डा. कपिल लामिछानेडम्बर घिमिरे : मुक्तक, हास्य र व्यङ्ग्यको त्रिवेणी
यसरी सटीक र चोटिला मुक्तक लेखेर डम्बर घिमिरेले आफ्नो विशिष्ट पहिचान बनाएका छन् र उनी नेपाली हास्य व्यङ्ग्य मुक्तकलाई सबल र समृद्ध तुल्याउन कस्सिएर लागि परेका छन् ।

डा. कपिलदेव लामिछाने :
१. विषयप्रवेश
डम्बर घिमिरे मक्तक र हास्य व्यङग्यको प्रस्तुतिले सम्झना भइ रहने व्यक्ति हुन् । उनी जब मुक्तक या कविता भन्न थाल्छन्, तब गोष्ठीमा पिन ड्रप साइलेन्स सुरु हुन्छ । पाठक या भावकको ध्यान आफूतिर तान्न सक्नु उनको खास खुबी हो । त्यसरी तान्न सक्नुमा उनको प्रस्तुतिका साथै हास्य र व्यङ्ग्यले पनि सघाएको हुन्छ । उनको हास्यव्यङ्ग्यको परम्परा मुख्यतः निबन्धाश्रित भएर विकसित भएको छ।
भैरव अर्याल, केशवराज पिंडाली प्रभृत्ति हास्य-व्यङ्ग्यरथीले हास्यव्यङ्ग्यको हलाे निबन्धका फाँटमा चलाएर हास्यव्यङ्ग्य भन्यो कि निबन्ध बुझिने अवस्थामा पुन्याएका हुन् । कवितामा हास्य व्यङ्ग्यको खोजी बटुली गर्ने काममा भने भैरव अर्यालले छ्याकनको सम्पादन गरेर महत्त्वपूर्ण योगदान गरेका छन् । पहिला कवि सुवानन्द दासको ‘पृथ्वीनारायण’ कवितामा र शक्तिवल्लभ अर्ज्यालको ‘तनहुँ भकुन्डो (१८३१ तिर) मा हास्यव्यङ्ग्यको प्रारम्भिक छनक पाइन्छ ।
यस परम्परालाई कवि राधावल्लभअर्याल, गुमानी पन्त, भानुभक्त आचार्य, ज्ञानदिल दास, मोतीराम भट्ट, लेखनाय पौड्याल, वालकृष्ण सम, लक्ष्मीप्रसाद देवकोटा, सिद्धिचरण श्रेष्ठ आदिले अगाडि बढाएका छन् । २००७ सालको परिवर्तन पछि भैरव अर्याल, भीमनिधि तिवारी, पूर्णप्रसाद ढुङ्गेल, वासुदेव लुइँटेल, भूपी शेरचन, कृष्णचन्द्रसिंह प्रधान, भवानी भिक्षु, नीरविक्रम प्यासी, मदनमोहन मिश्र, लक्ष्मण लोहनी, धर्मरत्न यमी, उत्तमकृष्ण मजगैयाँ, ध्रुवकृष्ण दीप, कुलमणि देवकोटा, केशवराज पिँडाली, अच्छा राई ‘रसिक’, भवानी घिमिरे, विजय सुब्बा, प्रेमराज शर्मा, लीलाध्वज थापा, विदुर के.सी., यादव खरेल, बालमुकुन्ददेव पाण्डे, रामकुमार पाँडे, चूडामणि रेग्मी (व्यङ्ग्यऋषि), विश्व शाक्य, चट्याङ मास्टर, भरतराज पन्त, मुकुन्द आचार्य, विमल निभा, श्रीधर खनाल, अर्जुन पराजुली, मनोज गजुरेल आदि केही प्रमुख हास्यव्यङ्ग्य कवि देखा परेका छन् ।
नवराज कार्की, कालीप्रसाद रिजाल, मीनबहादुर विष्ट, रमेश खकुरेत, लालगोपाल सुवेदी, विवश पोखरेल, लक्ष्मण गाम्नागे, बेन्ज शर्मा, मन्जु काँचुली, कपिल लामिछाने आदिले पनि फाटफुट हास्यव्यङ्ग्य कविता लेखेको पाइन्छ । यसरी काव्यकवितामा हास्य व्यङ्ग्यलाई अगाडि बढाउनेहरूको ताँतीमा डम्बर घिमिरे पनि टलक्क देखिन्छन् । प्रस्तुत सन्दर्भमा डम्बर घिमिरेको घामपानी मुक्तकसङ्ग्रहभित्र हास्य र व्यङ्ग्यको वान्की खोज्ने जमर्को गरिएको छ ।
२. घाम पानीमा हास्य-व्यङ्ग्य
