प्रेम ओली ढकलपुरेसरकार
छाला फालेर खाने कि
छालैसित खाने
साथसाथै खाने कि
पालैसित खाने
जसरी खाए पनि
थालैसित खाने
आखिर सरकार
तिम्रो नाउकै बिर्ता हो ।
मिलेर खाने कि
एक्लै खाने
सँगै खाने कि
बेग्लै खाने
जसरी खाए पनि
सग्लै खाने
आखिर सरकार
तिम्रो खाउकै बिर्ता हो ।
चिट्ठा हालेर खाए पनि
खाल हानेर खाए पनि
बल्छी हानेर खाए पनि
जाल हानेर खाए पनि
जसरी खाए पनि
माल हालेर खाने
आखिर सरकार
तिम्रो दाउकै बिर्ता हो ।
सल्लैसँग खाने कि
मोल गरेर खाने
हल्लैसँग खानै कि
तौल गरेर खाने
जसरी खाए पनि
बल गरेर खाने
आखिर सरकार
तिम्रो भाउकै बिर्ता हो ।
उठ्दै खाने कि
बस्दै खाने
टोक्दै खाने कि
डस्दै खाने
जसरी खाए पनि
भुँडी कस्दै खाने
आखिर सरकार
तिम्रो साउकै बिर्ता हो ।
तरैसित खाने कि
करैसित खाने
फलैसित खाने कि
जरैसित खाने
जसरी खाए पनि
दरैसित खाने
आखिर सरकार
तिम्रो बाउकै बिर्ता हो ।
दाङ, हाल काठमाडौं
Subscribe
Login
0 Comments
Oldest




































