मुकुन्द आचार्यछातीमा हात
अदालतमा निक्कै घुइँचो थियो । अभियुक्तको ठाउँबाट मैले चिच्याएँ– श्रीमान् यसमा मेरो कुनै कसूर छैन । म निर्दोष छु । मलाई अनाहकमा फसाएको हो ! संघ संस्थाहरुले आफ्नो भनाइ र गराइमा केही त साम्य राख्नुपर्छ !
श्रीमान्को गम्भीर आवाज आयो– कसरी तपाईँ निर्दोष हुनुहुन्छ ? त्यत्रो पत्रकारका सामु महिलाहरुलाई बेइज्जत गर्नुहुन्छ । तैपनि आफूलाई निर्दोष भन्नुहुन्छ ? अलिकति पनि शरम लाग्दैन तपार्इँलाई !
मैले बिन्ती बिसाएँ, श्रीमान् ! मेरो सम्पूर्ण बयान त सुनिसियोस् । संचारिका समूहकी संचालिकाले भन्नुभा’थ्यो– तपाईँहरु छातीमा हात राखेर भन्नुस् त, किशोरी वा महिलाहरुप्रति लैङ्गिक भेदभाव गर्दिन भनेर ।
मैले आफ्ना दुबै हात आफ्ना दुबै छेउमा बस्ने महिलाहरुको छातीमा राखें । यसमा मेरो के अपराध भयो श्रीमान् ? संचालिका महोदयले आफ्नै छातीमा हात राख्नु है, अर्काको छातीमा नराख्नु त भनेको थिएन नि !
फेरि अर्को गाँठी कुरो त बाँकी नै छ श्रीमान् । त्यो गोष्ठीको मूल उद्देश्य नै थियो, किशोरीहरुसँग महिलाहरुसँग किशोर र पुरुष सरह नै व्यवहार गर्नुपर्छ लिङ्गभेद गर्नु हुन्न । नरनारी दुवै समान् हुन् । श्रीमान् ! जब दुबै समान् हुन्भने संचारिका समूहकी संचालिकाले भने जस्तै मैले छातीमा हात राखिदिएको मात्र हो । त्यो छाती नरको साटो नारीको परेछ । यसलाई अन्यथा नलिइयोस् श्रीमान् ।
त्यसो भए त तपाईँ निर्दोष हुनुहुन्छ– श्रीमान्को यस्तो आवाज सुन्नासाथ म झल्यास्स भएँ । आफू त ओछ्यानमा पसिनाले निथ्रुक्क भइराखेको !
थानकोट, काठमाडौं
Subscribe
Login
0 Comments
Oldest








































