डा. कपिल लामिछानेसमर्थनकाे ‘बदनाम आँचल’ : हास्य र व्यङ्ग्यको पुरिया
सूक्तिमयताले मुक्तक थप आकर्षक बन्न पुगेका छन् । यस्ता रुबाई मुक्तकको सँगालो बदनाम आँचल वास्तवमा मन्द हास्य मिसिएको व्यङ्ग्यको पुरिया हो, जसको सेवनले मन शुद्ध, शान्त र आनन्दित हुन्छ ।

प्रा.डा. कपिल लामिछाने :
बदनाम आँचल पुस्तकको शीर्षक बढ्दा यो कुनै नवयुवाको गजलसङ्ग्रह जस्तो लाग्छ । तर भित्र पसेर केलाएपछि के थाहा हुन्छ भने यो तीन बिस वसन्त काटेका रमेश समर्थन (रमेशहरि शर्मा ढकाल) को करिब चार सय (३९९) मुक्तकको सङ्ग्रह हो । पाल्पा जिल्लाको पोरकनीमा २०१७ साल कार्तिक ५ गते जन्मेका समर्थनको बसाइ अहिले रूपन्देही जिल्लाको तिलोत्तमा नगरपालिका ९, मङ्गलापुरमा छ । उनको ब्रह्मलुट (२०५३) मुक्तकसङ्ग्रहले उहिल्यै तहल्का मचाउन खोजेको हो । त्यसपछि उनका दक्षिणा (२०५८) खण्डकाव्य, पर्खी बसेँ (२०६०) गजलसङ्ग्रह, चिसा पसिना (५०७४) संस्मरण तथा नियात्रासङ्ग्रह, देवरात ५०७६) खण्डकाव्य प्रकाशित भएका छन् । बदनाम आँचल (२०८२) उनको छैटौँ प्रकाशित कृति तथा दोस्रो मुक्तकसङ्ग्रह हो । यसलाई फित्कौली अनलाइन मिडियाले प्रकाशन गरेको हो ।
मुक्तक कविताको एक लघुतम रूप हो । यसमा कुनै पनि आख्यान वा कथासूत्र र प्रबन्धन हुँदैन भने मनका सूक्ष्म भावलाई चोटिलो वा प्रभावकारी हुने गरी प्रस्तुत गरिन्छ । मुक्तक शब्दले पूर्वापर प्रसङ्गमुक्त आफैँमा पूर्ण कविताको लघुतम रूपलाई बुझाउँछ । विषयको सीमा नभए पनि यसले एउटै श्लोक वा एउटै कवितापुञ्जमा भाव वा विचार अभिव्यक्त गर्दछ । संस्कृतमा मुक्तकको सुदीर्घ परम्परा रहेको छ भने मुक्तक सिद्धान्त पनि प्रतिपादन भएको पाइन्छ । अग्निपुराणमा सहृदयलाई एउटै श्लोकमा चमत्कृत पार्ने क्षमता भएको रचनालाई मुक्तक भनिएको छ (मुक्तकं श्लोक एवैकश्चमत्कारक्षमः सताम्) । अभिनव गुप्तले मुक्तकलाई अन्य श्लोकसँग असम्बद्ध भएर पनि स्वतन्त्र रूपमा पाठकलाई रसास्वादन गराउने रचना भनेका छन् । संस्कृतमा एक श्लोक भनेर छन्दमा सिर्जना गरिने रचनालाई मुक्तक भनिए पनि पछि आएर नेपालीमा मुक्त लयमा पनि मुक्तकहरू लेखिए । एक मुक्तकमा दुईतीन हरफदेखि बारपन्ध्र हरफसम्मका पनि हुन सक्ने मान्यता स्थापित भयो । त्यस्ता मुक्तकले मुक्तकको विस्तार र लोकप्रियता बढाएको श्रेय हासिल गरे । यता आएर रुबाई ढाँचाका मुक्तक लेख्ने प्रचलन बढेको पाइन्छ । बदनाम आँचल (२०८२) का मुक्तक पनि रुबाई ढाँचामा रचिएका छन् ।
