साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कविगोष्ठीमा कविराज

Nepal Telecom ad

छोड्दे यार ! म त कविगोष्ठी भनेपछि ज्यान गए छोड्दिन– कविराजले कड्केर भन्यो । हुन पनि हो, ‘डाको न बोलायो लिँडे पुच्छर डोलायो’ भनेजस्तो उसलाई कसैले कार्यक्रमको निम्ता कार्ड दिइरहनुपर्दैन । पटकपटक फोन गरेर आउनुहोस् है भन्दै ठाउँ ठेगाना र तिथिमिति दोहोर्याई रहनुपर्दैन । कविराजको साह्रै राम्रो बानी छ । ऊ कार्यक्रम सुरु हुने समयभन्दा सकेसम्म आधा घण्टा अगाडि नै पुगिसक्छ ।

साँच्चै भन्या, जुनसुकै कार्यक्रमको पनि प्रमुख अतिथि चाहिँ कविराजलाई नै बनाउनुपर्ने । अनि त भनेकै समयमा ठ्याक्कै कार्यक्रम सुरु हुन्थ्यो । यो दुई घण्टासम्म ढिलो समयलाई नेपाली समय हो भन्दै स्वाभाविकै सम्झने सज्जनहरूको सातो जान्थ्यो । प्रमुख अतिथि नआएर निम्तालुहरूलाई खाजा मात्र खुवाएर पठाउनुपर्दाको पीडा आयोजक संस्थाले कसरी बिर्सेला ? कविराजलाई प्रमुख अतिथि बनाउने हो भने त्यस्तो पीडा कहिल्यै कसैले भोग्नुपर्दैन । त्यही टिभीमा अनुहार नआउने र पत्रपत्रिकामा नामसहितको बयान नछापिने त हो । एउटा कार्यक्रमले गर्दा सयौंले शहीद हुनु त पर्ने थिएन ।

विचरो कविराज, कत्तिचोटि त उट्पट्याङ साथीहरूको षड्यन्त्रमा परेको छ रे । उनेर्ले तोकिदिएको कार्यक्रम स्थलमा पुग्दा जिल्लाराम परेर घरै फर्केको छ रे । ऊ धेरैचोटि मन नलागी नलागी मसँग मनको गा“ठो फुकाल्दै भक्कानिएको छ । स्वास्नीको हप्की खाएर नून खाको कुखुरो जस्तो हुँदा पनि ऊ आफ्ना सय काम छोडेर समयमै टुप्लुक्क पुग्छ ।

अनि त किन मान्थ्यो, मैले ‘मामा घर’ हेर्न जाउ“m भन्दा । कविराजले प्रज्ञा भवनमा हुने भव्य राष्ट्रिय कविगोष्ठीको सुईंको पाइसकेको रहेछ । त्यसपछि ‘मामा घर’ हेर्ने रहर मनमै राखेर म पनि लागें कविको पछिपछि प्रज्ञा भवनतिर । ख्यातिप्राप्त राष्ट्रिय कविज्यूहरूका कविताको रसास्वादन गरेर रमाउन ।

कविराजको लहैलहैमा लागेर हस्याङफस्याङ गर्दै पुगियो । हामी पुग्दा त्यहा“ मान्छे जातको छावै थिएन । बल्लबल्ल एक घण्टापछि फाटफुट मान्छे देखापर्न थाले । तोकिएको सुरु हुने समयभन्दा ठ्याक्कै दुई घण्टै बित्न नपाई प्रमुख अतिथिज्यूको सवारी भो । सवारीको साथसाथै ताल्चा लागेको तघारो उघ्रियो र कार्यक्रम सुरु भयो ।

