साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आमबाग

Nepal Telecom ad

एक

ग्याङका सदस्य-बसेसर, नवल, बसिर, बीरवल, जुमाद्दीन र जोगीलाई केही परै राखेर होचो-होचो र मोटो-मोटो डिलडालको जोगिन्दर छायादार नीमको रुखनिर आएर ठिङ्ग उभिन्छ । यही बाटो भएर दुलिचन्द आउने खबर भरताले पठाएको थियो । ऊ नाडी घडीतिर हेर्छ । र लापरवाहीका साथ चुरोटको धुवाँ उडाउन थाल्छ ।

दुई

दुलिचन्द रुङ्गटाले मागअनुसारको रकम नदिने भएपछि ग्याङको नेता जोगिन्दर ‘आगबबुला’ भएको थियो । उसले सुकेको पहेंलो घाँसमा लहरै बसेका आफ्ना साथीहरुतिर हेरेर दिमागमा अपर्झट आएको प्लान सुनायो ‘अब दुलिचन्दको अपरहण नगरी भएन ।’
‘अपहरण……..?’ सबैले एकैसाथ दोहोर्‍याए । ‘यही उपाय बाँकी छ ।’ जोगिन्दरले भन्यो, ‘अरु केही गर्न सकिंदैन ।’
‘आजकाल पुलिसहरुका कडा पहरा छ ।’ बीरबलले केही सोचेर भन्यो ।
‘साले पुलिसहरुले हामीलाई देखेपछि छाड्दैनन् ।’ बीरवलको भनाइमा बसिरले सही थाप्यो ।
‘तिमीहरु डरपोंक हौ ।’ जोगिन्दरको स्वर कडा थियो ।
‘थोरबहुत खिलाइपिलाइ गरिदिए सब ठीक हुन्छ ।’ नवलले भन्यो ।
‘पहाडिया पुलिसहरु धेरै ठूलो मुख बाउँछन् ।’ जुमाद्दीनले मुख फटाएर अभिनयसाथ भनेकोले सबै हाँस्न थाले । बस्तीभन्दा केही टाढाको आमबागमा सबै भेला भएका थिए । यहाँ कमै मानिसको आवत-जावत हुन्थ्यो । साहेबज्यूको पुस्तैनी आमबाग केही वर्षदेखि लावारिस अवस्थामा थियो । द्वन्द्वकालमा गाउँलेहरुले कब्जा गरेका थिए । त्यसबेलादेखि हेरविचार गर्ने मानिस आउन छाडेको थियो । आवाज आएकोले सबै सावधान भएर हेर्न थाले । एउटा सानो जन्तु बगलबाट भागेको देखापर्‍यो ।
‘नेवला हो ।’ बसेसरले दाहिने आँखा झिम्क्यायो ।
‘मलाई कुनै अरु नै लाग्यो ।’ जोगीले भन्यो ।
‘होइन नेवला नै हो ।’ बसिरले जोड दियो ।
‘यतातिर गहुँवन पनि धेरै पाइन्छन् ।’ जुमाद्दीनले नयाँ कुरा झिक्यो ।
‘दुलिचन्दले कतिसम्म दिने भन्यो ?’ नवलले कुराकानीलाई मोड्न खोज्यो, ‘आधाजति होला ।’
‘आधाभन्दा धेरै कम भन्यो ।’ जोगिन्दरले मुख बिगार्‍यो ।
‘मख्खीचुस सेठ…..।’ नवल फुसफुसायो ।
‘दुलिचन्द एक नम्बरको कन्जुस हो ।’ बीरवलले नवलतिर हेरेर भन्यो, ‘कमिना हो ।’
‘सबैभन्दा मारामार चल्ने फौरेनगुड्सको पसल उसकै हो ।’ बसिरले भन्यो ।
‘ब्लेकियाहरु पालेर माल पारको धन्दा गर्छ ।’ बसेसरले मुख खोल्यो ।
‘दुलिचन्दको शमिल पनि त्यत्तिकै चल्छ ।’ जुमाद्दीनले थप्यो ।
‘यति धनी भएर पनि चुतियागिरी गर्छ ।’ जोगीको पनि चित्त बुझेको थिएन ।
आमबागको छेउ भएर कच्ची सडक जान्थ्यो । त्यहाँबाट केही बयलगाडा गुजि्ररहेका थिए । गाडावालहरु गर्मीको आलसले गर्दा निदाएका देखिन्थे । गाडामा जोतिएका थकित बयलहरु अभ्यासको भरमा अघि बढिरहेका थिए । बयलगाडा देखेर केही भन्न खोजिरहेको जोगिन्दर चुप लाग्यो ।
