डा. कपिल लामिछानेजेनजीको छाता
गन्तव्य बाँकी नै थियो, तर जेनजीको छाता उसको हातमा थिएन । त्यो जादुइ तरिकाले अरूकै हातमा गइसकेको थियो । ऊ ट्वाल्ल परेर चोकमा उभियो र दूषित पानीले भिजिरह्यो । छाता अर्कैको हात परेको देखेर ऊ दुखी भयो ।

डा. कपिल लामिछाने :
जेनजी सप्तरङ्गी छाता ओढेर सडकमा उत्रियो ।
‘अब त सङ्लो पानी पर्ला भन्यो जहिले पनि दूषित पानी पर्छ !’ ऊ आक्रोशित भयो । सङ्लो पानी नपरेको त होइन, तर दूषित पानी पनि परिरहेकै थियो, निरन्तर । उसले नारा घन्कायो, “पानी हाम्रो जीवन हो । हाम्रो जीवनमा खेलबाड गर्न पाइँदैन । स्वच्छ पानी पाउनै पर्छ ।”
उसको चर्को स्वर धेरैका कानमा गुन्जियो । दूषित पानीबाट प्रभावित भएकाहरू ज¥याकजुरुक उठ्न थाले ।
पहेंलो लुगा लगाएको मान्छे अकस्मात् छातामुनि ओतिन आयो । उसले भन्यो, “छाताको पहेँलो रङ मेरो हो । तपाईंको माग आयज छ । यो मेरो पनि माग हो ।” ऊ छाता ओढेर करायो ।
कालो पहिरन भएको मान्छे छाताभित्र लुसुक्क पस्यो । उसले भन्यो, “छातामा रहेको एउटा रङ मेरो हो । यो मेरो पनि माग हो ।” ऊ पनि जोड जोडले कराउन थाल्यो ।
रातो पोसाक लगाएको मान्छे पनि छाताभित्र छिर्यो । उसले भन्यो, “छाताको रातो रङ मेरो हो । माग आयज छ । यो मेरै माग हो ।” ऊ पनि जोड जोडले कराउन थाल्यो ।
पश्चिमतर्फबाट सेतो पोसाक लगाएको सुकिलोमुकिलो मान्छे छाताभित्र खुस्स पस्यो । उसले भन्यो, “छातामा रहेको एउटा रङ मेरो हो । माग एकदमै आयज छ ।” ऊ पनि जोड जोडले चिच्याउन थाल्यो ।
“छाताभित्र धेरै नपस्नु न ।” उसले भन्यो, तर उसको भनाइ कसैले सुनेन ।
धेरै भएपछि नारा भने मज्जाले घन्कियो । कहिल्यै नसुन्नेले पनि नारा सुने, नदेख्नेले पनि जुलुस देखे र नउठ्नेहरू पनि उठे । एक युगमा एक दिन यस्तो पनि आउँदो रहेछ ।
गन्तव्य बाँकी नै थियो, तर जेनजीको छाता उसको हातमा थिएन । त्यो जादुइ तरिकाले अरूकै हातमा गइसकेको थियो ।
ऊ ट्वाल्ल परेर चोकमा उभियो र दूषित पानीले भिजिरह्यो । छाता अर्कैको हात परेको देखेर ऊ दुखी भयो ।
उसले अठोट गर्यो, ‘अब त्यस्तो डिजिटल अम्रेला क्रिएट गर्नुपर्छ, जसलाई कसैले बिचैमा हाइज्याक गर्न नत्सरकोस् ।’
०००
भैरहवा
Subscribe
Login
0 Comments
Oldest






