घाम-पानीका मुक्तकहरूमा समकालीन राजनीति, अर्थनीति, शिक्षा, संस्कृति आदिका क्षेत्रमा भएका सानाठूला क्रियाकलापप्रति घिमिरेले ठुङ मारेको पाइन्छ । घोचपेच गरेको पाइन्छ । आफ्नो सक्ष्म तर ठोस प्रतिक्रिया जाहेर गरेको पाइन्छ ।
समग्रमा आम नागरिकले हाम्रा नेता, सांसद, मन्त्रीलाई जस्तो देखे-भोगेका छन् मुक्तककार घिमिरेले पनि त्यस्तै देखेका छन् । त्यसैले उनले भ्रष्ट नेता र मन्त्रीहरूलाई दोहोऱ्याई तेहऱ्याई घोचपेच र व्यङ्ग्य गरेका छन् । सत्तामा पगेका भ्रष्ट नेतालाई उनले ‘विकास’मा यसो भनेका छन् :
कुर्सीमा पादा व्यवहार
सात पुस्तालाई सल्टिएछ
विकास यति भएछ कि
शकै टाट पल्टिएछ (प् ३)
यहाँ अत्यधिक भ्रष्टाचार गरेर आफ्नो समृद्धि बढाउने र देश टाट पल्टाउने नेताहरूलाई व्यङ्ग्य गरिएको छ । ‘सल्टिएछ’ र ‘पल्टिएछ’ को तुकबन्दीले गर्दा मुक्तक चोटिलो भएको छ । यस्तै ‘पार्टी’मा दलहरुका गैर जिम्मेवारीपूर्ण क्रियाकलापलाई झनै चोटिलो गरी पेस गरिएको छ । हेरौं :
माई डियर
कम हियर
चढौं चियर
खाऊँ बियर (पृ.९)
यहाँ आठ शब्दमध्ये दुई शब्दमात्र नेपाली छन् भने छ शब्द अङ्ग्रेजी छन् । अङ्ग्रेजी शब्दहरू यहाँ आगन्तुक भएर नेपालीमा घुलमिल मात्र भएका छैनन्, बोधगम्य पनि भएका छन् र दल-दलका भष्टाचारको दलदल देखाउन सफल पनि भएका छन् ।
राष्ट्रको ढुकुटी रित्याएर दलका नेताका नाममा कार्यक्रम सञ्चालन गर्ने दलहरूका कपटी कामकुरालाई मुक्तककार घिमिरेले छाडेका छैनन् । ‘गरिबसँग विश्वेश्वर मा उनी लेल्छन् :
भक्तसँग भगवान्
ध्यानीसँग ईश्वर
धनीसँग काँग्रेस
गरिबसँग विश्वेश्वर (पृ.२))
यहाँ व्यङ्ग्य खासगरी पछिल्ला दुई पङ्क्तिमा छ । नेपाली काङ्ग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालाले समाजवाद र गरिवको पक्ष लिएका थिए, तर अहिलेको काङ्ग्रेस सम्पन्न वर्गका पक्षमा उभिएको छ र गरिबसँग विश्वेश्वर कार्यक्रम दिएर आफू चाहिँ ‘धनी’ तिर हो भन्ने सन्देश दिएको छ भनी यहाँ व्यङ्ग्य गरिएको छ ।
दलहरु अविभाजित र सङ्गठित भएको देख्ने इच्छा कविमा छ, तर सानातिना गुटगत स्वार्थले पार्टी फुट्दा कविको मन दुखेको छ । ‘विभाजन भयो’ ( पृ.५) मा काङ्ग्रेसको विभाजन ‘महामूर्ख र पटमूर्खका घमण्डले’ र ‘भष्मासुर’ ( पृ १०) मा एमालेको विभाजन ओली र नेपालको हेपाहा प्रवृत्तिले भएको भन्ने उनको ठहर छ । दलहरूमात्र होइन, दलका भ्रातृसङ्गठन र पेसागत सङ्गठनहरू पनि फुटेका छन् र लेखक संघहरु पनि दलैपिच्छे बन्दैछन् भन्ने कुरा उनले ‘चाहिन्छ’ (५६) मा देखाएका छन् ।
राजनेता र उच्च पदस्य कर्मचारीका भ्रष्ट आचरण र व्यवहारबाट मुक्तककार दिक्क छन् । उनी तिनलाई सिद्ध्याउन होइन, सुद्ध्याउन चाहन्छन् । ‘ऐश्वर्य’मा उनी लेख्छन् :
भटमास-चिउरा खाऊ छेवैमा बोतल
स्वर्गीय अप्सराको शरीर खोतल
प्रतिनिधि, नेता, मन्त्री सचिवको बल
जे गरे’ नि माथि नै छन्, हुँदैनन् ती तल (पृ.११)
