मुक्तिबन्धुहामी भिखारी होइनौँ
यस्ता कम्प कति गए कति गए हामी उठेकै थियौँ
नौला स्वप्न सजाउँदै समरमा हामी जुटेकै थियौँ
लत्रेनौँ कहिल्यै कुनै विपदमा हामी मगन्ते बनी
थापेनौँ कहिल्यै झुकेर थिचिँदै भिक्षा कसैको पनि ।
थोत्रा राहतको रचेर रटना भिक्षा नदेऊ तिमी
नेपालीहरूलाई सह्य नहुने बाटो नलेऊ तिमी
जिस्कन्छौ किन पात्तिएर यसरी दुर्दम्य योद्धासित ?
तम्सन्छौ किन धर्म साट्न सजिलै हाम्रा विपत्तिसित ?
आफ्नै सुन्दर स्वाभिमान पथमा आफ्नै बुताको भर
आफै हामी बनाउँछौँ समयले छाँटेर आफ्नो घर
हाम्रो जो पहिचान हो जगतमा राख्छौँ नच्यातीकन
हामीलाई सम्हालिने समय द्यौ बौराउँदै जीवन ।
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest








