के हो त रुबाई ? रुबाई चार हरफे एक प्रकारको मुक्तक हो । रुबाई फारसी शब्द हो, जसको अर्थ चार हरफहरूको मुक्त कविता भन्ने नै हुन्छ । रुबाईको बहुवचन रुबाइयात हुन्छ । यसमा पहिलो, दोस्रो र चौथो हरफमा अनुप्रास वा तुक मिलेको हुन्छ भने तेस्रो हरफमा तुक हुँदैन । त्यो मुक्त वा स्वतन्त्र रहन्छ । यसको संचनालाई ‘ककखक’को सूत्रबाट बुझाउने गरिन्छ । यसको पहिलो हरफमा कथ्य वा विषयको उठान हुन्छ भने दोस्रो हरफमा त्यसको समर्थन र विस्तार हुन्छ । तेस्रो हरफमा यसअघि उठाई विस्तार गरिएको विषयलाई फनक्क घुमाएर विपरीत विन्दुतर्फ मोडिन्छ र चौथो हरफमा पुगेर चमत्कार वा झड्का दिएर समापन हुन्छ । बदनाम आँचल (२०८२) बाट एउटा उदाहरण लिएर हेरौँ :
विस्मातमा थिएँ म, उनले हर्ष मागिन्
शान्ति चाहन्थेँ म, उनले सङ्घर्ष मागिन्
यस्तो रहेछ प्रेम उनको अन्तर्यमा लुकेको
मैले गुलाफ सुम्पेथेँ, उनले पर्स मागिन् । (२४६)
यहाँ पहिलो, दोस्रो र चौथो हरफमा अनुप्रास वा तुक (हर्ष मागिन्, सङ्घर्ष मागिन् र पर्स मागिन्) मिलेको छ भने तेस्रो हरफमा त्यस्तो अनुप्रास छैन । यसको पहिलो हरफमा कथ्य वा विषय (प्रेम) को उठान, दोस्रो हरफमा त्यसको समर्थन र विस्तार र तेस्रो हरफमा विषयलाई फनक्क घुमाएर चौथो हरफमा प्रेमी (म) ले गुलाफ सुम्पिँदा प्रेमिका (उन) ले पर्स मागेको देखाएर चमत्कारपूर्ण समापन गरिएको छ । यसैलाई मुक्तकीय झड्का भन्ने गरिएको छ । यस मुक्तकमा पैसाका लागि प्रेमको नाटक गर्ने प्रेमिकाप्रति व्यङ्ग्य छ ।
यो हो रुबाई ढाँचाको मुक्तक । त्यसैले शब्द जोडजाड गरेर चार हरफ र त्रितुक बनाउँदैमा त्यो रुबाई हुँदैन । यसमा गुरुगम्भीर भाव, विचार वा सन्देशको सशक्त अभिव्यक्ति तथा विपरीत भाव बुझाउने अन्त्य हुनुपर्ने हुन्छ । हरेक रुबाई मुक्तक हो भने हरेक मुक्तक रुबाई होइन । रुबाईका लागि उमर खैयाम विख्यात छन् ।
अभिधार्थी मुक्तकले पाठकको ध्यान आकर्षित गर्न सक्दैन । त्यसैले मुक्तकमा व्यङ्ग्य अपेक्षित छ । व्यङ्ग्य मुक्तकको प्राण र पर्याय जस्तो भएको छ । त्यसमा हास्य थपिए सुनमा सुगन्ध भइहाल्छ । रमेश समर्थनका यी मुक्तकमा विषयको विविधता छ । मुक्तकमा विषयको सीमा हुँदैन । राजनीतिक विकृति र विसङ्गतिप्रति उनका मुक्तकले निर्मम प्रहार गरेको पाइन्छ । भ्रष्टाचारको भन्डाफोर गरेको पाइन्छ । एक उदाहरण :
विकासको बजेट बिचमै चुहिन्छ, ठाउँठाउँमा चुहावट छ
मान्छे अचेल सस्तोमै मारिन्छ, उसको मूल्यमा गिरावट छ
हिजो आत्महत्या गर्न खोजेको व्यक्तिले एउटा उजुरी दिएछ
उसको आरोप छ, उसले खाएको जहरमा पनि मिलावट छ । (१४)
