भूकम्प डायरी— दुई
सुनमायाको आप्पा !
मैले कनिका निफन्ने
मालिङ्गोको नाङ्लो जस्तो,
कि छिरिङ डोल्माले जाउलो खाने
सिलिबरको रिकापी जस्तो,
यो चेप्टो धरतीलाई
जुगौँदेखि आफ्नो काँधमा बोक्दा बोक्दै
काँधको छाला र हड्डी नै पिल्सिएपछि
माछाले काँध हल्लायो !
हेर न !
कति अचम्मसँग हल्लायो माछाले काँध !
डोलीमा बसेकी पृथिवी रानी
छमछम पाउजु बजाउँदै
डोलीभित्रै नाच्न थालिन् !
हाम्रा झुपडीहरू
हाम्रै छोरीहरू जस्तै घुँघुँरा बजाउँदै नाच्न थाले !
च्याङ्वाले कम्मर मर्काए जस्तै
खनिउँका रुखहरू नाच्न थाले !
लौ न के भएको हो यस्तो !
माछाको काँधबाट खसेर—
धरती नै डुब्ला कि जस्तो छ !
शिरको सुर्जे शिरैमा खसी—
झ्वाप्पै निभ्ला कि जस्तो छ !
च्याक् ढुङ् ढुङ् ! च्याक ढुङ् ढुङ् !
पर्वतले बजाउँदै छ शिलाको डम्फु
नदीले गाउँदै छ आँसुको सेलो !
‘काँक्रा फर्सी रोप !’ भन्दै
आकाशमा उडिरहेका
सहस्र क¥याङकुरुङहरूको घुर्मैलो छायामुन्तिर
मालिङ्गोको नाङ्लोबाट
हामी त तोरीका दाना जस्तै
पोखिन थाल्यौँ हावामा !
हेर्दाहेर्दै चिउरीको हाँगाबाट
खसेर फुट्यो जुरेलीको फुल !
बगरको धूलोमा भाँचिएर
आस्याङ्झैँ ढल्यो इन्द्रेणी !
पहिरोमाथि माइती घर छ—
पहिरोमुनि हाम्रो घर !
सुनमायाको आप्पा !
भुइँचालोको छैन भर !
अब यो ऐँसेलुको दानामा झरेको आँसुको थोपा
पछ्यौरीको छेउले पुछ्नु त होला !
काठमाडौं