‘के भयो ?’ जोगीले सोध्यो ।
‘केही होइन ।’ जोगिन्दरले भन्यो ।
‘मधेसी हितका लागि व्यापारीहरुले पनि साथ दिनुपर्छ ।’ केहीबेर पछि बसेसरले भन्यो ।
‘हामी कुनै भिखारी त होइनौ ?’ बसिरले थप्यो ।
‘पैसा माग्यो कि यिनीहरुको गाँड फाट्छ ।’ जुमाद्दीनले तितो पोख्यो ।
‘हामीले त्यत्ति बढी मागेका पनि त होइनौं ।’ बीरवलले भन्यो ।
‘मधेसमुक्तिका लागि कोही पनि गम्भीर छैन ।’ बसेसरले गम्भीर भएर भन्यो, ‘यो उचित होइन ।’
‘तिमीहरु अनावश्यक कुरोको पछि नपर ।’ जोगिन्दर जङ्गयिो ।
‘के हामी मधेसीहरुका लागि लडिरहेका होइनौं ?’ बसेसर जोशियो ।
‘चुप लाग ।’ जोगिन्दरको निधार खुम्चियो, ‘दुलिचन्दको मुनिम भरताले खबर पठाएको छ ।’
सबै सजग भएर अलि उँचो ढिस्कोमा बसेको जोगिन्दरतिर हेर्न थाले । गर्मी असाध्यै बढेको थियो । चराहरुसमेत सुस्ताइरहेका लाग्थ्यो ।
कहिलेकाँही कौवाको कर्कस आवाज सुनिन्थ्यो । आमका हरिया-हरिया पात फिरफिर हल्लिरहेका थिए । त्यहाँबाट आएको हावाले थोरै राहत दिन्थ्यो । हावा तातै थियो । पसीनाले सबैका कमीजभित्रका गन्जी निथु्रक्क भिजेका थिए ।
‘भरताले के खबर पठाएको छ ?’ नवल र बसिरले एकसाथ जोगिन्दरसँग सोधें ।
‘भोलि मंगलबारका दिन कामविशेषले दुलिचन्द यतातिर आउँदैछ ।’ जोगिन्दरले साथीहरुतिर हेरेर बिस्तारै भन्यो, ‘यही मौकामा त्यसको अपहरण गर्नुपर्छ ।’
‘भरताको खबर पक्का हो ?’ नवलले उत्सुकता देखायो ।
‘एकदम पक्का हो ।’ जोगिन्दरले निधारको पसिना पुछ्यो, ‘ऊ पनि हाम्रो पार्टनर हुन चाहन्छ ।’
‘बढा काइँया खालको मानिस हो भरता ।’ जोगीले यो मन पराएन ।
‘ठीक छ, ठीक छ ।’ जोगिन्दरले निर्णयको स्वरमा भन्यो, ‘भोलि हामी दुलिचन्दको अपहरण गर्छौं ।’
एकाएक एउटा टिकोरा अगाडि झर्‍यो । निकै ठूलो साइजको थियो । दुई-चार अरु पनि झरे । आमबागले पनि अपरहणको प्रस्ताव मानेको ठानेर सबै दङ्ग परे । र समर्थनमा आ-आफ्ना टाउका हल्लाए । बसेसरको आँखामा अलिकति दुविधा थियो । आखिरमा दुलिचन्दको अपरहणका लागि बेलैमा जम्मा हुने अठोटका साथ सबै ग्याङका सदस्यहरु घर फर्किए ।

तीन

बिहारबाट छिरेका पेशेवर अपराधीहरुका आँखा सुनसानमा उभिएको जोगिन्दरमाथि पर्छ । केही दिनदेखि यिनीहरुले कुनै शिकार भेट्टाएका थिएनन् । एउटा मालदार देहाती बनियाजस्तो लाग्ने मोटोघाटो जोगिन्दरलाई देखेर सबैका अनुहार चम्किन्छन् । त्यसपछि चारैतिरबाट घेरेर बिहारी गिरोहले जोगिन्दरको अपहरण गर्छ ।
(डायनोसर जिउँदो छ बाट)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
आलुको नाक

आलुको नाक

विमल निभा
आलुको नाक

आलुको नाक

विमल निभा
कुखुरी काँ

कुखुरी काँ

विमल निभा
0
Would love your thoughts, please comment.x
()
x