मनोज गजुरेलथुइक्क म !
आजकाल म आफैलाई धिक्कार्न थालेको छु । ‘थुइक्क, तेरो जिन्दगी ।’ भनेर आफैंलाई गाली गर्दा धेरैजनाले म सन्किएको अनुमान लगाएछन् । अड्कल र अनुमानका भरमा तपाईँले पनि त्यस्तै भन्नुभयो भने रामभक्त हनुमान् भन्दा माथिको बुद्धि रहेनछ भन्ने कुरा बुझ्नेछु । तपाईंले पनि मेरो जस्तो हविगत भोग्नु भयो भने, धिक्कार्नु मात्र हैन, आफैलाई हकार्नु र भाग्यलाई डकार्नु हुन्छ होला !
साँच्चै भन्दैछु– म किन केटा भएर जन्मिएको होला ! संझिए नै पिच्छे आफंैदेखि रिस उठेर आउँछ । अझ अस्तिको दिनदेखि मेरो रीसको स्प्रिट निक्कै बढेको छ । कारण के हो भन्नु होला, एउटा नोकरीको चक्करमा थिएँ । त्यसैले दिल, दिमाग र आँखाहरू समेत युद्धस्तरमा नोकरीको खोजीमा परिचालित भएका थिए ।
एक्कासी मेरो आँखा एउटा पत्रिकामा पुग्यो । आँखा नै गएपछि म नजानु भएन, सरासर हामी पत्रिका छेउ पुग्यौँ । सौभाग्य, पत्रिकामा एउटा विज्ञापन प्रकाशित भएको रहेछ– ‘जब भेकेन्सी’ भनेर । हत्तपत्त आँखालाई हेर्न अह्राएँ । योग्यता र क्षमता अनि अनुभव हेर्दा त्यस नोकरीका लागि म छनौट हुनसक्ने निश्चित थियो ।
मैले खुशीले गद्गद् हुँदै अरु अगाडि पढ्न मात्रै शुरु गरेको थिएँ, एक्कासी मेरो खुशीमा ब्रेक लाग्यो । किन भने, त्यहाँ लेखिएको थियो– ‘महिलाहरूलाई विशेष ग्राह्यता दिइनेछ ।’ यही दिन मैले पहिलो पटक आफूलाई धिक्कारें– पुरुष भएर जन्म लिएकोमा !
धिक्कार्दैमा जागीर पाइने भए त अझैं धिक्कार्दै बस्थेँ हुँला । तर नोकरी पाउन त कि त छोकरी हुनु पर्ने वा चाकरी बजाउनु जान्नु पर्ने हुन्छ । यी दुवै कला र ज्ञान आफूसँग नभएकाले चित्त बुझाउँदै शहरी इलाकातिर लागेँ ।
बस स्टेण्डमा पुग्दछु त, साराका सारा भाडाका गाडीहरू हड्तालमा छन् । कारण पनि धिक्कार्ने खालकै थियो । एउटा ड्राइभरकी श्रीमीतलाई पेसेन्जरको कुमले छुयो भनेर बस हडताल गरेको रे ! थुइक्क मेरो कर्म ! कतिपटक कण्डक्टरले मलाई बक्सिङ हानेको छ, त्यसको कुनै प्रतिवाद भएन । खलाँसीको लात खाएर छतबाट सडकमा पछारिँदा विरोध गरिएन । भीडभाडमा कुमले छुयोे रे भनेर यत्रो ठूलो आन्दोलन हुँदैछ !
यदि म महिला हुँदो हुँ, र दुई रुपैयाँ भाडा कम दिएकोमा कन्डक्टरले दाँत गन्ने काम गरेको थियो भने के हुन्थ्यो होला ! यसरी दोस्रो पटक म पुरुष भएर जन्म लिएकोमा आफैंदेखि दिक्क लागेर आयो ।
बल्लबल्ल एउटा प्राइभेट गाडी आइपुग्यो । तै रोक्ला कि भनेर हात उठाएँ । हत्तपत्त गाडी रोक्यो । म हतार हतार चढ्न खोजें, के को चढ्न पाउनु, एउटा हात्ती जत्रो मान्छे निस्कियो र मेरो सातो खायो– ‘तेरो बाबुको के खाइदिएको छु र हात उज्याउँछस् ए गधा !’ मैले आत्मसुरक्षाका लागि नमस्कारको प्रेमगोली उज्याएँ । तर मेरो नमस्कारलाई तिरस्कार गर्दै त्यो कार हुइँकियो ।
त्यसै बेला एउटी राम्री युवती मेरो छेउ आइन् । सोही बखत अर्को रातो कार हुइँकिदै हामीतिर आयो । ती केटीले उछिन्दै गएर देब्रेहात उठाइन् । घच्याक्क ब्रेक लगाएर मोटर रोक्यो । थपक्कन उनलाई लिएर दगुर्यो । म हेरेको हेर्यै भएँ । यसरी तेस्रो पटक मैले आफ्ना बाबुलाई धिक्कारेँ ।
यता गर्मीले गर्दा मेरो पसिना छुटेको छुट्यै थियो । घडी हेर्छु, अफिस छुट्ने बेला भइसकेको थियो । बल्ल बल्ल जाम खुल्यो क्यारे, गाडी भिडाम्भिड आउन थाले । तिनैमध्ये म एउटा बसमा चढ्छु । मेरो आँखा ड्राइभरको पछाडिको सिटमा पर्छ । त्यता लेखिएको थियो– ‘वन्ली फर लेडिज’ ।
मनमनै पुनः आफूलाई धिक्कार्छुं– ‘थुइक्क म !’ गाडी अघिल्लो स्टपमा रोकियो । मेरै छेउको एउटा सिट खाली भयो । म सिटनिर जान्छु, बसबाट उत्रनेहरू मलाई पेल्छन् । बल्ल बल्ल खाली सिट छेउ पुग्छु, जाली रहेछ सिटको मान्छे । ‘यहाँ मान्छे छ ।’ भनेर बस्नै दिएन । गाडी हिँड्यो । अहँ त्यसको ‘मान्छे’ कोही आएन । अर्को स्टपसम्म सिट खाली नै कुद्यो ।
त्यसैबेला एउटी लाली लगाएर ओठ रातै पारेकी काली मैयाँ बसमा चढिन् । डण्डामा समाएर उभिएकी थिइन् । खालीसिट वालाले मिठो स्वर पार्दै बोलायो– ‘बस्नुस् न बैनी ।’ उनी पनि ‘थ्याङक्यू दादा ।’ भन्दै थुचुक्क बसिन ! मलाई चौथो पटक आफंैदेखि विरक्त लाग्यो ।
गाडी मेरो उत्रने ठाउँमा रोकियो । म सरासर अफिसतिर गएँ । अन्तर्वार्ता दिनेहरूको भीड रहेछ । हत्तपत्त भित्र पस्न खोज्दै निवेदन निकाल्दै थिएँ । एउटी महिला सेक्रेटरी आइन् र हामीलाई धपाउँदै नोटिस टाँसिन्– ‘आजको अन्तर्वार्तामा निवेदक सुश्री सङ्गीता शर्मालाई भर्ना गरिएको छ ।’
म त हेरेको हेर्यै भएँ नै । बिचरा अनुभव, योग्यता र क्षमता सहित अन्तर्वार्तामा सहभागी भएका केटाहरू समेत एकै स्वरमा कुर्लिए– ‘थुइक्क हामी !’
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest










