थरीथरीका कविहरू वरिपरिका कविता लिएर पाल्नुभाथ्यो । पहिलो कविलाई कविता वाचन गर्न बोलाइयो । आफ्नो मनको वह पाँच मिनेटजति कहेर कविजी कविता कन्न थाल्नुभयो । उहाँको कनाइ त्यही बीस मिनेटजतिको मात्र थियो होला । दोस्रो कवि पाल्नुभयो, मैलो झोला बोकेर भाका हालीहाली कविता भन्न थाल्नुभयो । अघिल्लो कविको बीस मिनेटको झुलरीले उङ्न लागेका निम्तालुहरू जर्याकजुरुक उठेर ताली पिट्न थाल्नुभयो । कविजी कविता सकेर स्यावासी बोकेर हात मिलाएर टाप कसिहाल्नु भयो । अर्का कवि कविता भन्न थाल्नुभयो– म कवि होइन… मेरो कविता लामो छैन तर यो छोटो पनि छैन । नयाँ कविता लेखेको छैन, पुरानै कविता हो भन्नै मिल्दैन । मेरो कविता जेठो छोरोभन्दा दुई चारमहिना मात्रै जेठो छ भन्दै कविजीले जम्मा आधा घण्टामात्र बिताइदिनुभो र ताततात्तै आफ्नो बाटो तताउनुभो ।

म भने कविराजको पालो कहिले आउला र बाटो लागौंला भनेर कुरिरहेँ । एवंरीतले कवितागोष्ठी चलिरह्यो । कविजीहरू कविता भन्दै बाटो लाग्ने क्रम यथावत थियो । हेर्दाहेर्दै खचाखच भएको हलमा सिलिङबिलिङ निधाइरहेका मान्छेहरू मात्र देखिन थाले । म पनि छट्पटिन थालेँ । कविराजले भने हलचल गरेन । उसले हो भन्दा पनि ताली बजायो हैन भन्दा पनि ताली बजायो । प्रजातन्त्रका कार्यकर्ता जस्तै उनले कसैलाई पक्ष्ँपात गरेन । काले आए पनि ताली बजायो । गोरे आए पनि ताली बजायो । कविराज कहिल्यै थाकेन । मलाई पनि उसले आफूसँगसँगै ताली बजाउन लगायो । हुँदाहुँदै जम्मा दुईटा ताली प्याट प्याट गर्न थाले । म गलेर थकित भएँ । अनि चोरऔंला र बुढीऔंला, जम्मा दुई औंलाले प्याटप्याट पार्न थालेको मात्र थिएँ कविराज फेरि कड्कियो– हैन, तैंले यो के गरेको हँ ? मैले हत्तपत्त जवाफ दिएँ– कविजी यो त कम्प्युटरको जमाना हो । वैज्ञानिक युग हो– एउटा बटम थिच्दा विश्व ध्वस्त हुने युगमा दुई हात उचालेर ताली ठोक्नैपर्दैन, दुई औंलाले काफी हुन्छ । कविराज आँ गर्दा अलङ्कार बुझ्ने हुनाले कुरो बुझेर ऊ पनि ताली पिट्न छोडेर कवितैपिच्छे चुट्की बजाउन थाल्यो ।

केही कविजीले कविता भनेर घर गएर निद्रा पुर्याए । केही कविजीले निद्रा पु¥याए, कविता भने र घर गए । त्यसपछि कविराजको कविता भन्ने पालो आयो पाँच घण्टाभित्रैमा । कविराजले कविता भन्दा सभापतिज्यू, कविराज र म मनग्य जिज्ञासाका साथ भनिरहेका र सुनिरहेका थियौं । सभापतिज्यूले सभा बिसर्जन गर्नुभयो, हामी बाटो लाग्यौं । मैले कविराजलाई सुटुक्क भनेँ– कविराजजी अबदेखि तेरोे कविता मलाई कोठामै सुना है । यो कम्प्युटर र दूरसञ्चारको जमानामा पूरै कविता सुनाउनै पर्दैन । कविताको शीर्षक मात्रै भने काफी हुन्छ । अझ राम्रो त तँ कलङ्कीको आफ्नै कोठामा कविता भन् म भक्तपुरको आफ्नै झ्यालबाट दुवै हातले चुड्की बजाउँला कि कसो … ?
‘गोर्खेलौरी’ सङ्ग्रह

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
भो लेख्दिन अब

भो लेख्दिन अब

हरिकला उप्रेती
बहुवाद जिन्दावाद

बहुवाद जिन्दावाद

हरिकला उप्रेती
मै छोरी सुन्दरी !

मै छोरी सुन्दरी !

हरिकला उप्रेती
भानुभक्त

भानुभक्त

हरिकला उप्रेती
गोर्खेलौरी

गोर्खेलौरी

हरिकला उप्रेती
जरूरी सूचना

जरूरी सूचना

हरिकला उप्रेती
0
Would love your thoughts, please comment.x
()
x