मानवीय मूल्यमा ह्रास आएको छ । भ्रष्टाचारको विस्तार भएको छ । भ्रष्टाचारले मुलुक आक्रान्त छ । यसको जरोमा राजनीति छ । प्रकृतिले समृद्ध नेपाललाई भौतिक रूपमा समृद्ध बनाउन कठिन भने छैन । जनताको स्नेह, समर्थन र आश्रयबाट बचेर उठेर आएका राजनीतिक नेतृत्व भ्रष्ट, विलासी र गैरजिम्मेवार भएकोमा उनका मुक्तकमा ठुलो आक्रोश देखिन्छ । उनका विचारमा जनता र नेता इमानदार भए मुलुक समृद्ध बन्छ । एक उदाहरण :
न हस्तिनापुर बन्नुपर्छ न गान्धार बन्नुपर्छ
कसैले भन्नै पर्दैन नेपाल सानदार बन्नुपर्छ
चाहिने जति सबै प्रकृतिले दिएकै त छ नि
नेपाल बन्न नेता र जनता इमानदार बन्नुपर्छ । (१५)
यहाँ समृद्धिको सूत्र प्रस्तुत गरिएको छ । विकास असन्तुलित छ । बजेटको सन्तुलित वितरण छैन । सांसदलाई करोडका करोड बजेट दिन पुग्छ भने कतिपय क्षेत्रमा जनतालाई ज्वरो आउँदा खाने सामान्य औषधी सिटामोल उपलब्ध गराउन सरकारसित आवश्यक स्रोत छैन भनेर टकटकिने गरिन्छ । जनअपेक्षा र सरकारी क्रियाकलापका बिचमा सामञ्जस्य नदेख्दा लेखक आगो भएको पाइन्छ । जस्तै :
बिहान चाहिएको हुन्छ, चिहान पठाउँछन्
शान्ति चाहिएको हुन्छ, तुफान पठाउँछन्
बिरामी हुँदा अस्पताल पुग्ने बाटो हुँदैन
मरेपछि उद्धारका निम्ति विमान पठाउँछन् । (१९)
बाबु, आमा र गुरुजनप्रति नयाँ पुस्ता उदासीन छ । कर्तव्यविमुख छ । जिम्मेवारीबाट बच्न चाहन्छ । व्यक्तिवादी चिन्तन हाबी भएको छ । तर समर्थनले सङ्ग्रहको सुरुमै बाबुको त्याग, कष्ट र समर्पणको सराहना गरेका छन् । र, यस्ता मुक्तक ठाउँठाउँमा छरिएर रहेका छन् । बाबुको अभाव कस्तो हुन्छ ? सुरुमै थाहा पाउन सकिन्छ । जस्तै :
तेल सकिएपछि पनि यदि दियो जलिरहेको छ,
बुझे हुन्छ त्यहाँ बातीको हियो जलिरहेको छ
बुवाको चितामा आगो लगाएर फर्केपछि देखें–
बुवाको शव होइन त्यहाँ घरको मियो जलिरहेछ । (१)
आफ्ना सन्तानका लागि उत्सर्ग हुन तयार बाबुआमाको त्याग र समर्पणप्रति समर्थन जति अनुगृहीत र आभारी देखिन्छन् त्यत्तिकै मायाको ढाँेग गरेर धोका दिने प्रेमिकाप्रति आक्रामक पनि देखिन्छन् ।
समाजमा अनेक विकृति र विसङ्गति छन् । त्यस्ता विकृति र विसङ्गतिप्रति समर्थनले कतै मट्याङ्ग्रा हानेका छन् भने कतै घुएँत्रो चलाएका छन् । बेइमानहरूको जताततै जगजगी छ । उनले समाजमा इमानदार पछि पर्ने र बेइमान अगाडि हुने आम समस्याप्रति व्यङ्ग्य गरेका छन् । जस्तै :
सारङ्गीका झैँ नसा मान्छेका पनि रेटिन्छन्
यात्रामा पदचिह्नहरू बन्दछन् अनि मेटिन्छन्
जुन समाज वा जुन समुदायमा गएर खोज्नुस्
इमानदार पछाडि र बेइमान अगाडि भेटिन्छन् । (८७)
