नारायण निरासीभूकम्प
सिङ्गो देश बनाउँदै थिलथिलो भूकम्प आयो, गयो ।
हा कस्तो निठुरी भयो प्रकृति यो सन्तान कोको लग्यो
काभ्रे धादिङ, गोरखा सँगसँगै नेपाल जम्मै दुख्यो ।
साँचेको मनको सुदूर सपना एक्कासि माटो बन्यो ।। (१)
सारा गाउँ सखाप भो क्षणभरै त्यो सिन्धुपाल्चोकको ।
उस्तै देख्दछु दुर्दशा, छटपटी हाम्रो नुवाकोटको ।।
पीडाले अछुतो रहने अहिले नेपाल खाल्डो पनि ।
बस्दै छन् कति पालमा महलका कङ्गालजस्तै बनी ।। (२)
सुत्केरी, असहाय वृद्ध, वनिता कैयौँ मरे बालक ।
शौकैशोक बढेर खप्न नसकी आमा बनिन् पागल ।।
केही छैन सबै निमेषभरमै भूकम्पले सिद्धियो ।
छैनन् लास उठाउने पनि यहाँ सोच्दै नसोच्या भयो ।। (३)
कैयौँका परिवार, वंश नरही लीला सबै टुङ्गियो ।
हाम्रो शान बढाउने धरहरा आधारबाटै ढल्यो ।।
खेतीयोग्य पहाडका जमिनमा धाँजा खुबै फाटिए ।
हाम्रो मन्दिर चैत्य, मस्जिदहरू आँखा रसाई ढले ।। (४)
दुख्दैनन् किन आज शासकहरू पीडा बढेको क्षण ?
टाढा दुर्गम गाउँ राहत लिई पुग्दैन कोही किन ?
ठग्दै छन् कतिले असभ्य मतिले कालोबजारी गरी ।
हाम्रा कानुन मौन छन् किन सधैँ आपत्विपत्को घडी ?(५)
मान्छेको घर घाटझैँ बनिरह्यो लाग्दै छ पस्दा डर ।
अग्ला यी घरभित्र जोखिम हुँदा भाग्दै छ मान्छे पर ।।
जाँदा कम्पन बारबार मुटुमा ढ्याङ्ग्रो बज्यो त्रासको ।
सम्झे आङ सिरिङ्ग हुन्छ जहिल्यै वैशाखको मास त्यो ।। (६)
झर्ने भो पहिरो भनी विकटका यी गाउँले त्रस्त छन् ।
बस्ती र्सन अबेर भो विरहले छातीहरू जल्दछन् ।।
कैलेसम्म बचेर बस्नु जनता आकाश छानोमुनि ?
को बन्ला अब साहरा दिनदिनै चित्कार हाम्रो सुनी । (७)
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest







































