प्रेम ओली ढकलपुरेगोरु बेचेर
जेठो छोरो गयो बिदेश
नौलो भैंसी बेचेर
कान्छो पनि गयो
हल गोरु बेचेर ।
खेत लाउने खेताला छैन
बटिया लाउने अधियार छैन
भाको खेतबारी पनि बाँजो भो
बुढेसका यो के भाँजो भो
खेत खन्ने तागत छैन
ट्याक्टर लाउने लागत छैन
हली पनि पाउँदैन
पर्म कोही आउँदैन
एक हल गोरु थिए
कान्छो गयो बेचेर
बुढेसकालमा रुनु पर्यो
आँखा मिचेर ।
न फोन आउँछ
न खबर आउँछ
थाह छैन कुन ठाउँ छ
कसैले भन्छ कतारमा गयो
कसैले भन्छ हतारमा गयो
घरमा खाने गाँस छैन
हेर्ने कोही खास छैन
भैंसी भएको भए
दुध भएर पनि खाइन्थ्यो
गोरु भएको भए
खेतबारी आँफै लाइन्थ्यो
यो बिदेशको चक्करले त
गर्नु गराको छ
न यता कमाउने
न उताबाट आउने
यो बुढेसकालमा
मर्नु गराको छ ।
आइज छोरा भन्यो
फर्किन पनि गाह्रो छ
डाँडामाथि जून हामी
पर्खिन पनि गाह्रो छ
छोरो आउला आउला भनेको त
एक दिन
मुर्छित पार्ने खबर आयो
त्यही छोराको शोकले
श्रीमतीलाई पनि खायो
रथ पनि भाँचियो
डोरी पनि चुँडियो
कस्लाई भन्ने यो बेथा
मन कति कुँडियो कुँडियो ।
दाङ, हाल– काठमाडौं
Subscribe
Login
0 Comments
Oldest






































