डा. कपिल लामिछानेहरिप्रसाद भण्डारीको ‘फोन वार्ता’ लघुकथामा राजनीतिक व्यङ्ग्य
यस साक्ष्यबाट यस लघुकथाले राजनीतिक प्रवृत्तिमाथि व्यङ्ग्य प्रहार गरेको प्रस्टिन्छ। सरल भाषा र शैलीमा रचिएको 'फोन वार्ता'ले समकालीन राजनीतिक परिदृश्यमा व्यङ्ग्यको झटारो हानेको छ ।

डा. कपिल लामिछाने :
नेपाली लघुकथाका क्षेत्रमा डा. हरिप्रसाद भण्डारी स्रष्टा तथा द्रष्टाका रूपमा परिचित छन् । उनले नेपाली लघुकथामा व्यङ्ग्य विषयमा विद्यावारिधि गरेका हुन् । उनको लघुकथा ‘फोन वार्ता’ नमस्ते आधुनिक लघुकथा मञ्चको सातौं वार्षिकोत्सवको अवसरमा असार ९ गते पोस्ट भएको लघुकथा हो । यस लघुकथामा पनि चोटिलो व्यङ्ग्य रहेको छ ।
झट्ट हेर्दा सामान्य लाग्ने यस लघुकथाले उठाएको विषय महत्त्वपूर्ण छ । यस लघुकथाले राजनीतिक व्यङ्ग्य गरेको छ। जनताबाट चुनिएर गएका नेताले अर्को चुनाउ नआउँदासम्म जनताको घरदैलोमा फर्केर नजाने, खोलो तरेपछि लौरो बिर्सने प्रवृत्ति आम भएको छ । यस लघुकथाले यही राजनीतिक प्रवृत्तिको भण्डाफोर गरेको छ।
यस लघुकथाको पात्र बिर्खे जनप्रतिनिधि होइन, जनताको प्रतिनिधि पात्र हो । ऊ नेता वा जनप्रतिनिधि चाहिँ हो तर जनताको प्रतिनिधि हुन नसकेको नेताको प्रतिनिधि पात्र हो ।
जनताले सधैँ मतदान मात्र मात्र गर्दैनन्, आफैँले एकपटक जिताएको उही नेतृत्वलाई अर्कोपटक धुलो चटाउन पनि जानेका हुन्छन् । यही नै लोकतन्त्रको सौन्दर्य हो । जनताले कामको, व्यवहारको आचरणको मूल्याङ्कन गरेर कुनै नेतालाई फेरि जिताउने कि गाउँघर वा निर्वाचन क्षेत्रमै थन्क्याउने भन्ने कुराको निर्क्यौल गर्दछन् । यस लघुकथाले यही कथ्यलाई अघि सारेको छ ।
‘फोन वार्ता’ लघुकथामा नेता आफूलाई जिताउने जनतालाई चिन्न अस्वीकार गर्छ । झुक्किएर फोन गरे पनि होइन भन्न पछि पर्दैन । एक साक्ष्य –
“तपाईंलाई हैन, मामालाई फोन गरेको मैले । फोन राख्नुस् ।”
“ए …! त्यै त, मलाई शङ्का त लागेको थियो । चुनाउ जितेर गएपछि चाइँचुइँ केही थेन । नत्र हाम्ले गरेको फोन नउठाउने मान्छेले आफैँ फोन गर्नु त नपर्ने ! एक्कासि फोन आयो । म त छक्कै परेँ ! के फेरि चुनाउ हुने भयो र हजुर ?”
“चुनाव हुने भएर हैन । सन्चो बिसन्चो सोध्न मामालाई फोन गरेको हुँ ।”
“तपाईंका मामा र मेरो नाउ मिलेर यस्तो भएको होला । कहिलेकाहीँ नाउ मिल्दा यस्तै हुन्च !”
“बकवास नगर्नुस्, फोन राख्नुस् । अर्को चुनावमा आउँछु र भेटौँला ।”
जनताका नेताको यस्तो चरित्र आलोच्य छ । तर अब जनतामा चेत र जागरण आएको छ । त्यस्ता नेतालाई के गर्नुपर्छ भन्ने उसलाई थाहा छ ।
एक अर्को साक्ष्य –
“अहिले फोन राख्नुस् । पछि चुनाउमा यताको टिकट म लिएर आउँछु, त्यताको टिकट तपाईंहरू दिनुहोला अनि त अर्को पाँच वर्षका लागि ढुक्क ।”
“इस्, अब त देको देई हो । कस्ता रैचौ भन्ने चिनीसकिम् । अब त टिकेट हैन, पानी खान पनि दिन्नम् । चुनाउ जितेपछि फर्केर नहेर्ने नेतालाई पनि कसैले टिकेट दिन्च ? … !”
यस साक्ष्यबाट यस लघुकथाले राजनीतिक प्रवृत्तिमाथि व्यङ्ग्य प्रहार गरेको प्रस्टिन्छ। सरल भाषा र शैलीमा रचिएको ‘फोन वार्ता’ले समकालीन राजनीतिक परिदृश्यमा व्यङ्ग्यको झटारो हानेको छ ।
०००
भैरहवा
Subscribe
Login
0 Comments
Oldest






































