डा. गाउँले बलदेवअशुद्ध लेख्ने काे को हुन् ?
नेपाली भाषाको उच्चारण तथा लेखनमा एकरूपता दिन चाहने मेरा आदरणीय अग्रज भाषाशास्त्रीले कहिलेसम्म एकरूपताको पक्षपोषण गर्न सक्नुहोला? म अचेल उहाँकै चिन्ताले दुब्लाउन थालेको छु । सोझामा साधु गाई अनि नातामा दाजुभाइभन्दा पूज्य र प्रिय मेरा लागि अरू कोही हुँदैनन् । ती दुवै थरीको लात्ती सहनु मेरो बाध्यता र नियति दुवै हो । गाईको दूध खाएपछि लात्ती सहनै पर्ने अनि दाइको नुन खाएपछि गुन गाउनै पर्ने बाध्यतामा गाउँले फसेको छ भन्ने बजार–हल्लाको प्रतिवाद गरिहालेँ भने पनि कसैले पत्याइदिँदैनन् । साधु गाईले हानेको र दाजुभाइले जानेको कुराको विरोध गर्नु आफ्नै आङको छारो उडाउनु हो भन्ने पनि मैले सिकेको छु । सिकेको कुरो बेला–बेलामा बिर्सने मेरो बानी अलि नराम्रो छ । रामराज्यमा रामले रावणलाई हान भन्दा हान्न जाने अनि रावणलाई मान भन्दा मान्न जाने लक्ष्मण जस्तो म बन्न सकिनँ अथवा मेरा आदरणीय दाइ अतीतका हेमाङ्गराज अधिकारी तथा अचेलका हेमाङ् राज अधिकारीज्यू राम बन्न जान्नुभएन ? दाजुलाई अचाडू भन्न नहुने हाम्रो परम्पराअनुसार मै अचाडू बनिदिएको छु अचेल । धरोधर्म ! मेरा आदरणीय दाइ भूतपूर्व हेमाङ्गराज अधिकारीज्यू २०६२ सालमा चितवनको बालकुमारी कलेजमा कार्यपत्र प्रस्तुत गरुन्जेल नेपाली वर्णविन्यासका कुरा उहाँलाई जति अरू कसैलाई थाहा थिएन । २०६३ देखि मेरा आदरणीय दाज्यैको मति र गतिमा बिगार पारिदिएका छन्, भाषाबिगाराहरूले ।
बिगाराहरूले बिगार हाल्ने विद्या कहाँ–कहाँबाट सिके ? भन्ने कुरा चाहिँ अहिले भनिहाल्न मिलेन । मान्छेका नाउँ चाहिँ सार्वजनिक गरिदिन्छु ः समस्त शब्दको पदवियोग गर्न प्रा.डा. तारानाथ शर्माले सिकाउनुभयो । आजभोलि उहाँ (शर्मा) आफैँ आफ्ना विरोधी हुनुहुन्छ । संयुक्त क्रियाको पदवियोग गर्न प्रा.डा. चूडामणि बन्धुले सिकाउनुभएको हो । संयुक्त वर्णको वर्णवियोग गर्न चूडामणि रेग्मीले सिकाउनुभएको हो । मीतलाई मित र फूललाई फुल बनाउन चाहिँ कसले सिकाए भन्ने कुरा मलाई थाहा छैन ।
नाताले आदरणीय दाइ हुँदा–हुँदा नेपाल–प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित हुने ‘नेपाली बृहत् शब्दकोश’ पनि एकरूपतावादी हुन लागेको छ । भाषा–शिक्षण वा भाषा–सम्पादनका लागि वर्ण–विन्यासको एकरूपता निकै सहयोगी हुन सक्छ भन्नेमा मलाई पनि शङ्का लाग्दैन । बरु नेपाली भाषाका ख्याति प्राप्त तथा स्थापित साहित्यकार कविशिरोमणि लेखनाथ पौड्याल, महाकवि लक्ष्मीप्रसाद देवकोटा, नाट्यसम्राट् बालकृष्ण सम, युगकवि सिद्धिचरण श्रेष्ठ, राष्ट्रकवि माधव घिमिरे, जनकविकेशरी धर्मराज थापा आदि उपाधिप्राप्त साहित्यकारहरू अशुद्ध लेख्थे ? गुरुप्रसाद मैनाली, विश्वेश्वरप्रसाद कोइराला, भवानी भिक्षु, पारिजात, इन्द्रबहादुर राई सबै साहित्यकार अशुद्ध लेख्थे । चिह्न–परिचय, शब्द–शुद्धि–विचार तथा शब्द–शुद्धि–विज्ञान जस्ता कृतिका रचनाकार हृदयचन्द्रसिंह प्रधान अशुद्ध लेख्थे ? आदिकवि भानुभक्त आचार्यको समयमा नेपाली भाषाको मानक व्याकरण तथा लेख्य भाषाको मानक शब्दकोश प्रकाशित भएको थिएन । तथापि उनका पूर्ववती, उनी र उनका समकालिक साहित्यकारहरूबाट प्रयुक्त शब्दलाई अशुद्ध भन्ने अधिकार हामीलाई छैन । ‘भानुभक्तका पालामा यसरी लेखिन्थ्यो, अचेल यसरी लेख्ने चलन छ ।’ हामी यतिमात्रै भन्न सक्छौँ । प्रज्ञा–प्रतिष्ठानको कथित एकरूपतावादी शब्दकोश समकालिक साहित्यकारहरूले स्वीकार गर्ने सम्भावना छँदै छैन ।
२०७१ चैत १९ गतेको ‘शुक्रबार’मा प्रकाशित
Subscribe
Login
0 Comments
Oldest







