जनप्रतिनिधि नेता, मन्त्री र सचिवहरू अखाद्य खान्छन्, अनाचार गर्छन्, तर पनि तिनमाथि न कानुनी कारबाही भएको छ न त समाजमा तिनको प्रतिष्ठा नै घटेको छ । यस्तो स्थितिप्रति मुक्तककार दुःखी छन् । त्यस्तालाई उनी व्यङ्ग्य गर्दछन् ।
मन्त्री र प्रशासकको बोलीलाई भ्यागुताको ट्द्वार-द्वारसित दाँज्दै तिनका वाणीलाई ‘महावाणी भनिदिए पनि हुन्छ’ भनी व्यङ्ग्य गरेका छन् (पृ.१) । ‘भेडाहरू’ (पृ.५) मा राष्ट्रपति, प्रधानमन्त्री, शिक्षामन्त्री र गृहमन्त्रीलाई क्रमशः क्यान्सर, एड्स, मिर्गी र टी.बी. रोगसँग दाँजेका छन् ।
राजनैतिक नेताप्रति मात्र होइन, घिमिरेको धुएँत्रो जनताको सेवा गर्न बसेका कर्मचारीप्रति पनि चलेको छ । घुस पाए तुरुन्तै काम फत्ते गर्ने प्रवृत्तिलाई ‘आदर्श’ (पृ.२१)मा र घुस नपाए काम नगर्ने कर्मचारीका प्रवृत्तिलाई ‘कर्मचारी’ मा व्यङ्ग्य गरेका छन् । अरू त अरू आमा पनि हुनेखाने छोरालाई माया गर्न थालेको कुरालाई पनि कविले छाडेका छैनन् । ‘आमाको माया’मा कवि :
जागिरे छोरालाई ओछ्याइदे राडी
घरको छोरोचाहिँ हेर्न जा पाडी
भन्सारे छोरी आई गर धेरै स्वागत
बनियारे छोरी आई बाहिरै दे भात (पृ.२१)
द्रव्येषु सर्वे वशः । आमाको माया सबै सन्तानमा वरावरी हुन्छ भन्नु कोरा आदर्श मात्र रहेछ । कमाउने र गुमाउने छोराछोरीमा बराबरी माया हुँदैन भन्ने कुरा त घिमिरेको यस धुएँत्रोले पनि प्रस्ट्याएको छ । नेता, कर्मचारी मात्र होइन, हाम्रो समाजका कुकृत्य, गलत सोच र क्रियाकलापलाई पनि घिमिरेको धुएँत्रोले बाँकी राखेको छैन । समाजमा विकृतिको विकास भएको छ । ‘सार’मा घिमिरे लेख्छन् :
असार ठूलो संसार
सार केवल चार छ
कुर्सी, तरुनी र पैसा
जॉड साहै अपार छ (पृ ६)
समाज कुर्सी र तरूनी ताक्छ अनि पैसा कमाएर जाँड धोक्न सक्नुमा आफ्नो पौरख ठान्छ । यसभन्दा ठूलो बिडम्वना के हुन सक्छ ? कवि युवा पुस्तामा देखिएको विकृतिबाट चिन्तित छन् । त्यस्तो चिन्तालाई यस्तो गरी पेस गरेका छन् :
जसको अहर्निश कानमा कुण्डल
दैनिक मार्छ बजारमा मण्डल
हर्दम खुल्ला जसको छाती
पुलिसको खान्छ चोर्नाले लात्ती
नालीमा फ्याँकिएला शिशुका बबा
तिनै हुन् भविष्यका कर्णधार युवा ? (पृ.१७)
यहाँ भविष्यका कर्णधार भनिने आजका युवाको गलत रवैयाप्रति व्यङ्ग्य गरिएको छ । यस्तै ‘वृद्ध अवस्थामा जवानी रहर’, ‘मदर टेरेसा’, ‘जनक’, ‘हुस्सूहरू’, ‘सत्यवती’, ‘भृकुटी’, मात्र हो’, ‘स्वदेशमान’, ‘पत्नीहरु’, ‘श्रीमान्’, ‘श्रीमती’ ( २२) ‘काठमाडौं’, ‘असल पत्नी’, ‘आदर्श’ (पृ.२१), ‘बेकारका हुन्’ (पृ.१८), ‘ठूलो नाक’ (पृ. २४) ‘दाजु’ (), ‘ज्वाई’, ‘कर्मचारी’ (), जस्ता मुक्तकहरूमा पनि सामाजिक व्यङ्ग्य छ । मूल्य अभिवृद्धि कर अर्थात् भ्याट लगाएकोमा कविलाई चित्त नबुझेको कुरा ‘समस्या’ (पृ.३) मा व्यक्त भएको छ भने सर्वसाधारण नेपाली नागरिकले आफ्नो आर्थिक पक्षलाई उठाउन खोज्दा झन् तल पर्ने अवस्थाको चित्रण ‘धनमायाको धनी हुने रहर’ (पृ.२५) मा प्रकट भएको छ । समाजमा मौलाएको नातावाद-कृपावादलाई पनि कविले व्यङ्ग्य गरेका छन् । ‘दहो र खरो मा उनको बोली हेरौं :
