शेषराज भट्टराई‘पर–जा–तन्त्र’ मा ह्वीप
जनप्रतिनिधिको हातमा शासन र सत्ताको बागडोर हुन्छ भने त्यसलाई प्रजातन्त्र भनिन्छ । जनतन्त्रद्वारा प्रजातन्त्रको उत्पत्ति हुन्छ । अर्थात् जनताद्वारा, जनताकै लागि, जनताकै राय–सल्लाहमुताबिक हाँकिने शासनपद्धतिलाई प्रजातन्त्र भनिन्छ । यसै प्रजातन्त्रले बहुदलको गर्भ बोकेको हुन्छ । अन्ततः धेरै दल खुल्नुलाई सामान्य मानिन्छ । त्यसैले प्रजातन्त्रमा आफ्नो दलले अर्काको दललाई टेरपुच्छर नलगाए पनि केही फरक पर्दैन । नेपालको प्रजातन्त्रको प्रकृति भिन्न छ तर अभिन्न भएर रहेको हुनाले सत्ता, हत्याउन थोरैले धेरैलाई टेर्छन, गरीबले धनीलाई हेर्छन् तर ‘खाई न पाई छालाको टोपी लाई’ त्यसैले धनीले गरीबलाई बेर्छन तथापि काँतरहरू प्रजातन्त्रको मातमा वा जमातमा डरले छेर्छन् फलतः उच्चाधिकारीले औंल्याएका स्वार्थी मार्गमा छिर्छन् । यसरी छिर्ने, छिराउने, विपक्षीलाई दबाउने वा हराउने उच्चाधिकारीको आदेशसूचक शब्दलाई ‘≈वीप’ भनिन्छ ।
इच्छा लागेको कुरा बोल्नु, मनको गाँठो खोल्नु, एकले अर्कालाई पोल्नु, ठूलाको पाउ मोल्नु निमुखालाई तातो तेलमा घोल्नुमात्र प्रजातन्त्रको विशेषता होइन । प्रजातन्त्र त नेतागणको मागीखाने भाँडो र गरीब सोझा निमुखाको लागि ठाँडो र घाँडोका रूपमा पनि परिचित छ । ‘कागलाई बेल पाक्यो, हर्ष न बिस्मात्’ । प्रजातन्त्रले बोल्ने र पार्टी खोल्ने अधिकार दिएको हो जुन सोझा, निमुखाको पहुँचभन्दा बाहिर पर्छ । प्रजातन्त्रलाई संसारमा भएको शासनपद्धतिमध्ये मनकारी र अनुकरणीय व्यवस्था भन्छन् तर प्रतिपक्ष तानाशाही तथा साम्यवादीले धारेहात पारेर हरदम सरापेको हुनाले नेपाली भूभागमा प्रजातन्त्र दुब्लाउनसम्म दुब्लाएको छ । मरन्च्याँसे प्रजातन्त्रमाथि नेतागणको ताण्डवनृत्य हेर्दाहेर्दै मैले इहलोक त्याग्ने दिन आइसके । इहलोक त्यागौला केही छैन, तर प्रजातन्त्रलाई मैले त्याग्न सक्दिनँ ।
तानाशाही तथा साम्यवादीहरू जनतालाई बाँधेर घाँस खुवाउन आतुर छन् र समाजवादी चिच्याउँदै फतुर लगाउँछन्– “तँलाई हैजाले लान नसकेको” । हिजो आजको हैजाले साम्यवादीलाई लान सक्दैन । मैले सराप्नु परेको भए म भन्ने थिएँ, “तँलाई चाइनाले लान नसकेको ।” जनतालाई चौखुर्याएर लडाउन नपाएर प्रजातन्त्र विरोधीहरू भाँडिनुको साथै बेचैन भएर साँडिएका छन् । दुनियाँ साँडिनु र भाँडिनु प्रजातन्त्रमा ग्रा≈य हुन्छ । कुकार्यलाई छुट नदिएको देखेर प्रजातन्त्रविरोधीको आँखामा आगो बलेको छ । तर, के गर्नु बिनसित्ती कसैले कसैलाई तह लगाउन सक्दैनन् ।
हिंसालाई प्रजातन्त्रले पचाउन नसकेको देख्दा माओवादीबन्धुहरू तीन छकपरेका छन् । त्यसो त माओका नेताले पनि प्रजातन्त्रलाई मासौं र खित्का छाडेर हाँसौ भनेर दुनियाँ कार्यकर्तालाई प्रजातन्त्रको जरो उखेल्ने ह्वीप जारी गरे विपक्षीले घुँडा टेक्थ्यो कि ?