समाजमा असुरक्षा बढेको छ । लासमाथिको कात्रो पनि हराएको छ (१५१)। सिंहदरबार गाउँगाउँमा पुग्दा भ्रष्टाचार पनि त्यहाँ सँगसँगै पुगेको छ (१७०)। सांस्कृतिक पलायन र विचलन बढ्दो समस्या भएको छ । गाई सडकमा र कुकुर भान्सामा भित्रिएको (३५) प्रति चिन्ता प्रकट भएको छ ।
समाजमा पश्चिमा अन्धानुकरण डरलाग्दो गरी फैलिँदो छ । नयाँ पुस्ता ‘मातृऔंसी’, ‘पितृऔंसी’ र ‘गुरुपूर्णिमा’ बिर्सिदै ‘मदर्स डे’, ‘फादर्स डे’ र ‘टिचर्स डे’ मनाउन तम्सिएका छन् (२४४)। प्रेमीलाई रित्याएर प्रेमिकाले प्रेमदिवस मनाउँछन् (२४३) । यसलाई लेखकले पश्चिमको हावा भनेका छन् ।
यहाँ धर्मप्रति सम्मान छ भने ढोँग, आडम्बर र अन्धविश्वासप्रति प्रहार छ । लैङ्गिक र सामाजिक विभेदप्रति आक्रोश पनि छ । श्रमजीवी कलाकारले बनाएको मूर्तिको पूजा गर्ने र त्यही कलाकारलाई पूजा गर्न र मन्दिर प्रवेशमा रोक लगाउने जस्तो जातीय विभेद देखेर लेखकले आगो ओकलेका छन् (३०७) र श्रमजीवी वर्गप्रति समभाव प्रकट गरेका छन् ।
गाउँगाउँमा अधिकार (सिंहदरबार वा सरकार) पुग्नु, ठाउँठाउँमा दृश्यस्थली (भ्युटावर) बन्नुलाई कुनै दल वा व्यक्तिको लहड मान्ने फेसबुके प्रचारबाजीबाट युगद्रष्टा स्रष्टा प्रभावित भएर आलोचनामा उत्रिन सुहाउँदैन । आज लेखेको भोलि इतिहास बन्ने हो । समयले त्यो राष्ट्रिय आवश्यकता रहेको पुष्टि भएमा लेखक पछारिनुपर्ने अवस्थामा पुग्छ । प्राकृतिक स्रोतसाधनको उपयोग गर्नैपर्ने हुन्छ । नवजात सन्तानले आमाको लाम्टो नचुसे के चुस्छ त ? हो, त्यस्तो उपयोग सन्तुलित हुनुपर्ने कुरामा भने दुईमत छैन ।
हेर्दै जाँदा यस मुक्तकसङ्ग्रहका मुक्तकमा विषयको पौल रहेको पाइन्छ । विषयहरू खाँदिएर रहेका छन् । यहाँ मायाप्रेमदेखि जीवन, समय, राष्ट्रप्रेम र मृत्यु चिन्तनसमेत छ । प्रेमभाव, मातृपितृ भाव र राष्ट्रप्रेम अभिव्यक्त छ । छिमेकी राष्ट्रका हेपाहा, मिचाहा प्रवृत्तिको कटु आलोचना छ । जातीय र लैङ्गिक समानताको चाहना प्रकट भएको छ । राजनीतिक अकर्मण्यता, लोडसेडिङ, विकृत चिन्तन, विसङ्गत समाज, बिकाउ न्यायप्रणाली, मानवीय मूल्यको विघटन, शैक्षिक विकृति, प्राकृतिक स्रोत साधनको दोहन आदि विषय यहाँ मुक्तक बनेका छन् । विषय नितान्त नवीन होइनन् । चलनचल्तीका विषयमै समर्थनले समर्थन जनाउँदै तिनलाई मुक्तकका ढाँचामा ढालेको पाइन्छ ।
