सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

आमाको पिरलो

Nepal Telecom ad

‘आमा, सन्चै हुनुहुन्छ ?’ हजारको नोट र कोसेलीको पोको पाउमा राखिदिँदै नितेशले ढोग्यो ।

‘बाबू नितेश, तँ कस्तो छस् ? अनि बुहारी नि ? यति वर्षपछि बल्ल सम्झिछस् त !’ उनले छोराको टाउको मुसार्दै भनिन् ।

नितेशले भन्यो, ‘सन्चै छु । बुहारी हजुरलाई सम्झिरहन्छे । एक्लै मनै लागेन भन्छे । त्यसैले लिन आ’को । एक हप्तामै अमेरिका उड्ने हो ।’
उनले भनिन्, ‘म यहीँ ठिक छु बा !’
ऊ कड्क्यो, ‘यहाँ बस्ने होइन । लेनदेन भए मिलाइहाल्नुस् ।’
भोलिपल्ट थरीथरीका मान्छेले घरको चक्कर काटेको देखेर उनले भनिन्, ‘यी किन आउँछन् ? किन घुमीघुमी हेर्छन् मेरो घर, बारी, खेत !’

उसले भन्यो, ‘अब हामी उतै सँगै बस्ने भएपछि यो घर कसले हेर्छ ? त्यसैले ग्राहक लगा’को । हजुरले नाइँनास्ति गर्नुभएन । सहीछाप लाइदिए मात्र पुग्छ ।’

उनले जरुरी सामानको कुटुरो पारिन् । घर, बारी, खेतलाई आँखाले सुमसुम्याइन् ।
एयरपोर्ट पुगेर आमालाई बाहिर बेन्चमा बसाउँदै उसले भन्यो, ‘हजुर यहीँ बस्नुस् । म भित्र गएर सामान जचाउँछु, बोडिर्ड पास लिन्छु । कतै नजानु होला ।’
ऊ भित्र पस्यो ।

उनले पटकपटक छोरो गएतिर हेरिन्, तर छोरो आएन । आँखा टट्टाए । ‘टिकट नपाएर पो हो कि ?’ उनी सोचिरहिन् । समयले नेटो काट्यो, तर उनले छोराले बसालेको बेन्च छाडिनन् ।
‘आमै, एक्लै किन यति बेरसम्म ?’ एयरपोर्टको एक कर्मचारीले सोध्यो ।
उनले यथार्थ बताइन् ।
कर्मचारीले अमेरिका जाने यात्रुको सूची हे¥यो र भन्यो, ‘तपाईंको छोरा नितेश त चार घन्टा अघि नै उडिसकेछ ।’
उनी ढलिन् । कर्मचारीले पानी छम्केर उठायो ।

उनी बेचेको घरमा पुगिन् र एउटा कोठा भाडामा लिएर बस्न थालिन् । एक दिन घरवालाले भन्यो, ‘तपाईं सारै बृद्ध हुनु भो ! एक्लै कति दुख गर्नुहुन्छ । कतै आफन्तकहाँ गएर बस्नुस् न !’
उनले भनिन्, ‘जाने थिएँ । छोरो आएर खोज्ला भनेर मात्रै यहाँ बसिरहेकी छु !’
भैरहवा

Fitkauli Publication Books comming soon
Nepal Telecom ad