ता डा. युजेनिओ प्रोतो र प्रा. एन्डु ओस्वाल्डको अनुसन्धानबाट थाहा भएको कुरा हो ।
एउटा सामान्य कुराले मान्छेमा हाँसो र खुसीको वर्षा गराउन सकिन्छ । मानौ बिहानै बोहोनी बिगार्न बर्बराउँदै उठ्ने मालिक वा मालिक्नीलाई हाँसो र व्यङ्ग्य मिश्रित सम्बोधनले मनलाई शान्त र सम्भ्रान्त पार्न सक्छ । मेल फिमेल जोसुकै जसरी सुकै रिसले फतक्क गलेर मुर्मुरिएको भए पनि अहिलेको ताजा वस्तु स्थिति अनुसार यस्तो भन्न सकियो भने तनावमा न्यूनीकरण र ज्यूनीकरण सुगम बन्न सक्छ । भनाइ यस्तो पनि हुन सक्छ “संविधान बनाउनेहरूका अगाडि गएर यस्तै आङ्गिक स्वाङमा बर्बराउने र मुर्मुुरिने गरेको भए पहिलो संविधान सभामा नै संविधान जन्मिसक्थ्यो । म सन्ठीका अगाडि सन्किएर के काम ? भन्दै दन्ते मोहनी लगाइ दिनु त त्यहाँको माहोलै आर्कै हुन्छ । एक पित्को माया, खुसी र हाँसोको जाम लगाएर बोले मात्र पनि कैयौँ काम र माम काखैमा आउँछ । व्यङ्ग्य कार्टुन, हाँसो मिश्रित बोलाइ, हास्य मिश्रित भनाइले परिवार, व्यक्ति र समाजमा खुसी भित्रिन्छ । जहाँ मानवहरू खुसी हुन्छन् त्यहाँ हरेक कुराहरू सहज रूपमा सम्पन्न हुन्छन् ।
ओहोदाले ठूलो मान्छे हुँदैमा ऊसँग अमनचयन र हाँसो खुसीको बिस्कुन हुन्छ भन्न सकिँदैन । हरेक कुराको प्राप्ति कलाबाट सम्भव हुन्छ । आफ्नो जिन्दगीमा बहार ल्याउने कला आफूमै सुरक्षित हुनुपर्छ । सानो ओहदाका मानवमा पनि जीवनलाई सुखी, खुसी र आनन्द दायक बनाउने कला हुन्छ । म पोते उनेर बस्छु तै पनि जीवनलाई सरस र आफन्त जनमा हाँसो खुसी भित्र्याउन हास्यव्यङ्ग्य लेखहरू लेख्ने गर्छु । जे त होला तर क्रियाशील त हुनै पर्छ ।
विश्वमा धेरै जातजाति र धर्मावलम्बीहरूले आ आफ्नो धर्म संस्कृति र संस्कारको माध्यमबाट पनि रमाइलो गरी राखेका हुन्छन् । हाँसो खुसी हरेक तबरबाट प्राप्त गर्न सकिन्छ । तर कसैले कसैको मान मर्दन गर्न खोज्दा जातजातिहरू ब्याउँटिन, हुँडलिन सक्छन् । यी यावत कुरालाई मध्यनजर गर्दै व्यङ्ग्य चित्र या लेख रचनाहरू सिर्जना गर्न सकिन्छ । अहिलेको विश्व बजारमा भित्रिएको हाँसोखुसी र मजाकलाई पासोमा पार्ने गरी फैलिएको आतङ्क, हिंसा र त्राही त्राही वतावरणको एकांश नै चार्ली हेब्डो हास्यव्यङ्ग्य पत्रिकामाथिको आक्रमण हो । कट्टरपन्थीहरूले साइबर वेभसाइडहरूमा ह्याकिङ गरेर तेस्रो विश्व युद्धको धावा बोलिराखेका छन् । अनावश्यक बकबास, अर्काप्रतिको उपेक्षा, अनर्गल आरोप, आक्षेप आदिको सानो फिलिङ्गाले नकारात्मक प्रभाव र सारा दहन गर्न सक्छ । तसर्थ हामी हरेक पक्षमा सजग सचेत र एक अर्काप्रति मर्यादित हुन सकियो भने सुखी, खुसी, स्वास्थ्य, सम्पन्नता र हाँसो हाँसोमै इहलीला त्याग्न पाइन्छ भने हामीले हाँसोमा चासो दिने कि नदिने ?
फुलबारी, पोखरा
Subscribe
Login
0 Comments
Oldest







