प्रजातन्त्रमा नेता वा पार्टीले ≈वीप जारी गर्नु भनेको अर्काको वैयक्तिक स्वतन्त्रतामा औँलो ठड्याएर खवरदार भन्नु हो । जब अर्काको स्वतन्त्रतामाथि औँलो ठडिन्छ तब प्रजातन्त्रको अस्तित्वमाथि प्रश्नचिन्ह खडा हुन्छ– के हो स्वतन्त्रता, के हो प्रजातन्त्र ? ह्वीप जारी गर्नु पार्टी वा नेताको पदीय दायित्व तथा कर्तव्य हो तर व्यक्तिले वैयक्तिक स्वतन्त्रतामा ढलीमली गर्न पाउने हुनाले ह्वीपलाई आदेशको अन्तिम अस्त्रका रूपमा प्रयोग गर्दा धेरै नेताले धोका खाएर पछुताएका छन् र स्वयंमा कार्यकर्ता चोखा भएका छन् । प्रजातन्त्रमा आन्तरिक समझदारीका माध्यमद्वारा जसरी पनि पार्टीमा भोट दिनै पर्छ, पार्टीमा झुकाव हुनै पर्छ भन्ने लिंडेढिपी प्रजातान्त्रिक ठहर्दैन क्यार, ठहर्छ र ?
जल्दो, बल्दो, फल्दो, फक्रिँदो, अवस्थाको प्रजातन्त्रमा पार्टी नेताले आँखा चिम्लिएर ह्वीप जारी गर्ने र अर्कोतिर फर्किएर उपरखुट्टी लगाएर उग्राउने, घुर्ने हो भने प्रजातन्त्रको पूर्ण प्रयोग तथा उपयोग गर्नेले पछाडिबाट लोप्पा खुवाए भने त्यतिखेर के भन्ने ? ठीक भन्ने, कि बेठीक भन्ने, पर्दैन बित्यास ? जे हुनु छ टर्दैन, ह्वीपलाई कसैले हल्का रूपले र कसैले गहन रूपले हेरेर प्रजातन्त्रमा स्वतन्त्र व्यक्तित्वको बर्खिलाप गर्दा आफ्नै पार्टीको बर्खी बार्नु नपर्ला भन्न सकिन्न । किनकि समय छिना झम्टिको छ ।
प्रजातन्त्रको पराग थाहा नपाउने भेडाहरू चतुर नेताको नेतीमा बेरिएर ठेकाभित्र मथिन विवश पारिन्छन् भने त्यसलाई प्रजातन्त्रको तथा स्वतन्त्रताको पराकाष्ठा नभनेर के भन्ने ? प्यारा नेताले जारी गर्ने ≈वीपको प्रकृति पनि यस्तै यस्तै हो । नेताको दवाबको कारण नचाहेर पनि विपक्षीलाई तह लाउनु, हराउनु, झुक्याउनु वा मुक्याउनु स्वतन्त्र सांसदको धर्मविपरीत हुने हुनाले नेतागणलाई अब उप्रान्त ठाडो तानाशाही शैलीमा ≈वीप जारी नगर्न, नगराउन आ≈वान गर्दै म “एक सय आठ माला जप्छु” र थप्छु प्रजातन्त्रमा ह्वीप हानिकारक छ ।
हिमालय टाइम्स, दैनिक (२०५५ पुस २३ गते)
Subscribe
Login
0 Comments
Oldest







