मुक्तकमा खोजे मौक्तिक (मोती) पनि पाइन्छ र सूक्ति पनि पाइन्छ । यहाँ ठाउँठाउँमा सूक्तिवत् वचन पाइन्छन् । जस्तै : बुवाको शव होइन त्यहाँ घरको मियो जलिरहेछ (१।४), मरेपछि उद्धारका निम्ति विमान पठाउँछन् (१९।४), डालीबाट चुँडिएको फूल फेरि जोडिन्न भने मूर्तिमा चढोस् कि लासमा के फरक पर्छ र ? (९१।३–४), तिहारमा निम्तो कालो कागले पाउँछ, झिल्के मजुरले पाउँदैन (१३४।४), यहाँ हात तान्नेहरू थोरै छन्, खुट्टा तान्नेहरू धेरै छन् (१४०।४), आफूलाई मजदुर किसानको मसिहा भन्दछौ, खै तिम्रा हत्केलामा त कुनै ठेला परेको छैन (१६३।३–४), रातको अँध्यारो गर्भबाट जगत्मा मिर्मिरे बिहान जन्मन्छ (२११।३), घर जलाउने बत्तीलाई निभाउनुपर्छ (३०५।४), आई नजाने बुढेसकाल, गई नआउने जवानी (३४२।४), होचाको शिर माथि उठेको हुन्छ र अग्लाको झुकेको हुन्छ (३६५।४), गुरु सिकाएर परीक्षा लिन्छन्, समय परीक्षा लिएर सिकाउँछ (३७३।४) आदि । यस्ता सूक्तिले मुक्तकको महिमा बढाएका छन् ।
समग्रमा के भन्न सकिन्छ भने रमेश समर्थनले यहाँ समसामयिक तमाम विषयलाई आफ्नो कथ्य बनाएको पाइन्छ । समसामयिक विषयमा कलम चलाउनु जोखिमको विषय हो । अहिले त्यो आलोच्य लाग्न सक्छ पछि त्यही सुपाच्य र अनुकरणीय हुन जान सक्छ । त्यसैले स्थापित विषय र शाश्वत मूल्य हुन सक्ने विषयमा कलम चलाएमा त्यो सबैका लागि र सधैँका लागि ग्राह्य र पठनीय हुन्छ ।
यसतर्फ लेखक चनाखो हुनुपर्ने देखिन्छ । यसबाहेक लेखक राष्ट्रवादी छन्, स्वाभिमानी छन्, आशावादी छन्, जीवनवादी छन्, मानवतावादी छन्, देश र समाजको प्रगति उन्नति र समृद्धिका आकाङ्क्षी छन् । जातीय र लैङ्गिक विभेदका विरुद्ध उभिएका छन् । अन्धविश्वासको पोल खोलेका छन् । श्रमजीवी वर्गप्रति उनी सहानुभूतिशील छन् । यसले गर्दा यहाँ प्रगतिशील चेत मुखरित भएको छ ।
समर्थनमा सौन्दर्यचेत सबल छ । विम्ब, प्रतीक, उक्तिवैचित्र्य, अलङ्कार आदिको प्रयोगले भाषिक वैशिष्ट्य खुलेको छ । व्यङ्ग्य र हास्यले गर्दा मुक्तक पढिरहँदा पाठक एक्लै पनि कुतकुतिन्छ ।
केही मुक्तक अभिधात्मक भए पनि समर्थनका अधिकांश मुक्तक व्यङ्ग्यार्थक छन् । सबैतिर चामत्कारिक भाव नभेटिए पनि मर्मभेदी व्यङ्ग्यले गर्दा यी मुक्तक मर्मस्पर्शी भएका छन् । कविताको लघुतम रूप मुक्तकका अनेक प्रकारमध्ये समर्थनले यहाँ रुबाई ढाँचालाई अवलम्बन गरेका छन् । अरु शैली वा प्रकारका मुक्तक पनि भइदिएका भए पाठकले स्वाद फेरी फेरी आस्वादन गर्न पाउने थिए भन्ने चाहना राख्न सकिन्छ । यी रुबाई मुक्तक चोटिला, घत लाग्दा, मार्मिक र प्रभावकारी छन् । सूक्तिमयताले मुक्तक थप आकर्षक बन्न पुगेका छन् । यस्ता रुबाई मुक्तकको सँगालो बदनाम आँचल वास्तवमा मन्द हास्य मिसिएको व्यङ्ग्यको पुरिया हो, जसको सेवनले मन शुद्ध, शान्त र आनन्दित हुन्छ ।
०००
भैरहवा
Subscribe
Login
0 Comments
Oldest






































