डा. कपिल लामिछानेदाँत
उनी बार्दलीतिर दौडे । बार्दली झन्डै जोडिएकै थियो । छिमेकी महिला भन्दै थिइन्, “हतारहतार निक्लँदा मेरै काँटा होला भन्ठानेर ब्यागमा हालेर हिँडेकी तपाईंको दाँत पो परेछ । ल लिनुस् ।”

प्रा.डा. कपिल लामिछाने
उनी दिउँसै लाइट बालेर कोठामा केही खोज्दै थिए ।
“के खोज्नुभको बुवा ?” बुहारीले भनिन् ।
“केही होइन ।” उनले बुहारीतर्फ नफर्की भने ।
बुहारी अफिसबाट भरखर घर छिरेकी थिइन् । उनी लुगा फेर्न आफ्नो कोठामा पसिन् ।
उनी खोज्नमै तल्लीन भए । ओछ्यान पल्टाए । सिरानी उल्टे । पलङको वरिपरि हेरे । यता खोजे । उता खोजे । पटकपटक खोजे । खोजेको कुरा भने पाइएन ।
“काँ गयो, त्यो ठाँडो ?” उनले आफैँसँग प्रश्न गरे ।
“के काँ गयो बुवा ?” बुहारीले सुनिछन् । सोधिन् ।
“केही होइन ।” उनले फेरि भने ।
बुहारीका आँखा उनका मुखमा परिहालेछन् ।
उनले भनिन्, “दाँत ? मुखका दाँत हराउँदा पनि चाल नपाउने त बा ! काँ राख्नु भाथ्यो ?”
उनी लाजले भुतुक्क भए ।
उनले भने, “यतै कतै खसेजस्तो लाग्छ ।”
बुहारीले ओछ्यान पल्टाइन् । सिरानी उल्टिन् । तन्ना टक्टक्याइन् । छेउकुना खोजिन् । पाइनन् ।
उनले दिक्क मानेझैँ भनिन्, “कसरी खस्यो त दाँत ? काँ राख्नु भाथ्यो ? किन झिक्नु नि बेला न कुबेला !”
उनलाई झनक्क रिस उठ्यो । तर उनी केही बोलेनन् । सानो शिशुले झैँ मुख पाउपाउ गरिरहे ।
“ल म खाजा बनाउन गएँ ।” बुहारी ठुस्केर निक्लिन् ।
उनको ध्यान छिमेकीतिर गयो ।
घर जोडिएको छिमेकीको आबाज सुने, “सर ! सर !”
उनी बार्दलीतिर दौडे । बार्दली झन्डै जोडिएकै थियो ।
छिमेकी महिला भन्दै थिइन्, “हतारहतार निक्लँदा मेरै काँटा होला भन्ठानेर ब्यागमा हालेर हिँडेकी तपाईंको दाँत पो परेछ । ल लिनुस् ।”
उनले दाँत कुचुक्क मुखमा हुले । अनि उनी मुसुक्क हाँसे ।
भान्छाबाट बुहारीले हेरिरहेकी थिइन्।
०००
भैरहवा
Subscribe
Login
0 Comments
Oldest






