सत्तामा पुग्न नपाए
जुनसुकैलाई हुन्छ खरो
अरू सबै नातोभन्दा
गुन्यूकै नातो दह्राे (पृ.१२)
मानिस सामाजिक प्राणी भएकाले उसका विभिन्न नाता सम्बन्ध हुन स्वाभाविक छ, तर सत्तामा पुग्नेले नातापाताको कुनै मुलाहिजा नगरी काम गर्नु पर्ने हुन्छ तर यहाँ नातावादले जरा गाडेको छ । कविले त्यसप्रति व्यङ्ग्य गरेका छन् । कविको ध्यान सहिदतिर पनि गएको छ । सहिदले देश र जनताका लागि हाँसी-हाँसी ज्यान दिए । हामीले तिनका लागि के गरिरहेछौं ? यो जिज्ञासा भइरहन्छ । मुक्तककारमा पनि यस्तो जिज्ञासा देखिन्छ । उनले हामीलाई अवलोकन-निरीक्षण गरे र के पाए ? हेरौं :
शहीदहरुको धन
एक मिनेट मौन (पृ.३)
यहाँ जम्मा पाँच शब्दमा कविले सहिदहरूप्रति हामीले गर्ने गरेको व्यवहार र आडम्बरलाई अत्यन्त सटिक र पेचिलो ढङ्गले प्रस्तुत गरेका छन् ।
साहित्य, कला, संस्कृति सम्बद्ध खबरलाई प्राथमिकता नदिने सञ्चार-माध्यमलाई ‘रेडियो’ (पृ.११) मा व्यङ्ग्य छ । डम्बर घिमिरे आफू हास्यव्यङ्ग्य लेख्छन् भने यी मुक्तकमा आफ्ना अराज केशवराज पिंडाली (पृ.३०) र भैरव अर्याल (पृ.३६) को स्मरण पनि गरेका छन् ।
३. निष्कर्ष
डम्बर घिमिरेका अधिकांश मुक्तक अत्यन्त मार्मिक र घतलाग्दा छन् । मुक्तक आफैं पनि छोटोछरितो र चोटिलो काव्यविधा हो भने त्यसमा झन् हास्य र व्यङ्ग्यको योगले गदां घिमिरेका यी रचना झनै चेपिला, चोटिला र पोटिला बन्न पुगेका छन् । यिनले ओगटेको कथ्यवस्तु राजनीतिक-सामाजिक विकृति-विसङ्गति र विविध क्रियाकलाप हुन् । यस्तो कथ्यवस्तुलाई ससाना मुक्तक ढाँचामा हँस्यौली-ठट्यौली पारामा प्रस्तुत गरेका छन् । थोरैमा पाँच शब्दमा पनि उनले मुक्तक लेखेका छन् । यो उनको मुक्तकीय कौशल र सामर्थ्य हो ।
नेपालीमा मुक्तक भन्ने बित्तिकै मानिसहरू रुबाइयात वा चतुष्पदी ढाँचाको लघुतम पद्यरचना भनी बुझ्दछन्, तर घिमिरे यसमा सचेत छन् । बद्ध लय वा मुक्त लय जे भए पनि भावको सानो एउटा झोक्काको सटीक प्रस्तुति मुक्तक हो भन्ने कुराको हेक्का घिमिरेलाई छ । यसरी सटीक र चोटिला मुक्तक लेखेर डम्बर घिमिरेले आफ्नो विशिष्ट पहिचान बनाएका छन् र उनी नेपाली हास्य व्यङ्ग्य मुक्तकलाई सबल र समृद्ध तुल्याउन कस्सिएर लागि परेका छन् । यस सङ्ग्रहका रचनामध्ये कति मुक्तक नभएका होलान् भने कति त हास्यव्यङ्ग्य नभएका पनि होलान्, तर पनि औसत रुपमा यी मुक्तक मार्मिक र उत्कृष्ट रहेका छन् । घिमिरेलाई अझ मार्मिक र उत्कृष्ट मुक्तक लेख्न सफलता मिलिरहोस् भन्ने शुभेच्छा प्रकट गर्दै यस लघु लेखको यहीं बिट मार्न चाहन्छु ।
०००
kapillamichhane58@yahoo.com
भैरहवा
नवरङ्ग, डम्बर घिमिरे विशेषाङ्क (२०६८)
Subscribe
Login
0 Comments
Oldest






































